श्रीकृष्ण प्रणामी मन्दिर निर्माण कोष संकलन अभियान
काठमाडौं : अमेरिकाको ओहायोस्थित कोलम्बसमा श्रीकृष्ण प्रणामी मन्दिर निर्माणका लागि कोष संकलन अभियान सञ्चालन गरिएको छ।
यस अभियानअन्तर्गत आगामी मे महिनाको २० देखि २६ तारिखसम्म श्रीमद् ब्रम्हवाणी तारतम सागर एवं श्रीमद् भागवत महापुराण सप्ताहव्यापी कार्यक्रम ओहायोको कोलम्बसमा हुने भएको श्रीकृष्ण प्रणामी मिसन इन्क (ओहायो सेन्टर)ले जनाएको छ।
यस क्षेत्रमा मन्दिर निर्माणले ओहायोमा बसोबास गर्ने श्रीकृष्ण प्रणामी समुदायका लागि स्थायी मन्दिरको आवश्यकता पूरा हुने र पूजा अर्चनाको स्थल बन्नुका साथै धर्म, संस्कृति र पहिचानलाई जोगाइराख्ने पवित्र केन्द्र बन्ने मिसनको विश्वास छ।
यसले भावी पुस्तालाई आस्था र परम्परासँग जोड्न सेतुको काम गर्ने मिसनको दाबी छ। यस मन्दिरमा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिहरू सञ्चालन हुनेछन्।
यस कार्यलाई सार्थक बनाउन गरिने सातदिने विशेष धार्मिक कार्यक्रमको आयोजना कोलम्बसमा पहिलो श्रीकृष्ण प्रणामी मन्दिर निर्माणको सुरुवात हुनेछ। सप्ताहव्यापी कार्यक्रमले भक्तजनका लागि आध्यात्मिक लाभ लिने अवसर र मन्दिर निर्माणका लागि कोष संकलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा श्रीमद् ब्रह्मवाणी तारतम सागर चर्चा, श्रीमद् भागवत महापुराण कथा, भजन–कीर्तन एवं सांस्कृतिक कार्यक्रमका साथै धार्मिक प्रवचन पनि हुनेछन्। उक्त अवसरमा प्रमुख भागवत वक्तामा नवतनपुरीधाम भारतका महन्त लक्ष्मणदेव महाराज र प्रमुख वाणी वक्तामा पण्डित दिलीप शास्त्री रहने आयोजकले जनाएको छ।
झाँकीसहितको कलशयात्रा आगामी मे २० तारिखका दिन बिहान ८ बजे हुनेछ। मे २१ देखि २५ तारिखसम्म बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कथा, भजन र सांस्कृतिक कार्यक्रम हुने र मे २६ का दिन पूर्णाहुति हुनेछ।
श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदाय, ओहायो यूएसए अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी मिसनको एक शाखा हो। यो सन् २०१५ मा स्थापना भएको हो। यस संस्थाको उद्देश्य श्रीकृष्ण प्रणामी धर्मको कल्याणकारी एवं सिद्धान्तलाई विश्वव्यापी बनाउनु हो। प्रणामी धर्मले सबै धर्म र सम्प्रदायलाई सम्मान गर्ने, जाति–रंग भेदभावबाट मुक्त रहने, अहिंसाको मार्ग अपनाउने, जीवप्रति करुणा भाव राख्ने, सरल जीवनशैलीमा बाँध्ने, शाकाहारी भोजन ग्रहण गर्ने, नशालु पदार्थबाट टाढा रहने र मानवीय मूल्यहरूको संरक्षण गर्न प्रेरित गर्दछ।
प्रतिक्रिया दिनुहोस !