मुख बिग्रियो त ज्यानै बिग्रियो

मुख बिग्रियो त ज्यानै बिग्रियो

आज मार्च  २० अर्थात्  विश्व मुख स्वास्थ्य दिवस। शरीरमा मुख एक सानो अंग भए पनि मानव अस्तित्वका लागि ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। साथै शरीरको कुनै पनि अंग प्रत्यंग, कोषलाई आवश्यक पर्ने पौष्टिक तत्त्व, खानाको रूपमा वा नास्ताको रूपमा मुखबाट नै लिइने भएकोले नै मुखलाई शरीरको प्रवेशद्वार हो। मुख आयतनले सानो अंग भए पनि महत्वको आधारमा ज्यादै ठूलो एवं अहम् छ। मुखबाट खाइएका-लिइएका खाद्य पदार्थहरू जस्तै खाना, नास्ता, औषधिले शरीरका सम्पूर्ण अंगप्रत्यंगलाई स्वस्थ राख्न सहयोग पुर्‍याइरहेका हुन्छन्। जसबाट मात्र एउटा स्वस्थ मानिसको कल्पना गर्न सकिन्छ। बिरामी  अवस्थामा मुखबाट लिइएको खाद्य पदार्थ जतिसुकै महँगो स्वादिलो वा आकर्षक भए पनि शरीरका अंगप्रत्यंगले समुचित रूपमा प्रयोग गर्न सक्दैन। त्यसकारण ‘स्वच्छ र सफा मुख नै स्वस्थ जीवनको आधार हो।’ 

स्वादिष्ट भोजनबाट तबमात्रै सन्तुष्टि लिन सक्छ जब दाँतमा कुनै खराबी हुँदैन। दाँतको मुख्य कार्य भोजनलाई चपाएर, टुक्र्याएर पचाउन योग्य बनाउनु हो भन्ने मात्र मान्यता छ। रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो हुन्छ। त्यसको प्रभाव सोझै स्वास्थ्यमा पर्छ। विकारयुक्त दाँत तथा गिजाप्रति लापरबाही गरिँदा विकार सिधै पेटमा पुगेर रगतमा मिसिँदै शरीरका सबै अगंप्रत्यंगमा पुग्दछ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जारी गरेको अन्तर्राष्ट्रिय विज्ञप्तिअनुसार विश्वका ६.८ अर्ब जनसंख्यामध्ये ६ अर्ब दाँतको रोग तथा समस्याबाट पीडित छन। विश्वका अधिकांश मुलुकमा विशेशगरी स्कुल जाने उमेरका बालबालिका ९० प्रतिशत दन्तरोगी छन्। हाल विकसित मुलुकमा प्रतिदुई हजार जनसंख्यामा १ र विकासोन्मुख राष्ट्रमा प्रतिसाढे १ लाख जनसंख्यामा १ जना दन्तचिकित्सक उपलब्ध छन्। सरकारले दन्तचिकित्सालाई महत्त्व नदिएको गुनासो सुनिन्छ। हालसम्म केन्द्रीय स्तरमा दन्त अस्पताल तथा जिल्लामा दन्तचिकित्सकको व्यवस्था हुन नसक्दा अधिकांश नेपाली दाँतसम्बन्धी रोगबाट पीडित रहेका छन्। जसलाई समयमै ध्यान नदिएमा गम्भीर स्वास्थ्य समस्याको रूपमा आउने निश्चित प्रायः छ। 

दन्त स्वास्थ्यका प्रमुख रोगहरूमा दन्त सड्न, दन्त हर्षा, पाइरिया, दाँत सिरिंग– सिरिंग गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नु नै हुन्। यसका साथै यी सामान्य रोगहरूबाट उत्पन्न भएका जटिलताहरू गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको ट्युमर भएको, क्यान्सर भएको तथा दन्त अपांग वा थोते भएको पनि त्यत्तिकै भेटिन्छन्। मुखका रोगहरू गाउँघर तथा सहरबजारमा प्रकार एवं  किसिममा फरक पर्दछ। त्यसैगरी नै रोगको प्रकृति, गाम्भीर्य र वर्णानुक्रममा पनि फरक पर्ने गर्दछ।  किनभने भौगोलिक रूपमा  सम्बन्धित  स्थानमा प्रयोग गरिने खाद्य पदार्थहरू, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक, सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक पर्दछ। गाउँघरमा गिजासम्बन्धी रोग, त्यसपछि दाँत खिइने रोग, प्रमुख रूपमा देखा पर्दछ। सहरबजारमा दाँत किराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरू पर्दछन्।

