नुवाकोटबाट ४ हजार ६ सय विद्यार्थीले एसईई दिँदै
नुवाकोट : बिहीबारदेखि तय भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नुवाकोटमा सम्पूर्ण तयारी पूरा भएको छ।
नुवाकोटबाट यस वर्ष ४ हजार ६ सय १५ जना परीक्षार्थीले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्रमुख रामचन्द्र इटनीको भनाइ छ।
उनका अनुसार यस वर्षको एसईई परीक्षामा नुवाकोटमा नियमिततर्फ तीन हजार ६ सय ७० र ग्रेड वृद्धितर्फ नौ सय ४५ जना परीक्षार्थी सहभागी हुँदैछन्।
यस वर्ष ग्रेड वृद्धि तर्फका परीक्षार्थी गत वर्षको तुलनामा धेरै भएको कार्यालयले जनाएको छ। नुवाकोटमा यस वर्ष परीक्षार्थी बढेका छन्। परीक्षाका लागि २१ केन्द्र निर्धारण गरिएको छ।
गत वर्ष नुवाकोटबाट नियमिततर्फ तीन हजार नौ सय २२ र ग्रेडवृद्धितर्फ ७८ जना परीक्षार्थी सहभागी भएकोमा यस वर्ष ग्रेडवृद्धितर्फका परीक्षार्थी बढेको कार्यालयकी प्राविधिक सहायक सम्झना थपलियाले बताइन्।
प्रतिक्रिया दिनुहोस !