मुख्यमन्त्री सिंहको ‘छापामार’ शैली

मुख्यमन्त्री सिंहको ‘छापामार’ शैली
सुन्नुहोस्

जनकपुरधाम : न कुनै बडिगार्ड न कुनै सुरक्षाकर्मी। एक्लै बुलेट मोटरसाइकल गुडाउँदै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सोमबार जनकपुरका होटलहरूमा अनुगमनका लागि पुगे। सर्वसाधारणजस्तै होटलमा पुगेर ‘खाने कुराहरू के के छन्,’ भनी प्रश्न गर्ने गरेका सिंहले होटलको अवस्था, ग्राहकसँग गरिने व्यवहार, सरसफाइको अवस्था नियालिरहेका थिए। उनी होटलहरू पुगेको केहीबेर पछि मात्रै पछाडिबाट आएको प्रशासन तथा कर्मचारीहरू सवार गाडीहरूको लस्कर देखेर सर्वसाधारणले उनी मुख्यमन्त्री भएका चाल पाएका थिए।

मुख्यमन्त्री सिंहको पछिपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक, प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयका खाद्य अधिकृत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखसहितको टोलीलगायत उद्योग वाणिज्य संघका प्रतिनिधि अनुगमनमा देखिए। अनुगमनको क्रममा अधिकांश होटलहरूमा सरसफाइको अवस्था निकै दयनीय रहेको, अखाद्य वस्तुहरूलाई समेत खानेकुरामा प्रयोग गरी ग्राहकलाई दिने गरिएको पाइयो। स्वास्थ्य मापदण्ड पालना नगरेको समेत पाइएको भेटियो। मुख्यमन्त्रीले होटल सञ्चालकहरूलाई गुणस्तर सुधार र कमीकमजोरीहरू सच्याउन निर्देशन दिए र आगामी दिनमा पुनः यस्तो गल्ती पाइएको खण्डमा कारबाही गर्ने चेतावनीसमेत दिए।

पछिल्लो समय मधेस प्रदेशका मुख्यमन्त्री सिंह सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने सेवाहरूको निगरानी र अनुगमनमा ‘छापामार शैलीमै’ लागेका छन्। प्रदेशमा स्वास्थ्य, शिक्षा, होटल व्यवसायलगायतका क्षेत्रहरूमा ठगी, गुणस्तरहीन गतिविधि र कानुनविपरीतका क्रियाकलापहरू बढेको जनगुनासो व्यापक भएपछि मुख्यमन्त्री आफैं ‘एक्सनमा’ उत्रिएका हुन्। ‘मुख्यमन्त्री भएर मात्रै सेवा सुविधा लिई, गाडीमा चढेर ऐस मौज गर्नुभन्दा जनताले पाएको दुःख कष्टहरूलाई कसरी निवारण गर्ने भन्ने प्रयासमा लाग्नुपर्छ भनेरै मैले यो अनुगमन सुरु गरेको हँु’, मुख्यमन्त्री सिंहले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘प्रदेश सरकारसँग न त आफ्नो प्रशासन छ न त प्रहरी नै। यस्तो अवस्थामा हामी जनतालाई राहत दिन के गर्न सक्थ्यौं त। मलाई राति राति जनताले फोन गर्छन् र निजी अस्पतालहरूमा भइरहेको ठगी र बेथितिको बारेमा अवगत गराउँछन्। यस्तोमा सबै कुरा जानेर पनि चुप लागेर खाली निर्देशन दिनुभन्दा पनि म आफैं एक्सनमा गएर पाएको अधिकार प्रयोग गर्नेतर्फ लागेको छु। हामीले बनाएका ऐन, कानुनहरूमा टिकेर काम नगर्ने र कानुनविपरीतका क्रियाकलापहरू सञ्चालन गर्नेलाई कारबाही गरेर थोरै भए पनि जनताका लागि काम गर्न खोजेको छु। यसमा सबैको साथ र सहयोग चाहिन्छ।’ अहिले स्वास्थ्य र होटलहरूको अनुगमन भइरहेको र चाँडै शिक्षा क्षेत्रमा पनि अनुगनको कार्यलाई वृद्धि गर्ने सिंहले बताए।

मधेस प्रदेशका निजी अस्पतालहरूमा बिरामीको ज्यानसँगै खेलवाड भइरहेको व्यापक जनगुनासो आएपछि मुख्यमन्त्रीले आठै जिल्लाका दुई सयभन्दा बढी निजी अस्पताल तथा स्वास्थ्यसंस्थाहरूमा अनुगमन गरेका हुन्। जसमध्ये हालसम्म ९६ वटा गैरकानुनी अस्पतालहरू बन्द नै गराइएको छ भने १८ वटालाई सुधारका लागि अवसर दिइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यता, मुख्यमन्त्रीको कार्यशैलीलाई सामाजिक सञ्जालमा कतिले भारतीय सिनेमाहरूसँग प्रभावित कार्यशैलीको रूपमा विश्लेषण गर्न थालेका छन् भने कतिपयले यसलाई ‘स्टन्टबाजी’ को संज्ञा पनि दिने गरेका छन्। ‘मुख्यमन्त्रीले सस्तो लोकप्रियताको लागि स्टन्टबाजी गरिरहेका छन्। यदि उनलाई सुधार नै गर्नु छ भने गएर यातायात कार्यालयमा अनुगमन गर्नु प¥यो, हेर्नुप¥यो त्यहाँ कसरी पावर र पैसाको भरमा घरमै बसीबसी अयोग्यहरूलाई लाइसेन्स दिइन्छ तर, उहाँ त्यो गर्नु हुन्न। खाली अनावश्यक काम गर्नुहुन्छ,’ नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर भन्छन्, ‘मुख्यमन्त्रीले प्रदेशको दीर्घकालीन योजना र विकासलाई महŒव नै दिएका छैनन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.