पाल्पाका ५ वटै क्याम्पसमा अखिलको नेतृत्व
तानसेन : पाल्पाका पाँच वटै क्याम्पसहरूको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले नेतृत्व हात पारेको छ। स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले चार र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले एक स्थानमा स्ववियु सभापतिमा जित हासिल गरेका हुन्। नेपाल विद्यार्थी संघले पाल्पाको पाँच क्याम्पसमध्ये कुनै पनि क्याम्पसमा सभापतिमा जित हासिल गर्न सकेन।
पाल्पाको सहिद बहुमुखी क्याम्पस रामपुर, उद्धबुद्ध कलेज पूर्वखोला, माण्डब्य बहुमुखी क्याम्पस दमकडा र दर्छा क्याम्पस रामपुरमा अनेरास्ववियुका उम्मेदवारहरूले सभापती पदमा निर्वाचित भएका छन्। त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी उम्मेदवार सभापती पदमा निर्वाचित भएका हुन्।
त्रिभुवन बहुमुखी क्याम्पसमा क्रन्तिकारीका मिलन घर्तीमगर, सहिद बहुमुखी क्याम्पसमा अनेरास्ववियुका राजन गौतम, उद्धबुद्ध कलेजमा अनेरास्ववियुका कृष्णा झापुर्लुक, दर्छा क्याम्पस रामपुरमा अनिषा कोइराला र माण्डव्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सौगात कोइराला निर्वाचित भएका छन्।
माण्डव्य बहुमुखी क्याम्पस र उद्धबुद्ध कलेजमा हालसम्मका निर्वाचनमा अनेरास्ववियुले विजयी हुँदै आएको छ। यसवर्ष पहिलोपटक दर्छा क्याम्पस रामपुरमा स्ववियु निर्वाचन भएको हो। उक्त निर्वाचनमा अनेरास्ववियु नेतृत्व विजयी भएको छ। माण्डव्य, उद्धबुद्ध र दर्छा क्याम्पसमा सर्वसम्मत रूपमा नेतृत्व छनौट भएको हो।
सहिद बहुमुखी क्याम्पस रामपुरमा ३१ वर्षदेखि नेविसंघले नेतृत्व गर्दै आइरहेको यसपटक अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालमेलबाट नेवि संघको किल्ला भत्काउन सफल भए। यता त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा वि स २०५३ देखि २०७९ सम्म नेविसंघले स्ववियुको नेतृत्व गर्दै आएको थियो। यस पटक ३० वर्षदेखि नै नेतृत्व गर्दै आएको नेवि संघको विरासत तोड्दै अखिल क्रन्तिकारीले इतिहास रचेको छ।
प्रतिक्रिया दिनुहोस !