राजावादीको आगोले सञ्चो उत्पादक कम्पनीमा ठूलो क्षति

राजावादीको आगोले सञ्चो उत्पादक कम्पनीमा ठूलो क्षति

काठमाडौं : स्वदेशी वाम अर्थात् सञ्चो। जडिबुटीस्थित उत्पादन तथा प्रशोधन कम्पनीबाट यसको उत्पादन हुन्छ। स्वदेशमात्र होइन, विदेशमा पनि प्रख्यात छ। तर, राजावादीहरूको आन्दोलनको निसानामा यो कम्पनी पर्‍यो। शुक्रबार तोडफोड र आगजनी गरियो। करोडौंको क्षति पुर्‍याइयो। 

तीनकुने केन्द्रित राजावादी समूहको प्रदर्शन अराजक बन्दै जडिबुटी कम्पनीमा तोडफोड र आगजनीमा उत्रेको थियो। शुक्रबार ३ बजेसम्म कार्यालय समय थियो। लगभग सबै कर्मचारी घर हिँडिसकेपछि आगजनी र तोडफोड गरिएको थियो। केन्द्रीय कार्यालयमा करिब ९० जना कामदार र कर्मचारी कार्यरत छन्। देशभरका शाखा कार्यालय गरी १ हजार ६ सय कर्मचारी र करिब ९ सय किसानलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। हजारौंले अप्रत्यक्ष रोजगारी पाइरहेका छन्। 

शुक्रबारको कार्यालय समय सक्किएपछि सबै कामदार र प्रायः कर्मचारी घर हिँडिसकेका थिए। तर, लाखौंको संख्यामा सञ्चोको बोटलमा सञ्चो भरेर राखिएको थियो। त्यसलाई लेबलिङ र बक्सिङ गर्न मात्रै बाँकी थियो। 

महाप्रबन्धकलगायत केही कर्मचारी प्रशासनिक भवनको बैठक कक्षमा समीक्षा गर्दै थिए। दिउँसोको करिब सवा ३ बजेतिर एकाएक ढुंगा बर्सिन थालेको कम्पनीका महाप्रबन्धक संगीता यादवले बताइन्। जडिबुटीमा रहेको उक्त कम्पनी सिसै–सिसाले बनेको छ। प्रदर्शनकारीले कम्पनीको प्रशासनिक भवनलाई ढुंगामुढा गरेर पूर्णरूपमा ध्वस्त बनाए। उत्पादन भवनमा आगजनी गरे। 

भवनमा रहेको ल्याबदेखि करोडौं मूल्यको अटोमेटिक सिलिङ मसिन जलेर नष्ट भयो। सँगैको जीएनपी भवन (हावा प्रतिरोधात्मक कोठा जहाँ राखिएको तेल दूषित नहोस् भनेर हावा पनि छिर्न नसक्ने गरी व्यवस्था गरिएको हुन्छ) जलेर नष्ट भयो। कम्पनीको हातामा रहेका कम्पनीका ४ सवारीसाधनमा पनि आगजनी भयो। कार्यालय समयमा करिब ३५ गाडी त्यहाँ राखिएका हुन्थे। कार्यालय समय सक्किएको भएर करिब १३ सवारीसाधन त्यहाँ थिए। 

जसमा कम्पनीका ४ सवारीसँगै अन्य मन्त्रालय तथा कार्यालय (जलस्रोत, भूमिसुधार, उद्योग, नेपाल विद्युत् प्राधिकरण) का गाडीहरू थिए। ती पनि जलेर नष्ट भए। तोडफोड र आगजनी सुरु भएको ४५ मिनेट (दिउँसोको ४ बजेसम्म) मा कम्पनीमा करिब ५० करोडको क्षति भयो। कम्पनीले गरेको प्रारम्भिक मूल्यांकले करिब ५० करोडको क्षति देखाएको योजना प्रमुख गोविन्दकुमार शर्माले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

