११ सय बढीको स्वास्थ्य उपचार
नुवाकोट : सर्वसाधारणको स्वास्थ्यमा पहुँचका लागि नुवाकोटको विभिन्न स्थानमा बृहत् निःशुल्क स्वास्थ्य परीक्षणसहितको उपचार शिविर गरिएको छ। तादी र दुप्चेश्वर दुई स्थानमा गरिएको शिविरमा एक हजार एक सय बढीले स्वास्थ्य उपचार सेवा लिएका हुन्।
दुप्चेश्वर गाउँपालिका–६ रामती र तादी गापा १ उर्लेनीमा छुट्टाछुट्टै शिविर गरिएको हो। दुवै स्थानमा गरी ११ सय बढीले स्वास्थ्य परीक्षण र उपचार गरी आवश्यक औषधि प्राप्त गरेका छन्।
नुवाकोट जिल्ला अस्पताल त्रिशूली, जनस्वास्थ्य कार्यालय नुवाकोट तथा सम्बन्धित पालिका र सरोकारवालाहरूको आयोजनामा पहिलो पटक शिविर गरिएको हो। विशेषज्ञ चिकित्सक, उच्चस्तरीय प्रविधिमा बिरामी परीक्षणसहित रामतीमा गरिएको निःशुल्क औषधि वितरण शिविरमा ६ सय ७० जनाले सेवा लिएका छन्।
तीन दिने स्वास्थ्य शिविरमा ६ सय ७० जना स्थानीयवासीले आफ्नो विभिन्न रोगसँग सम्बन्धित स्वास्थ्य परीक्षण गराइ निःशुल्क औषधि लिएका त्रिशूली अस्पतालले जनाएको छ।
शिविरमा त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामासहित विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मीमार्फत बिरामीको परीक्षण, शल्यक्रिया, रगत जाँच, भिडियो एक्स–रेलगायतका सेवा उपलब्ध गराइ गुणस्तरीय स्वास्थ्य जाँच तथा परीक्षणमार्फत दुप्चेश्वरवासीलाई सेवा दिइएको थियो।
आयोजकका अनुसार शिविरमा स्त्रीरोगसम्बन्धी सम्पूर्ण सेवा, ल्याबसम्बन्धी सेवा, जलरल सेवा, दन्त परीक्षण, रेडियोलोजिस्ट, नाक, कान र घाँटीसम्बन्धी सेवा, पत्थरी, हाइड्रोसिल, हर्निया, गाँठागुठीको शल्यक्रिया सेवा, बालरोगसम्बन्धी सम्पूर्ण जाँच हुने र चिकित्सकको सिफारिसमा निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो। रामतीको शिविरमा अधिकांश महिला तथा वृद्धवृद्धाहरूको सहभागिता रहेको थियो।
उता, जनस्वास्थ्य कार्यालय नुवाकोट, त्रिशूली अस्पताल र तादी गापाको समन्वयमा उर्लेनीमा बृहत् स्वास्थ्य शिविर गरिएको छ। तादी गापा १ उर्लेनीको स्वास्थ्य चौकीमा आयोजित बृहत स्वास्थ्य शिविरमा तीन सय ९३ जनाले स्वास्थ्य तथा उपचार सेवा लिएको गापा अध्यक्ष शन्तमान तामाङले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !