मिडियामा तोडफोड र आगजनी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन अन्नपूर्ण मिडिया नेटवर्कको माग
काठमाडौं : 'राजावादी आन्दोलन'का नाममा निस्किएको अराजक, उच्छृंखल र असंयमित जत्थाले अन्नपूर्णसहित मिडियाहरूमा तोडफोड र आगजनी गरेको भन्दै अन्नपूर्ण मिडिया नेटवर्कले भर्त्सना गरेको छ। अन्नपूर्णसहित कान्तिपुर टेलिभिजन र एभिन्युज टीभीका क्यामेरा पर्सन सुरेश रजकको निधनप्रति अन्नपूर्ण मिडिया नेटवर्कले भर्त्सना गरेको हो।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी, अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई, अन्नपूर्ण पोस्ट् डटकमका सम्पादक शम्भु कट्टेल, रेडियो अन्नपूर्णका समाचार प्रमुख भूपाल लुइँटेल र एपी वान टिभीका समाचार प्रमुख दीपेन्द्र वान्तवाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
'निरंकुशताको पहिलो निसानी प्रेस हो भन्ने यो 'आन्दोलन'ने अंगालेको शैलीले देखाएको छ। हामी सबै किसिमका निरंकुशताको कडा विरोध गर्दै लोकतन्त्रका पक्षमा सदा अविचलित रहने प्रतिबद्धता जनाउँछौं। गणतन्त्रको रेखा कोर्ने २०६२/०६३ को आन्दोलनमा मिडियाको सक्रिय, सशक्त र अहम् भूमिका छ। अन्नपूर्ण मिडिया नेटवर्क लोकतन्त्रको मुना निमोठ्ने कुनै पनि गतिविधिको मूकदर्शक हुन सक्दैन। प्रदर्शनकारीले त्यही कारण पनि अन्नपूर्ण मिडियालाई आक्रमणको निसाना बनाएको हाम्रो ठहर छ। नेपाली नागरिक हैसियतमा रहेका हरेक व्यक्तिलाई राजनीतिक अभ्यास गर्न, शासनमा पहुँच बनाउन र जनमत आर्जन गर्न लोकतन्त्र र यसअन्तर्गतको संविधान बाधक छैनन्। त्यसका खातिर गरिने प्रदर्शन र आन्दोलन भने शान्तिपूर्ण एवं अरूको सुरक्षामा खलल नपुग्ने किसिमका हुनुपर्छ। लोकतान्त्रिक पद्धति र कानुनी दायराभन्दा बाहिर जान लोकतन्त्रमा कसैलाई छुट छैन। अन्नपूर्ण मिडिया नेटवर्क लोकतन्त्रको संरक्षण र संवर्द्धन गर्न र राजनीतिक थिति बसाल्ने मार्गदर्शक बन्न सदा अग्रसर रहँदै आएको छ। यसमा हुने कुनै किसिमका रोकावटबाट हामी विचलित हुँदैनौं,' विज्ञप्तिमा भनिएको छ, 'लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र हो। गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र हो। किनकि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार एवं नागरिक सम्प्रभुत्ता केवल लोकतन्त्रमा सम्भव छ। त्यसमा हुने अवरोध खेदजन्य छ। अन्त्यमा, पत्रकार र मिडिया कर्मचारी भित्र रहेको अवस्थामा ज्यानै लिने कुत्सित मनशायले अन्नपूर्ण मिडिया नेटवर्कमा आगजनी तथा आक्रमण गरिएको तथा घरभित्रै आगोमा पारी क्यामेरा पर्सन रजकको निधन भएको घटनाको छानविन गरी संलग्नलाई कानुनी कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछ।'
प्रतिक्रिया दिनुहोस !