अन्नपूर्णको कार्यालयमा निरीक्षण गर्दै पत्रकार महासंघले भन्यो- सरकारले सत्य तथ्य छानबिन गरी क्षतिपूर्ति दिनुपर्छ
काठमाडौं : नेपाल पत्रकार महासंघको टोलीले अन्नपूर्ण मिडिया नेटर्वकको निरीक्षण गरेको छ। राजावादी प्रदर्शनकारीले शुक्रबार अन्नपूर्ण पोस्टको कार्यालयमा आक्रमण गरी क्षति पुर्याएपछि महासंघको टोलीले शनिबार तीनकुनेस्थित कार्यालयको निरीक्षण गरेको हो।
महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यको नेतृत्वमा आएको टोलीले मिडियामाथि भएको आक्रमणको कडारूपमा भर्त्सना गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले अन्नपूर्णमा भएको आक्रमणको निन्दा गर्दै महासंघ मिडियाको पक्षमा आवाज उठाउने गरेको बताए।
'मिडियालाई संकट पर्दा पत्रकार महासंघ जहिल्यै साथीको रूपमा उभिने गरेको छ। मिडिया र पत्रकारको पक्षमा आवाज उठाउने गरेको छ। अहिले जुन घटना अन्नपूर्णलगायत अन्य मिडियामा भएको छ। त्यसको हामी कडारूपमा निन्दा गर्न चाहन्छौं। मिडियामाथि भएको यसप्रकारको घटना सैह्य हुँदैन,' उनले भने।
उनले पत्रकार र मिडियामाथि भएको घटनाप्रति महासंघले देशभरि आन्दोलन सुरू गर्ने बताए। 'आज पनि माइतीघरमा पत्रकार र मिडियाको सुरक्षाका निम्ति विरोध सभा गरेका छौं। पत्रकार र मिडियाको सुरक्षाका निम्ति अब महासंघ सडकमा उत्रिन्छ,' उनले भने।
उनले मिडियामाथि भएको आक्रमण र पत्रकारको रहस्यमय मृत्युको सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गर्ने बताए। 'मिडिया हाउसमा भएको आक्रमण र पत्रकारको रहस्यमय घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सत्य तथ्य छानबिनका लागि माग गर्दछौं। सरकारले मिडिया र पत्रकारलाई न्यायसँगै क्षतिपूर्तिको व्यवस्था पनि गर्नुपर्छ,' उनले भने। महासचिव दाहालले मिडियामा भएको क्षतिबारे विवरण संकलन भइरहेको बताए।
महासंघको टोलीलाई अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी र मिडियाका महाप्रबन्धक मनोज बस्नेतले अन्नपूर्ण मिडिया नेटवर्कमा भएको क्षतिबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस !