सुरक्षा कमजोरीको लज्जाजनक दिन बन्यो चैत १५, किन ?
काठमाडौं : दृश्य संसारभरिकै जोसुकैले हेरोस्, यति लज्जाजनक र फितलो सुरक्षा निरीहता कहीं, कतै र कहिल्यै हुँदैन। जुन काठमाडौंमा चैत १५ गते देखियो। प्रहरीका तह–तहका ‘ब्लकेड’ एउटा व्यक्तिले अन्धाधुन्ध गाडी चलाएर भत्काइदिन्छ र निषेधित क्षेत्रतिर सहज प्रवेश गर्छ। त्यो उपद्रवमा प्रहरी निरीह बन्छन्, भाग्छन्। बरु बाटो दिन्छन्। गाडीको टायरमा गोली हानेर रोक्ने आँटसम्म गर्दैनन्।
संवेदनशील स्थल (संसद् भवन) नजिक पुगेपछि बल्तल्ल गाडी नियन्त्रणमा त लिन्छन्, व्यक्तिलाई सहजै उन्मुक्ति दिन्छन्। मानौं यो प्रहरी घेरा नाघ्ने खेल भइरहेको छ। दुनियाँलाई चकित पार्ने गरी सुरक्षा घेराहरू छिचोल्ने ती व्यक्ति थिए, विवादास्पद व्यवसायी दुर्गा प्रसाईं। र, उनलाई सबैखाले उन्मुक्ति दिने निकाय थियो गृह प्रशासन।

राजावादी आन्दोलनका नाममा भएको अराजकताको कमान्डर थिए प्रसाईं। प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव प्रश्न गर्छन्, ‘जसको विगत गृह प्रशासनले किन हेरेन ? अराजक भीड अपराधकर्ममा उत्रन सक्छ भन्ने आकलन गर्न किन सकेन ? अनि, अपराध गरेकै अवस्थामा रोक्न किन सकेन ? नियन्त्रमा आइसकेको व्यक्तिलाई उम्कन किन दियो ?’ को हुन् र सुरक्षाकर्मीले रोक्न नसक्ने दुर्गा प्रसाईं ?
सर्वसाधारण यही प्रश्न गर्छन्, आखिर को हुन् र दुर्गा प्रसाईं जसलाई सुरक्षाकर्मीले रोक्न, छेक्न र नियन्त्रणमा लिनै सकेनन् ? दिउँसो ३ बजे प्रहरी घेरा तोडेका उनी त्यसपछि केहीबेर प्रदर्शनस्थलमै बसे। नियन्त्रणमा लिइएन। साँझ ७ बजे मात्र पक्राउको कुरा आयो। रातारात भाग्दा पनि सरकारले पक्राउ गर्न सकेन। सुरक्षा विश्लेषकहरू भन्छन्, ‘यसभन्दा फितलो सुरक्षा प्रणाली कुनै हुँदैन।’
सुरक्षा स्रोत भन्छ, प्रसाईं राति १२ बजे लेलेबाट टीकाभैरव हुँदै अघि बढे। बिहान ४ बजे ठोरी हुँदै देश कटिसकेका थिए। सांसद यादव भन्छन्, ‘यो गृह प्रशासनको सुरक्षा कमजोरीको पराकाष्ठा हो।’
घटना : पृष्ठभूमि के थियो ?
चैत १५ गते तीनकुने क्षेत्रमा जनप्रदर्शन गर्ने पूर्व घोषित कार्यक्रमको प्रचारप्रसारका लागि नवराज सुवेदीले टेलिभिजन र युट्यबको प्रयोग गरे। उनलाई नेतृत्व लिन हौस्याउने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले प्रदर्शनकारीलाई एकीकृत गर्ने योजना बन्यो। भीडमा जब प्रहरीले नियन्त्रण गर्न खोज्छ तब ‘जनकमान्डर’ घोषित दुर्गा प्रसाईंले गाडी चढेर प्रहरीलाई चिढ्याउने र भीडलाई उत्तेजित पार्ने रणनीति बनाइयो।
फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दललाई चेतावनी दिँदै सार्वजनिक गरेको वक्तव्यलाई राजनीतिक दलले हलुका ढंगले लिए। सत्तारूढ दलले पनि बेवास्ता गरे।
फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रले पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थल ओर्लिएका भीड देखेर हौसिए। त्यो भीडलाई क्यास गर्न चैत १५ गते नै जनप्रदर्शन गर्ने योजना बनाउँदासमेत सरकार र राजनीतिक दलका शीर्ष नेताहरू गम्भीर भएनन्।
एकै दिन २ प्रदर्शन, अनुमति किन ?
विपक्षी नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीलगायतका गणतन्त्रवादी दलहरूले समाजवादी मोर्चाको नाममा शुक्रबार भृकुटीमण्डपमा जनसभा आयोजना गरे। सोही दिन जिल्ला सुरक्षा समितिले राजावादीलाई चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दियो।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार, एकै दिन दुई ठाउँमा प्रदर्शन गर्न दिनु हुँदैनथ्यो। ‘शक्ति प्रदर्शन भन्नेबित्तिकै हिंसात्मक हुन सक्ने आंकलन जो कोहीले गर्न सक्छ। सुरक्षाकर्मीलाई दुवै प्रदर्शनस्थलमा परिचालन गर्नुपर्ने हुन्छ’, पूर्वडीआईजी ठकुरी भन्छन्, ‘एकैदिन दुई स्थानमा शक्ति प्रदर्शनको अनुमति दिनु हुँदैनथ्यो।’
अनुसन्धान विभाग : के गर्यो सुरक्षा अनुसन्धान ?
राष्ट्रिय अनुसन्धान विभागले पूर्वराजा ज्ञानेन्द्रदेखि आन्दोलनका संयोजक सुवेदी, कमान्डर प्रसाईंलगायतको सक्रिय गतिविधिको सूचना संकलन गर्नमा निष्क्रिय वा असमर्थ बन्यो।
त्यसअघि गत मंसीर ४ गते प्रसाईं संगठित अपराध, किर्ते, मानहानिलगायतका मुद्दामा पक्राउ परेको थिए। बन्दी प्रत्यक्षीकरणको निवेदन दिएर सर्वोच्च अदालतको आदेशबाट छुटे। त्यसपछि उनले सक्रियता बढाए। उनको पृष्ठमूमि केलाइएन। अनुसन्धान विभाग सूचनाविहीनझैं देखियो। अनुसन्धान विभागकै एक अधिकृत भन्छन्, ‘पूर्वराजा ज्ञानेन्द्रदेखि वयोवृद्ध नेता नवराज सुवेदीसम्म र प्रसाईंदेखि राप्रपाका नेताहरूका भेटघाटसम्मका हरेक दिनका गतिविधिको सूचना संकलन गरी विश्लेषण गहन रूपमा हुन सकेन।’
विभागका अधिकृतको भनाइसँग नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारी पनि सहमत छन्। पूर्वडीआईजी अधिकारी भन्छन्, ‘गैरराजनीतिक पृष्ठभूमिका र उद्दण्ड स्वभावका प्रसाईंको प्रत्येक गतिविधिको अनुसन्धान र सुरक्षा निकायले पलपलमा निगरानी गर्नुपथ्र्यो। त्यो हुन सकेन। इन्टेलिजेन्स कमजोर देखियो।’
पहिला घटना, पछि निगरानी
आफूहरूलाई कम नआँकून् भन्ने देखाउन राजावादीले ८६ वर्षीय वयोवृद्ध नवराज सुवेदीलाई संयोजनको भूमिका दिए। सुवेदीले टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रचारात्मक अभियानमा केन्द्रित भए। उता कमान्डर घोषित प्रसाईंले आफू निकट युट्युबरहरूलाई अनुकूल हुनेगरी भरपूर प्रयोग गरे।
पूर्वडीआईजी अधिकारीका अनुसार, गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिलाई कमान्डर घोषणा गर्दा सुरक्षा प्रशासन सजग हुनुपर्छ। तर, चैत १५ गतेको हिंसात्मक आन्दोलनपछि मात्र सुवेदीलाई गृह प्रशासनले निगरानीमा राखेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्य भन्छन् ‘सुवेदीबाट कुनै गतिविधि नहोस् भनेर नै घरमै निगरानीमा राखिएको हो।’
पूर्वडीआईजी अधिकारीका अनुसार, राजावादीले उद्दण्ड स्वभावका व्यक्तिको हातमा आन्दोलनको कमान्ड सुम्पनेबित्तिकै प्रसाईंको निगरानी र आन्दोलनको हिंसात्मक हुन सक्नेतर्फ आकलन गरिहाल्नु पथ्र्यो।
मञ्चले देखाउँछ, कार्यक्रम लक्ष्य थिएन
तीनकुनेस्थित समारोहमा मञ्च यति साँघुरो थियो, जुन कार्यक्रमका लागि थिएन। स्वयं संयोजक सुवेदीले अन्तर्वार्ताहरूमा भनेका छन्, ‘कार्यक्रम गर्ने हाम्रो लक्ष्य थिएन।’
