दोलखामा स्ट्रिटफुड फेस्टिभल हुने
दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा स्ट्रिटफुड फेस्टिभल हुने भएको छ। नयाँ वर्ष २०८२ लाई लक्षित गरी चैत ३१ गतेदेखि वैशाख २ गतेसम्म स्ट्रिटफुड फेस्टिभल हुने भएको हो। दोलखा चेम्बर अफ कमर्सले नयाँ वर्ष २०८२ लाई सडक खाना मेला गरेर स्वागत गर्न लागेको दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीले बताए।
दोलखा चेम्बर अफ कमर्स तथा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्न लागेको अध्यक्ष बुढाथोकीको भनाइ छ। सदरमुकाम चरिकोटको आर्थिक क्रियाकलाप वृद्धि गर्ने उद्देश्यले दोलखा चेम्बर अफ कमर्स तथा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले संयुक्त रुपमा ‘सडकमै खाऔं, सडकमै रमाऔं, रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔं’ भन्ने नाराका साथ स्ट्रिटफुड फेस्टिभल आयोजना गर्न लागेको हो। स्थानीय स्तरमा उत्पादन भएका आर्गनिक कृषि उत्पादनको स्वादसँगै दोलखाको पर्यटकीय क्षेत्र, यहाँ उत्पादन भएका कृषि सामग्री, जातीय सांस्कृतिक खानपानका सामग्रीको प्रवर्द्धन गर्नकै लागि यो फेस्टिभलको आयोजना गरिएका उनको भनाइ छ।’
फेस्टिभलमा स्थानीय खानाका मौलिक परिकारकासाथै विभिन्न खानाका स्वाद लिन सकिने। कला र संस्कृति संरक्षण, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा पहुँच विभिन्न कला, भेषभुषा, रहन सहन, धार्मिक तथा सांस्कृतिक परम्परा, भाषा तथा साहित्यको पहिचान गर्न, जातजाति बीच सांस्कृतिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्न, लोक संस्कृतिको उत्थान तथा जर्गेना गर्नु फेस्टिभलको मुख्य उद्देश्य रहेको छ। फेस्टिभल अवधिभरमा मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ।
प्रतिक्रिया दिनुहोस !