जडिबुटी कम्पनी जोगाउन समयमा न प्रहरी प्रशासन पुग्यो, न दमकल नै। ज्यान जोगाएर भवनबाट भागेका कर्मचारीहरूसँग टुलुटुलु हेर्नुको विकल्प नभएको महाप्रबन्धक यादवले बताइन्। 

उनका अनुसार, बोटलमा भरेर राखेको सञ्चो, त्यसको कच्चापदार्थ सबै नष्ट भएका छन्। संस्थाको ४ वटा सवारीसाधन, ल्याबको इक्युपमेन्ट सबै नष्ट भएको छ। ‘सञ्चो बनाउनका लागि कच्चा पदार्थको रूपमा रहेको तेलहरू मिश्रिण गरी त्यसको ल्याब परीक्षणपछि ठीक भएमात्र अटोमेटिक सिलिङ मसिनमा हालेर बोटलमा भरिन्थ्यो। त्यो ल्याब पनि पूर्णरूपमा ध्वस्त भएको छ,’ भन्दै महाप्रबन्धक यादवले भनिन्। नेपाल सरकारको लगानी भए पनि कर्मचारीको भरणपोषण आफ्नै उत्पादन बेचेर हुने आयबाट गर्दै आएको जानकारी दिइन्।

अत्याधुनिक फिलिङ मसिन जलेर नष्ट

कम्पनीमा करिब २ वर्षअघि अत्याधुनिक मेकानिकल सिलिङ मेसिन जडान गरिएको थियो। उक्त मेसिनले १ घन्टामा ६ हजार बोटल भर्न सक्ने क्षमता राख्छ। पहिला म्यानुअल (मानिसले) सन्चो भरिन्थ्यो। बोटलमा सिधै सन्चो भरिएपछि क्याप (बिर्को) सम्म लगाउने काम उक्त मसिनले गर्छ। ‘अहिले मानिसले छुनु पर्दैन। तेलमा मानिसले छुनु पर्दैन लेबलिङ र बक्सिङ मात्र मानिसले गर्छन्, शर्माले भने। 

प्रदर्शनकारीको आगजनीले उक्त मेसिन पनि जलेर नष्ट भएको छ। योसँगै करिब ३ सय केजी ल्याब टेस्टिङका लागि आएका सुगन्धित तेल पनि नष्ट भएको उनले बताए। जीएनपी भवन (हावा प्रतिरोधात्मक कोठा जहाँ राखिएको तेल दूषित नहोस् भनेर बनाइएको भवन) पूर्णरूपमा जलेको छ। १५ देखि २० लाख खाली सिसी, बट्टा, बक्स, बिर्को जलेको छ। 

जडिबुटी कम्पनीमा सरकारको निरीक्षण तथा अवलोकन

शुक्रबार भएको तोडफोड र आगजनीपछि शनिबार दिनभरि जसो नै सरकारका विभिन्न मन्त्रालयका मन्त्री, सचिवले अवलोकन भ्रमण गरे। गृहमन्त्री रमेश लेखकले फुटेको र डढेको जडिबुटीको कम्पनीको भ्रमणपछि दोषीलाई कारबाहीको प्रतिबद्धता व्यक्त गरे। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कम्पनीको पुनर्निर्माणका लागि मन्त्रालयले आवश्यक सबै किसिमको प्रयास गर्ने र आवश्यक बजेटको व्यवस्थाका लागि सरकारसँग माग गर्ने बताए। मन्त्रालयका सचिव डा.दीपककुमार खरालले कम्पनीको क्षतिको सम्पूर्ण रकम सरकारले व्यहोर्ने बताए।

जडिबुटीमा आत्मनिर्भरदेखि निर्यातसम्मको कम्पनीको यात्रा

सन् १९८१ (२०३७ साल) मा नेपाल सरकारको पूर्णलगानीमा कम्पनी स्थापना भएको हो। नेपालभित्र र विदेशमा औषधि, खाद्य, सौन्दर्य र कल्याण उद्योगहरूका लागि औषधीय कच्चापदार्थ र आवश्यक तेलहरू उत्पादन गर्ने पहिलो नेपाली कम्पनी हो। 

कम्पनीसँग प्रदेश १ को सुनसरीको तराहरा र बेलबारी, प्रदेश २ बाराको तामागढीमा खेती विस्तार शाखा छ। (यहाँ ५ सय बिघाभन्दा बढी जग्गा छ)। यस्तै प्रदेश ४ अन्तर्गत गोरखाको सिरानचोक गाउँपालिकामा शाखा विस्तारको क्रममा रहेको बताइएको छ। 

यस्तै, प्रदेश ५ मा शाखा विस्तारको योजना छ भने प्रदेश ६, कर्णालीको जाजरकोटमा संकलन केन्द्र स्थापना गरिएको छ, जहाँ मुख्य गरी टिमुर प्रशोधनको काम हुन्छ र शुद्ध टिमुर बजारमा ल्याउने प्रक्रियामा थियो। कर्णालीको मुगुमा शाखा विस्तारको योजना भइरहेको थियो। सुदूर पश्चिमको टीकापुरमा शाखा कार्यालय छ। 

कम्पनीले सुगन्धित तेलहरू निर्यात गर्दै आइरहेको थियो। सिट्रोनेला, क्यामोमाइल, लेमन ग्रास, फ्रेन्चबसिल, युक्यालेक्टस र पामारोजा सुगन्धित तेलहरू आन्तरिक तथा बाह्य बजारमा निर्यात हुँदै आइरहेको योजना प्रमुख शर्माले जानकारी दिए। ‘सुगन्धित तेल सिधै हामीले निर्यात गरेका छैनौं। भेन्डरहरूको माध्यमबाट निर्यात भइरहेको छ। हामीले निर्यातका लागि सहज बनाउने काम गर्दै आइरहेका छौं,’ शर्माले बताए। 

जडिबुटीमा सन्चो लगायतका हिमालय मसाज आयल, सन्चो बाम, सन्चो जटाकेश तेल, सन्चो सिलाजित र सन्चो सेनेटाइजर उत्पादन तथा बिक्री वितरण हुँदै आइरहेको छ। जर्मनी, स्विडेन, फ्रान्स, पाकिस्तान र भारतमा यी जडिबुटी निर्यात हुँदै आइरहेको छ। शर्माका अनुसार वार्षिक करिब २० करोडको कारोबार हुँदै आएको यो कम्पनी नाफामा नभए पनि घाटामा पनि नगएको बताउँछन् । चिकित्सा जडिबुटी (आयुर्वेदिक जडिबुटी) र सुगन्धित वनस्पतिको भण्डारको रूपमा रहेको नेपाल विश्वमै प्रख्यात छ। सदियौंदेखि नेपालले भारत, चीनलगायत छिमेकी मुलुकमा आफ्नो बहुमूल्य वन पैदावार निर्यात गर्दै आएको छ। नेपालमा २ हजार औषधीय र सुगन्धित वनस्पति (एमएपी) र गैरकाष्ठ वन पैदावार (एनटीएफपी) को सम्भावना रहेको अनुमान गरिएको छ। नेपाली जडिबुटीहरू हिमालय क्षेत्रको फेदीमा उच्च उचाइको क्षेत्रमा पाइन्छन् जसले गर्दा अन्य देशका मेडिकल प्लान्टहरूको तुलनामा अद्वितीय र अधिक विशिष्ट र प्रयोग योग्य हुन्छन्। नेपाली एमएपीमा विभिन्न चिकित्सा गुणहरू हुने र यसको बजार मूल्य उच्च हुने गरेको बताइन्छ।

