पूर्वराजा ज्ञानेन्द्र गोरखा आउने,१५१ सदस्यीय स्वागत समिति गठन
गोरखा : पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह आउँदो शनिबार गोरखा आउने भएका छन् । कूलदेवता गोरखकाली,गोरखनाथ र मनकामनाको पूजा अर्चना गर्न गोरखा आउन लागेका उनको सचिवालयले जनाएको छ । सचिवालयले बुधबार प्रेस नोट जारी गरी भ्रमणबारे जानकारी गराएको हो।
पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न गोरखामा १५१ सदस्यीय नागरिक समाज समिति गठन भएको छ । राजावादीको सञ्जालबाट भगवानदास मल्लको नेतृत्वमा स्वागत समिति गठन गरिएको हो । स्वागत, प्रचार प्रसार तथा समन्वय र व्यवस्थापनका लागि सो समिति माताहत अन्य तीन उपसमितिहरु पनि गठन भएको संयोजक मल्लले जानकारी दिए ।
आउँदो शनिबार चैत्रकृष्ण अष्टमी,गोरखकाली पूजा पर्व रहेको छ । सोही अवसर पारेर पूर्वराजा शनिबार बिहान आँबुखैरेनी आइपुग्ने,आँबुखैरेनीबाट मोटरसाइकल र्यालीका साथ गोरखा ल्याउने कार्यक्रम तय भएको स्वागत समितिका होमसिंह बस्न्यातले जानकारी दिए ।
गोरखा दरबारको बसपार्कमा उत्रिएपछि त्यहाँबाट गोरखा दरबार,गोरखकाली तथा गोरखनाथ मन्दिरसम्म पैदल जाने कार्यक्रम छ । सोही मौका पारेर नागरिकहरूले भेटघाट तथा स्वागत गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !