प्रविधिको द्रूत विकासलाई पछ्याउन सक्नुपर्छ : परराष्ट्रमन्त्री

प्रविधिको द्रूत विकासलाई पछ्याउन सक्नुपर्छ : परराष्ट्रमन्त्री
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रूत तथा नविनतम विकास भइरहेकाले विकासको यो गतिलाई पछ्याउन सक्नुपर्ने बताएका छन्। नयाँ दिल्लीमा जारी राइसिना डायलग कार्यक्रमअन्तर्गत आयोजित  डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक सत्रलाई सम्बोधन गर्दै उनले भनिन्, 'अब प्रविधिको विकासको द्रूत गतिलाई पछ्याउन नसके पछि परिन्छ। नेपाल पनि प्रविधिसँगै यसले दिने अवस्यंभावी रूपान्तरणका लागि तम्तयार छ।'

मन्त्री राणाले नेपाल डिजिटल सार्वजनिक पूर्वाधार निर्माणलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउँदै समावेशी तथा रूपान्तरणकारी डिजिटल पूर्वाधार निर्माणमा नेपाल लाग्ने बताए। 'सबैका लागि लाभदायक सुरक्षित र समावेशी डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्नु अहिलेको आवश्यकता हो। जसले व्यक्तिगत तथा सामाजिक स्तरमा देखिने जोखिमहरूलाई न्युनीकरण गर्नुका साथै दिगो विकास लक्ष्य हासिल गर्न र विश्वभर समानता कायम राख्न सहयोग गर्दछ,' उनले भनिन्।

दक्षिण एसियाको प्राचीन ज्ञान र आधुनिक गतिशीलताको प्रतीक नयाँ दिल्लीमा भेला भइरहँदा आफूलाई एक संस्कृत भनाई ‘वसुधैव कुटुम्बकम’ को सम्झना आएको उनको भनाइ थियो। 'हुन पनि अहिले संसार एक परिवारजस्तै भएको छ। प्रविधिको विकासले त झन् डिजिटल विश्वलाई एकै गाउँ तथा परिवारका रूपमा साँघुरो र अन्तरसम्बन्धित बनाइदिएको छ,' उनले भनिन्।

डिजिटल सार्वजनिक पूर्वाधारले मानिसबीच विद्यमान डिजिटल डिभाइडको अवस्थामा परिवर्तन ल्याउन, समुदायहरूलाई सशक्त बनाउन सहायता गर्ने उनको भनाइ थियो। डिजिटल सार्वजनिक पूर्वाधार भनेको समावेशी समाज निर्माण गर्नका लागि एक प्रकारको आधारशिला भएको उनको भनाइ छ। सडक, बिजुली र पानीजस्तै यसले डिजिटल पहिचान, भुक्तानी प्रणाली र डेटा आदानप्रदान समेट्ने, शासन प्रणाली र आर्थिक उदारीकरण एवं सेवामा पहुँचलाई लोकतान्त्रिक बनाउन सहयोग गर्ने मन्त्री राणाले बताइन्। 

नेपालले पनि डिजिटल यात्राको योजना बनाएको र नेपालमा सार्वजनिक सेवाहरूको डिजिटल डेलिभरीमा सुधार भइरहेको जानकारी उनले दिइन्। स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र सार्वजनिक सेवा वितरणमा पहुँचलाई व्यवस्थित गरेर सुशासनलाई स्थापित गर्न सघाउनेगरी नेपालले विद्युतीय सुशासनका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो।

'नेपालको विद्युतीय बैंकिङ भुक्तानी प्रणाली, नागरिकमा मोबाइल लगायत सञ्चार सेवामा पहुँच जस्ता उदाहरण हामीसँग छन्। त्यसैले मलाई लाग्छ यी प्रविधिका प्रणालीहरू केवल डिजिटल उपकरणहरू मात्र होइनन् कि सामाजिक न्यायका उपकरण पनि हुन्। जसले समृद्धितर्फको यात्रामा कसैलाई पनि पछाडि नपार्ने सुनिश्चितता गर्दछ,' उनले भनिन्।

नेपाल सरकारले अघि सारिरहेका डिजिटल पहलहरू विद्युतीय सुशासन योजना र डिजिटल नेपाल फ्रेमवर्कद्वारा निर्देशित रहेका स्पष्ट गर्दै मन्त्री राणाले नेपाल व्यक्तिगत डेटा संरक्षण ऐन लागू गर्ने प्रक्रियामा रहेको पनि जानकारी दिइन्। यी नियमहरूले नागरिकको गोपनीयता र सुरक्षाका साथै देशको डिजिटल सम्पत्तिको सुरक्षा गर्नका लागि साइबर सुरक्षा संयन्त्रलाई बलियो बनाउनेतर्फ लक्षित रहेका उनको भनाइ थियो। नेपाल सरकार डिजिटल पूर्वाधार र सेवाहरू सुधार गरी यसको पहुँचलाई देशभर पुर्याउने लक्ष्यमा रहेको पनि जानकारी दिए।

मन्त्री राणाले डिजिटल साक्षरता र सीप विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै विद्यालय, विश्वविद्यालय र व्यावसायिक क्षेत्रहरूमा डिजिटल साक्षरता कार्यक्रमहरू अघि बढाइने र डिजिटल सेवाका लागि नागरिक सेवा केन्द्रहरू स्थापना गरिने स्पष्ट गरिन्। यो डिजिटल सार्वजनिक पूर्वाधार अवधारणाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिनुकासाथै सीमापार डिजिटल व्यापार र डेटा आदानप्रदानमार्फत एकीकरण र सहकार्यलाई बढावा दिनसक्ने विश्वास लिइएको उनको भनाइ थियो। 

नेपालको डिजिटल नेपाल फ्रेमवर्कले कृषि, स्वास्थ्य सेवा र शिक्षालाई प्राथमिकता दिने, किसानहरूलाई लागत, समय र बजारको डेटा उपलब्ध गराउने तथा दुर्गम गाउँहरूमा टेलिमेडिसिन र विद्यार्थीहरूलाई ई-लर्निङका अवसरहरु प्रदान गर्ने बताइन्। नेपालको डिजिटल गाउँ परियोजना जस्ता पहलहरू डिजिटल मार्फत कृषिको उत्पादकत्वमा वृद्धि र ग्रामीण आय कसरी बढाउन सकिन्छ भन्ने राम्रो उदाहरण भएको उनको भनाइ थियो। 

मन्त्री राणाले भारतले आधार (डिजिटल पहिचान) र युपिआई (एकीकृत भुक्तानी इन्टरफेस) जस्ता डिजिटल प्रणालीहरू निर्माणमा आफ्नो अनुभव सेयर गरेर विकासशील देशहरूलाई डिजिटल पूर्वाधार निर्माण, विद्युतीय सुशासन प्रवर्द्धन र प्रविधिमा समावेशी पहुँचका लागि सहयोग ग सक्ने उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.