विश्लेषकहरूका अनुसार प्रदर्शनकारीलाई एकीकृत गराउने र उद्दण्डता देखाउने आयोजकहरूको रणनीति थियो। मञ्चमा पूर्वराजा ज्ञानेन्द्र र प्रसाईंको तस्विरसहितका ब्यानरहरू बनाइयो। भीड जम्मा गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणा खटिए।
भीड जम्मा नहुँदासम्म एक घरको सटरमा सुरक्षित रूपमा बसेका प्रसाईंलाई बाहिर निस्कन हौस्याइयो। उनले आफू निकट युट्युबरलाई गाडीभित्र चढाएर निषेधित क्षेत्र तोड्ने योजना बन्यो। सडकमा बार लगाएर उभिएका प्रहरीलाई पेल्दै अघि बढे। गाडीभित्रै युट्युबरले लाइभ गर्दै प्रसाईंलाई जोस्याए।
सुरक्षा निकायबीच समन्वयको अभाव
घटनामा दुई जनाको ज्यान गइसक्दासमेत सुरक्षा निकायबीच समन्वयको अभाव खडकरह्यो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागबीच पनि समन्वय हुन सकेन। सुरक्षाकर्मी नै भन्छन्, चेन अफ कमान्डसमेत प्रभावकारी देखिएन। तल्लो तहका सुरक्षाकर्मी कमान्डरको निर्देशनमा परिचालनमा खटेको नदेखिएको एक प्रहरी अधिकृतले बताए।
संवेदनशील क्षेत्रको निगरानी शून्य
प्रदर्शनका मुख्यमुख्य स्थलहरू र नाकाहरूमा निगरानी शून्य भयो। सुरक्षा अधिकारीका अनुसार, टार्गेट एरिया र सम्भावित महŒवपूर्ण र संवेदनशील एरियाको निगरानी हुन सकेन। त्यस्तै भीड प्रदर्शनलाई नियन्त्रणका लागि मान्य सिद्धान्तहरू हुन्छन्। त्यसको पालना हुन सकेन। त्यस्तै दुई जनाको हत्यापछि काबु बाहिरको परिस्थिति हुँदासमेत व्याक अप नै भएन।
‘यो त पराकाष्ठै’
जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव प्रदर्शन सुनियोजित भएको बताउँछन्। ‘तीनकुने र भृकुटीमण्डपमा दुई समूहलाई एकै दिन किन आन्दोलन प्रदर्शन गर्ने अनुमति दिइयो ? त्यसमा पनि तीनकुने जस्तो अति संवेदनशील क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिइयो ? ’ यादव गृह प्रशासनलाई प्रश्न गर्छन्।
सुरक्षा संयन्त्र सूचना संकलनमा समेत चुकेको उनी बताउँछन्। भन्छन्, ‘यति ठूलो सुनियोजित घटनामा पनि राज्य बेखबरी झैं देखियो।’ आपराधिक घटनामा संलग्न दोषी सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा उनले जोड दिए। ‘सुरक्षाका चार÷पाँच लेयर क्रस गरिसक्दा पनि किन नियन्त्रण गरिएन ?’ उनले थपे, ‘यो घटना गृह प्रशासनको नालायकताको पराकाष्ठा हो।’
- राजावादी आन्दोलनका नाममा भएको अराजकताको कमान्डर थिए प्रसाईं।
- चैत १५ गते तीनकुने क्षेत्रमा जनप्रदर्शन गर्ने पूर्वघोषित कार्यक्रमको प्रचारप्रसारका लागि नवराज सुवेदीले टेलिभिजन र युट्यबको प्रयोग गरे।
- उनलाई नेतृत्व लिन हौस्याउने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले प्रदर्शनकारीलाई एकीकृत गर्ने योजना बन्यो।
- राजावादीले ८६ वर्षीय वयोवृद्ध नवराज सुवेदीलाई संयोजनको भूमिका दिए।
- घटनामा दुई जनाको ज्यान गइसक्दासमेत सुरक्षा निकायबीच समन्वयको अभाव खड्किरह्यो।
- सुरक्षाकर्मी नै भन्छन्, चेन अफ कमान्डसमेत प्रभावकारी देखिएन।
इन्टेलिजेन्स हेरेको हेर्यै !