क्षतिको विस्तृत विवरण यसै साता 

कम्पनीले शुक्रबार भएको क्षतिको प्रारम्भिक विवरण निकाल्दै करिब ५० करोड रुपैयाँको क्षतिको आंकलन गरेको छ। कम्पनीका अनुसार प्रहरीले क्षतिको मुचुल्का उठाएर लगेको छ। साताभित्रमा नै क्षतिको विस्तृत विवरण तयार गरी सरकारले पेस गर्ने कम्पनीको भनाइ छ। करिब ४५ को संख्यामा रहेका ज्यालादारी कामदारलाई कामबाट निष्कासन गर्नेभन्दा पनि कम्पनीको अस्थायी संरचना नबनेसम्म तलबी बिदा दिने तयारी भइरहेको योजना प्रमुख शर्माले बताए। मासिक १७ हजार १ सय ज्यालामा उनीहरूले कम्पनीमा काम गरिरहेका छन्। चाँडै नै अस्थायी संरचनाबाट उत्पादन सुरु गर्ने योजना रहेको उनले जानकारी दिए। 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी

सार्वजनिक सम्पत्तिमा यत्तिको तोडफोड होला भन्ने आंकलन गरिएको थिएन। तीनकुनेमा केन्द्रित भएको आन्दोलन एकाएक जडिबुटीमा आएर तोडफोड होला भन्ने आंकलन गरिएन। यस कम्पनीमा तोडफोडपछि प्रहरी प्रशासनलाई फोन गरिएको हो तर प्रदर्शनकारीबाट फुत्केर आउने अवस्था थिएन। दमकल आउन कोसिस गर्दा पनि आउन दिइएन। रोजगारी सिर्जनादेखि, स्वदेशमा नै औषधि उत्पादन गर्ने वातावरण भइरहेको र यहाँ नै सेवा दिए बजार विस्तार गरिरहेको कम्पनीमा अनाहकमा भवनमा आगजनी, मेसिनहरूको तोडफोड, सवारीसाधनमा भएको आगजानी र कर्मचारीलाई त्रसित बनाउने गतिविधि खेद जनक छ। यसमा सरकार संवेदनशील छ। कम्पनीको पुनर्निर्माणका लागि मन्त्रालयले आवश्यक सबै किसिमको प्रयास गर्छ र बजेटको व्यवस्थाका लागि सरकारसँग माग गर्छ। 

महाप्रबन्धक संगीता यादव

करिब–करिब कम्पनीका दैनिक कार्यहरू समाप्त गरिरहेका थियौं। समीक्षालयमा बसेर एउटा मिटिङ गरिरहेका थियौं। त्यही बेलमा हाइवेबाट अचानक ढुंगामुडा प्रहार सुरु भयो। यो सिसा नै सिसाले बनेको भवन हो। अनि हामी सिसा नभएकोतिर गएर लुक्यौं। त्यहाँट बाहिर हेर्दा एउटा ठूलो भीड आएर कम्पनी बाहिर हातामा भएका गाडीहरूमा आगजनी सुरु गरिसकेका थिए। त्यो देख्दा हामी डरायौं र भवनमा पनि आगो लगाउँछन् भन्ने ठानेर तल ओर्लियौं। भवनको पछाडिपट्टिको भm्यालबाट हाम फालेर मलगायत केही महिला साथीहरू भाग्यौं। हामी बाहिर हाम फालेर निस्किँदा एउटा हुल ढुंगा लिएर हामीतिर नै अघि बढ्यो। उनीहरूले यिनीहरू सरकारी कर्मचारी हुन्, यिनीहरूलाई समात, पिट भनिरहेका थिए। हामी उनीहरूबाट भाग्न सफल भयौं। भागेर जडिबुटीको पुल कटेपछि सरकारका सहायता लाइनहरू १०० मा, १०१ मा, वन तथा वातावरण मन्त्रालयमा लगायत सम्बन्धित निकायहरूलाई कम्पनीको भवनमा भइरहेको आगजानीका बारेमा जानकारी गराउँदै सहायताका लागि आग्रह गर्‍यो। तर, दमकल आउँदा आउँदै ३–४ घन्टा लाग्यो। यदि दमकल समयमा आएको भए क्षति कम हुन्थ्यो। पुलिस–प्रशासन पनि समयमा आउन सकेन। भवनमा भएका केही कर्मचारी एवं ढोकामा बस्ने सुरक्षा गार्डहरूको ज्यान जोखिममा परेको थियो। धन्न मानवीय क्षति भएन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.