मानव अधिकार आयोगले भन्यो- अन्नपूर्णलगायत मिडियामा भएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको हनन हो
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले मिडियामाथि भएको आक्रमणप्रति भर्त्सना गरेको छ। अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा राजावादीहरूले गरेको तोडफोडको निरीक्षण गर्दै आयोगको टोलीले गम्भीर आपत्ति जनाएको हो।
आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले राजावादीहरूले मिडियामाथि गरेको आक्रमणलाई प्रेस स्वतन्त्रताको हनन भएको बताए। उनले प्रेस स्वतन्त्रताको हननसँगै प्रदर्शनकारीले मानव अधिकारको उल्लंघन गरेको आरोप पनि लगाए। 'यो घटना पूर्णतः प्रेस स्वतन्त्रतामाथि गरिएको हनन हो। कार्यालयमा काम गरिरहेका बेला तोडफोड गर्नु, आगजनी प्रयास गर्नु मानव अधिकारको उल्लंघन पनि हो,' सहसचिव अधिकारीले भने।
उनले अन्नपूर्ण पोस्ट्लगायत मिडियामाथि भएको आक्रमण र पत्रकारको निधनप्रति आयोगले विशेष चासो लिएको र यस विषयमा सम्बन्धित निकायसँग न्यायको पहल गरिने बताए। अधिकारीसँगै आयोगका सहप्रवक्ता श्यामबाबु काफ्ले पनि अन्नपूर्णमा भएको क्षतिको अवलोकन गरेका थिए।
उनीहरूलाई अन्नपूर्ण मिडियाका महाप्रबन्धक मनोज बस्नेतले क्षतिबारे जानकारी गराएका थिए। आयोगका सहसचिव अधिकारीले राजावादीले शुक्रबार तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस !