अनगन्ती प्रश्नहरू
अप्रत्याशित व्यवहारले आतंकित
घृणाको निर्भय भाव फिँजाएर खोंचखोंचसम्म
युगको दुस्साहस विषाक्त झुन्डिएका
हिक्कहिक्कीहरूमा
मौनता छाएर रगत पसिना
बगाउँदै ठिंग उभिएका छन्,
आँखामा अनगिन्ती प्रश्नहरू !
जातभात, रीतिरिवाज, भाषा
अनि संस्कृतिको साङ्लोमा
फराकिलो शुभकामना लेखेर
उदारताको बिस्कुनमा
सुकाएर मनको सोच
तन्द्रा भत्केपछि कुरैपिच्छे
माइतीबाट टाढिनुको पीडाबोधले
व्याकुल चेलीको आँखामा
टल्पलाएको आँसुको भेलसँगै
रिसले कुर्लंदै मानसिक आघातमा
हर क्षण हर घडी खुसी हराए झैं
विषादपूर्ण सल्बलाइरहेका छन्,
आँखामा अनगिन्ती प्रश्नहरू।
सुइँरोले घोचिएर रिंगिरहेको छातीमा
आक्रोशपूर्ण उत्पातको कसिंगरसँगै
एउटै कुरा पटक पटक कति सुन्नु ?
वाक्क लाग्नेगरी कति गुनासो पोख्नु ?
अनि, उही प्रसंग कति कोट्याउनु ?
मेसो हराएको उत्तेजना र प्रताडनाको !
छोरी अन्माएर घर पठाउन लागेको बेला
सामीप्यताको नखरा जति
महत्वाकांक्षाको घाममा डढेपछि
मन्दिरको टुडाल झैं घोसेमुन्टो लाएर
दन्किरहेका छन् शुभेच्छाका फूलहरू
सम्साँझै ढोका लाएर
थुम्थुम्याई थुम्थुम्याई छोरोलाई
सुताएपछि पनि
एक हूल सगबगाहट
र एक डोको चिच्याहट
रक्सीको मातले धङ्धङिएको शरीर हल्लाउँदै
सधैंभरि झरीबादल लागेको
अनुहार नपरेकी डंकिनी बातले बिटुलिएर
अझै पनि सलबलाइरहेका छन्,
आँखामा अनगिन्ती प्रश्नहरू।
प्रतिक्रिया दिनुहोस !