सर्वोच्चले सरकारलाई सोध्यो- कुलमान घिसिङलाई किन बर्खास्त गरियो ?
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले कारणा देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको हो।
गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए। आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए।
अदालतले आज लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको हो। आदेशमा भनिएको छ- 'के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार,कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षीको हकमा महान्यायाधिवक्ता कार्यालयमार्फत् आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नुहोला।'
प्रतिक्रिया दिनुहोस !