डाइलाइसिस सेवा सुरू गर्दै बर्दघाट नगरपालिका
परासी : मिर्गौला पीडित बिरामीका लागि नवलपरासीको बर्दघाट नगरपालिकाले डाइलाइसिस सेवा सुरू गर्न लागेको छ । त्यसका लागि आवश्यक पर्ने मेसिनको व्यवस्था भइसकेको नगरपालिकाले जनाएको छ। जिल्लामै पहिलो पटक नगरपालिकाले यो सेवा सुरू गर्न लागेको हो ।
डाइलाइसिस सेवा चौपातास्थित सामुदायिक अस्पतालमा सुरू हुनेछ । चिसापानी अस्पतालमा ठाउँ अभाव भएकाले सामुदायिक अस्पतालमा सेवा सुरू गर्न लागेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । तीन वटा मेसिन ल्याएर सेवा सुरु गर्न लागिएको श्रेष्ठको भनाइ छ ।
त्यसका लागि एकहप्ताभित्र अस्पतालका स्वास्थ्यकर्मीलाई तालिमका लागि काठमाडौं पठाउन लागिएको छ । जर्मन सरकारको सहयोगमा उपलब्ध गराइएको तीनवटा मेसिनलाई स्वास्थ्य मन्त्रालयले नगरपालिकालाई उपलब्ध गराउनेछ ।
‘सबै प्रकृया पूरा भइसकेको छ। स्वास्थ्यकर्मीहरू तालिम लिएर आउने वित्तिकै १५ दिनभित्र मेसिन ल्याएर जडान सुरु गर्छौं,'नगर प्रमुख श्रेष्ठले भने । डाइलाइसिस सेवा सुरू भएपछि एकै पटक १० देखि १२ जनाले सेवा लिन सक्नेछन् ।
जडान सकेर काम सुरू हुन एक डेढ महिना लाग्ने नगर प्रमुख श्रेष्ठको भनाइ छ । डाइलाइसिस सेवा नहुँदा बर्दघाटलगायतका मिर्गौला पीडित बिरामी भैरहवा र बुटवल जानुपर्ने बाध्यता छ ।
बर्दघाट नगर क्षेत्रमा मात्र करिब एक सयभन्दा बढी मिर्गौला पीडित बिरामीहरू डाइलाइसिसका लागि अन्यन्त्र जाँदै गरेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !