विराटनगरको क्यासिनोमा दुई समूहबीच झगडा, ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिए

विराटनगरको क्यासिनोमा दुई समूहबीच झगडा, ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिए

विराटनगर : विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट भएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। तर, क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको हो। त्यस क्रममा अपराधिक पृष्ठभूमिका ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिएका छन्। आइतबार राति १२ बजे क्यासिनो परिसरमा विवादास्पद पृष्ठभूमिका रोनाल कँडेल र किरण लामासँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको प्रहरी स्रोतले बतायो। 

क्यासिनोभित्र गिरी थिए। उक्त क्यासिनोमा गिरीलगायतको लगानी रहेको बताइन्छ। प्रहरी स्रोतका अनुसार क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबीच कुटाकुट भएको हो। कँडेलसहितले गिरीलाई गमलाले प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताए। उनका अनुसार गिरीको टाउको फुटेको छ। 

घटनाको जानकारी पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा दुबै समूह भागिसकेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार आफूमाथि कुटपिट भएको भन्दै निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएका छन्। निकेश अपराधिक पृष्ठभूमिका अभिषेक गिरीका भतिज हुन्। जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको डीएसपी जोशीले बताए। 

प्रहरी स्रोतका अनुसार आइतबार राति अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा थिए। राति करिब १२ बजे कँडेल र लामा क्यासिनोमा पुगे। बाउन्सरले उनीहरुलाई प्रवेश गर्नबाट रोके। बारम्बार भित्र छिरेर लफडा गर्ने गरेका कारण रत्नाको क्यासिनोमा उनीहरुलाई प्रवेश निषेध छ। कँडेलले क्यासिनो प्रवेश गरेर पटक-पटक झगडा गरेको विगत छ। 

बाउन्सरले दुई जनालाई रोकेकै बेला निकेश गिरी सामान लिएर क्यासिनोमा प्रवेश गर्न खोजे। उनी अभिषेकका भतिज हुन्। बाउन्सरले निकेशलाई भित्र जान दिएपछि मदिरा सेवन गरेका कँडेल र लामाले रोक्न खोजे। 

त्यसपछि ‘हामीलाई छिर्न नदिने’ ? भन्दै निकेशमाथि उनीहरुले हातपात गर्न थाले। निकेशलाई कुटपिट गरेको देखेपछि अभिषेक गिरी क्यासिनोबाट बाहिर आए। अभिषेक सधैं ५-६ जनाको समूहमा हिँड्छन्। ‘अभिषेक बाहिर आएपछि दुई समूहबीच भनाभन भयो। पछि कुटाकुट हुन थाल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘दुवै पक्षका घाइते छन्। तर, प्रहरी पुग्नुअघि भागे।’ प्रहरी स्रोतका अनुसार कँडेलले गमलाले गिरीको टाउकोमा प्रहार गरेका थिए।

कुटाकुटपछि गिरीको समूह लामा र कँडेललाई खोज्दै उनीहरुको घर पुगेको थियो। दुवै पक्ष मिटरब्याज र असुलीको धन्दामा संलग्न रहेको प्रहरी स्रोतले बतायो। जग्गाको कारोबार र ठेक्कापट्टामा पनि संलग्न छन्। लामा नेकपा (एमाले) मोरङको नवनिर्वाचित सदस्य हुन्। उनलाई विभिन्न घटनामा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो। 

कँडेल पटकपटक विवादमा आइरहन्छन्। मोरङ प्रहरीको रेकर्ड अनुसार उनी यसअघि ७ पटक पक्राउ परिसकेका छन्। २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो। २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो। २०७७ सालमा ठगी मुद्दामा पक्राउ परेका थिए। 

केही समय कारागार बसेर छुटेका उनीविरुद्ध गत भदौ १ गते ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो। विराटनगर महानगरपालिका–११ का ३२ वर्षीय कँडेलसहितले पूर्वमन्त्री तथा नेकपा (एमाले)की नेतृ भगवती चौधरीका छोरा दुहबी नगरपालिका–२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र उनका साथी २७ वर्षीय बालकृष्ण चौधरीलाई गत भदौ १ गते आक्रमण गरेपछि ज्याज मार्ने उद्योगको जाहेरी परेको थियो। २०८० पुस २७ गते होटल बिगको क्यासिनो भित्र भएको विवादका कारण बाहिर कँडेलमाथि खुकुरी प्रहार भएको थियो। कँडेलको गुण्डागर्दी विराटनगरको बसपार्कबाट सुरु भएको थियो।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी छुटेका अभिषेक गिरीमाथि नेपाली कांग्रेस नेताहरूको संरक्षण छ। गिरी युवती प्रयोग गरेर फिरौती मागेको आरोपमा २०७१ साल साउन तेस्रो साता पक्राउ परेका थिए। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी गत २०७९ चैत ६ गते कारागारबाट छुटेका हुन्। कारागारबाट छुटेपछि उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय भएको देखाउँछन्। समाजेवी भएको दाबी पनि गर्छन्। 

कांग्रेसका कार्यक्रमहरुमा पनि देखा पर्छन्। कारागारबाट छुटेपछि उनले ‘गिरी फाण्डेशन’ खोलेका छन्। गुण्डागर्दीमा संलग्न भएको आरोप लागिरहने उनी ‘कोशी सुधार अभियान’ पनि सञ्चालन गर्छन्। कारागारमा हुँदा चौकीदार भएका गिरी पटकपटक विवादमा आइरहन्छन्। 

कारागारबाट छुटेपछि पनि विवादमा आइरहेका छन्। विभिन्न व्यवसायीलाई धम्क्याउने गरेको आरोप उनीमाथि छ। विराटनगरमा खुलेआम मिटरब्याजको धन्दा चलाइरहँदा पनि उनीमाथि कारबाही नभएको गुनासो व्यवसायीहरुले गर्ने गरेका छन्। उनले ठेक्कापट्टामा पनि हात हालेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.