चैतमा हिउँले ढाक्यो गुप्सीबस्ती
गोरखा : हिमपात भएपछि धार्चे ४ गुप्सीबस्ती सेताम्मे भएको छ । ६२९ घर एकै ठाउँमा झुरुप्प भएको गुप्सीबस्ती हिमपात भएपछि मनमोहक देखिएको स्थानीय मार्सिङ गुरुङले जानकारी दिए । समुद्री सतहदेखि २७०० मिटर उचाइमा वुद्ध हिमालको काखैमा रहेको गुप्सीमा हरेक वर्ष समयमै हिउँ पर्दथ्यो । यसपटक भने ढिलो गरी पहिलो पटक हिँउ परेको गुरुङको भनाइ छ ।

शनिबार साँझ सातबजेदेखि करिब एकघण्टासम्म हिउँ परेको अर्का स्थानीय दिलबहादुर गुरुङ बताउँछन् । ‘पहिले असिना पानी पर्यो । पछि हिउँ पर्यो’, उनी भन्छन्, ‘हिउँ त्यस्तै ४५ मिनेटदेखि एकघण्टासम्म पर्यो ।’
तीनदेखि चार इञ्चसम्म बाक्लो हिउँ परेको उनको भनाइ छ । हिउँ परेपछि स्थानीयबासी खुशी छन् । गोरखा बजारबाट ७५ किलोमिटर टाढा पर्ने यहाँ हिउँ परेपछि हिउँ खेल्न जानेहरूको भीड लाग्ने गर्दछ । सदरमुकामबाट करिब चार घण्टामा पुग्न सकिने हुँदा गोरखा बजार,तनहुँको आँबुखैरेनी, नारायणघाटदेखिका युवाहरू हिउँ खेल्न तथा गर्मी छल्न यहाँ गएर रमाउने गर्दछन् ।

आन्तरिक र वाह्य पर्यटकहर आउन थालेपछि यहाँ होटलहरू पनि खुलेका छन् । २०७२ सालको भूकम्पले लाप्राकको पुरानो बस्ती पूर्ण रुपमा क्षतिग्रस्त भएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए)ले त्यहाँका ५७६ घरधुरी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अरु ५३ गरी ६२९ घरधुरी गुप्सीपाखामा निर्माण गरेका हुन् । आंशिक घरमा बाहेक यहाँ नियमित बसोबास भने रहेको छैन ।

प्रतिक्रिया दिनुहोस !