त्रिशूली क्याम्पसमा तालाबन्दी
नुवाकोट : सोमबार नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन्। निर्वाचन समितिको राजीनामा लगायतको माग गर्दै दुई विद्यार्थी संगठनले क्याम्पसको निर्वाचन समितिको कक्षमा तालाबन्दी गरेका हुन्।
संगठनको उपस्थिति विना एकतर्फी बैठक गरिएको सेटिङमा निर्वाचन गर्न खोजिएको, विद्यार्थी संगठनहरूलाई बाइपास गरिएको लगायतका कारण देखाउँदै अनेरास्ववियु नुवाकोट र विप्लव नेतृत्वको अखिल समाजवादी नुवाकोटले निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेको हो।
निर्वाचन समितिले राजीनामा दिएर नयाँ समिति चयन हुनुपर्ने, विद्यार्थी संगठनहरू सहितको सम्मानजनक बैठक गरिनुपर्ने लगायतका माग राखी ताला लगाइएको अनेरास्ववियु नुवाकोटका अध्यक्ष फैसल दिनले बताए।
यससँगै एकसय ८० मतदाता रहेको त्रिशूली क्याम्पसमा मंगलबारको स्ववियु निर्वाचन अन्यौलमा परेको छ। विद्यार्थी संगठनहरूसँग नियमित बैठक बसेर सहमतिको प्रयास भइरहेको स्ववियु निर्वाचन समितिका संयोजक भानुभक्त न्यौपानेले बताए।
सो क्याम्पसमा स्ववियु निर्वाचनका लागि पाँच विद्यार्थी संगठन दर्ता भएका थिए। चार विद्यार्थी संगठन कुनैले संयुक्त र कुनैले एकल प्यानल उम्मेदवारी दर्ता गरेका थिए।
प्रतिक्रिया दिनुहोस !