मुख र दाँतमा देखिने समस्याहरू मुखसँगै मात्र सम्बन्धित हुन सक्छन्। शरीरका अंगप्रत्यंग वा प्रणालीसँग सम्बन्धित समस्या वा रोगहरूको प्रतिबिम्ब हुन सक्छ। ती घाउ खटिरा शरीरका अंग, प्रत्यंगमा रोग देखिनुभन्दा या त पहिले वा साथसाथै वा पछि देखिने भएकोले नै मुखलाई शरीरको ऐना पनि भनिन्छ। मुखले शरीरका अंग, प्रत्यंगमा लाग्न सक्ने वा लागेका विभिन्न प्राणघातक रोगहरूको पहिचान गर्न सहयोग पुर्‍याइरहेका ज्वलन्त उदाहरणहरू हामीकहाँ प्रशस्तै भेटिन्छन्। 

दादुरा आउने बेला २–४ दिनपहिले नै मुखमा कप्लिक स्पट देखिनु, एड्स रोगमा मुखमा कापोसिस सार्कोमा आउनु र मधुमेहीमा दाँत निकालेको घाउ र अन्य रोगहरू निको नहुनु यसका उदाहरण हुन्। 

समयमै ध्यान नदिँदा दाँत तथा मुखका सामान्य रोगहरू तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गर्छ। अंगभंग हुनुका साथै मृत्युवरण गर्नुपर्ने पनि हुन सक्छ। जति ढिलो भयो, त्यति नै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुन्छ। उपचार पनि महँगो पनि पर्न जान्छ। दाँत किराले खाने, दन्तहर्षा र पाइरियाजस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन सक्छ। पछि गएर खाद्यनली र सास फेर्ने नली थिचिन गई सास फेर्न गाह्रो भई मृत्यृ हुन सक्छ। सेलुलाइटिस, पिनास र दिमागमा क्याभरनस साइनस थ्रोम्बोसिस हुनसक्छ। गिजा तथा मुखसम्बन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ। साथै गर्भवतीको समयभन्दा पहिले नै शिशु जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर शिशु हुने सम्भावना रहन्छ। धारिला, नमिलेका दाँत, लामो समयसम्मको घाउ खटिरा, रोग, फोहर साथै सूर्तिजन्य तथा सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर हुन सक्छ। 

दाँत तथा मुखका अंगप्रत्यंगमा जोगाउनका दाँत एवं मुखको सरसफाइ, खानेकुरामा नियन्त्रण र नियमित रूपमा दन्त परीक्षण गर्नु उपयुक्त हुन्छ।  भोक लागेको बेला खानेकुराको जत्ति महत्त्व हुन्छ, खाना खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महत्त्व दिनु पर्दछ भन्ने जनचेतना फैलाउनुपर्ने खाँचो छ।  अब दाँत सफा गर्ने ब्रस र मन्जन अगाडि सारेर खाना खाने बेला आएको छ। विद्यालयका शिक्षक, शिक्षिकाले पनि विद्यार्थीलाई दैनिक दुई पटक दाँत माझ्ने निर्देशन दिनुका साथै दाँत माझे वा नमाझेको दैनिक अनुगमन गर्न जरुरी भएको छ। एक दिनमा बिहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नु अगाडि ४ मिनेट मुखको सरसफाइमा दिँदा  ९० प्रतिशत मुखका रोगहरूबाट मुक्त हुन सकिन्छ। रोग लागिसकेमा पनि उपचार गर्ने चिकित्सक सही भए नभएको, प्रयोग गरिने सामान, उपकरण र पदार्थहरू पूर्ण निर्मलीकरण र शुद्धीकरण भए नभएकोमा सोधपुछ पनि गर्नु पर्दछ। अन्यथा रोगको उपचार गरी फर्किंदा अपरिवर्तित नोक्सान, जटिलता, थुप्रै हेपाटाइटिस एचआईभीजस्ता सरुवा, संक्रामक र भयानक रोगहरू बोकेर घर फर्किने जोखिम हुन सक्छ।

डा. बुढाथोकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.