तयारी योजनाबद्ध, गृह मूकदर्शक
वयोवृद्ध नवराज सुवेदीले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलनको संयोजक बन्ने आँट गरे। यसका पछाडि उनका दुई उद्देश्य थिए, पहिलो पूर्वराजा ज्ञानेन्द्र शाहका बुवा महेन्द्रले २५ वर्षमै मन्त्री बनाएको गुन तिर्ने र दोस्रो जीवनको उत्तरार्धमा शक्तिमा रहने।
पूर्वराजा ज्ञानेन्द्रसँगको भेटघाटका क्रममा सुवेदीले तत्कालीन राजा महेन्द्रबाट राजनीतिक रूपमा आफू दीक्षित भएको बताएका थिए। उनको गुन तिर्न तयार रहेको उनले प्रतिबद्धता जनाएका थिए। उनको प्रतिबद्धता र उमेरका हिसाबले पनि संयोजन गर्न सक्ने हैसियत रहेको पूर्वराजा ज्ञानेन्द्रको आकलन थियो। ज्ञानेन्द्रका संवाद सचिव फणी पाठकसँग उनको टेलिफोन सम्पर्क भइरहन्थ्यो। पाठकले भेटघाटको समय मिलाएर सुवेदीलाई बोलाउँथे। ज्ञानेन्द्र र नवराजबीच घण्टौं संवाद हुन्थ्यो। पूर्वराजा ज्ञानेन्द्रले पुनः सिंहासनमा चढ्ने परिकल्पना गरे, र सार्वजनिक रूपमै अभियानलाई तीव्रता दिए। सडक आन्दोलन गर्ने खाका तयार भएपछि फागुन ७ गते प्रजातन्त्र दिवसमा उनले आफूहरूले राजगद्दी त्यागेको विषयलाई ‘कमजोरी नठान्न’ दलहरूलाई चेतावनी दिए। उनले भने, ‘व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो।’
त्यसलाई राजनीतिक दल र सुरक्षा निकायले हल्का ढंगले लिए। त्यसलगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दासमेत बेवास्ता भयो। फागुन २५ गते गोरखामा ‘स्वागत–सवारी’ आयोजना गरियो। पूर्वराजा ज्ञानेन्द्रले चैत १४ गते प्रसाईंलाई ‘जनकमान्डर’ तोके। जुन कुरा प्रसाईंले साँझ नै सार्वजनिक गरेका थिए। उनको विगतले पनि उनी कस्ता हुन्, उनले कमान्ड गर्ने कार्यक्रम कस्तो हुन्छ भन्ने गृह प्रशासनले आकलन गरेन। पूर्वतयारी गर्न र सम्भावित हिंसात्मक प्रदर्शनलाई निस्तेज पार्ने रणनीति बनाउन चुक्यो।
योजनामा सावधानी, सुरक्षामा खेलाँची
स्रोतका अनुसार, सुवेदीले एकातिर पूर्वराजा ज्ञानेन्द्रसँगको भेटघाट र राप्रपाका शीर्ष नेताहरूसँगको छलफललाई समानान्तर रूपमा अघि बढाएका थिए। ‘टेलिफोनबाट छलफल गर्दा गृह प्रशासनले निगरानी गर्ने भएकाले प्रत्यक्षरूपमै भेट्ने योजना बनाइएको थियो,’ राप्रपाका एक नेताले भने, ‘डिनर भेटघाटको निहुँमा छलफल हुन्थ्यो।’ सुवेदीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘दाइ’ सम्बोधन गर्छन्। लिङदेनले सुवेदीलाई ढाडस दिँदै भन्थे, ‘दाइको नेतृत्वमा मेरो कुनै आपत्ति हुँदैन।’ त्यस्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मि श्र, महामन्त्री धवलशमशेर राणा, हरि बस्नेतलगायत उनीसँग घरमै गएर भेटघाट गर्थे। पार्टी अध्यक्ष लिङ्देनको नेतृत्वमा वरिष्ठ नेताहरू अटाउन नसक्ने भएकाले नेतृत्व लिँदा धेरैको सहभागिता हुने सुझाएका थिए। पूर्वगृहमन्त्री कमल थापाले पनि सुवेदीलाई अघि बढ्न हौस्याएका थिए। राप्रपासँग चिढिएका दुर्गा प्रसाईंले पनि सुवेदीलाई उकासेका थिए।
आन्दोलनको अघिल्लो दिन चाबहिलमा गरिएको प्रेस मिटमा सुवेदीले राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी दिएका थिए। यी सबै परिघटनालाई गृहले गम्भीरतासाथ लिँदै लिएन।
कमान्डर कस्ता ? खोइ बुझेको ?
