कुलमान घिसिङको रिटमा आज सुनुवाइ नहुने
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा आज सुनुवाइ नहुने भएको छ। सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह र शारङ्गा सुवेदीको इजलासमा तोकिएको थियो। तर,रिट 'हेर्न नभ्याइने सूचिमा' राखिएको छ।
यसअघि शुक्रबार प्राम्भिक सुनुवाइ गर्दै सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो।
अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो।
गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए।
आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रतिक्रिया दिनुहोस !