पूर्व योजनाअनुरूपै चैत १५ गते तीनकुनेमा मञ्च बनाउनभन्दा सडकमा प्रदर्शनकारीको भीड जम्मा गर्न मि श्र र राणा खटिए। जनकमान्डर घोषित प्रसाईं तीनकुनेचोक नजिकै एक घरभित्र भीडको प्रतक्ष्ीाामा बसे। जब भीड जम्मा हुन थाल्यो, प्रसाईं मञ्चमा पुगेर प्रदर्शनकारीतर्फ अवलोकन गरे। केही प्रदर्शनकारीले उनलाई फिल्डमै खटिन हौस्याए। त्यसपछि प्रसाईं गाडीमा चढेर प्रहरीसँग मुडभेड गर्ने उद्देश्यकासाथ स्टेरिङ घुमाउन थाले।
तीनकुनेमा फिल्डमा खटिएका एक प्रहरी अधिकृतका अनुसार, सुरक्षा नेतृत्वले प्रसाईंको चाबी खोस्न मात्र वाकिटकीबाट निर्देशन दिएको थियो। ती प्रहरी अधिकृतले भने ‘प्रसाईंको गाडीले प्रहरीको घेरा तोड्ने बेला चाबी खोस्न भन्दा टायरमा गोली हान्न आदेश दिएको भए जनधनको क्षति हुँदैनथ्यो ?’
राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतका अनुसार, प्रदर्शनलाई कसरी मुठभेडमा पुर्याउने भन्ने पूर्वयोजना बनाएको पाइयो। ‘मिश्र र राणाले भीडलाई अघि बढौं भन्दै माइकबाट एकत्रित गर्न लागे। भीड जम्मा भएका बेला घोषित योजनालाई मूर्तरूप दिने काम प्रसार्इंले गरे,’ अनुसन्धान विभागका ती अधिकृत भन्छन्, ‘सुवेदी र प्रसाईंको निगरानी गर्नेदेखि राप्रपाका नेताको भेटघाटसम्मको सूचना संकलन गर्ने काममा चुकियो। सबै घटना हेरेको हेर्यै भइयो।’
प्रसाईं कहाँ जालान् ?
- दीपक थापा, प्रहरी महानिरीक्षक
राजावादी भनिएकाहरूले चैत १५ गते शुक्रबार तीनकुने क्षेत्रमा आयोजना गरेको प्रदर्शन हिंसात्मक हुन पुग्यो। सुरक्षा निकायको प्रमुखका रूपमा यसलाई कसरी हेर्नु भएको छ ?
आपराधिक काम भएको छ। आपराधिक कार्यमा संलग्न रहेका विभिन्न तह र तप्काका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएका छौं। घटनामा संलग्नलाई दिनहुँजसो पक्राउ गरी कानुनी दायरामा ल्याइरहेका छौं।
हालसम्म कति जनालाई पक्राउ गरिएको छ ? अनुसन्धान के हुँदै छ ? र, मुद्दाको प्रकृति कस्तो छ ?
११ जनालाई राजद्रोहमा मुद्दा चलाउन अदालतबाट म्याद थप भएको छ। ४१ जनालाई आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको छ। सबैलाई कानुनी दायरामा ल्याउँदै छौं। आजै पनि ६ जनालाई पक्राउ गरिएको छ। भोलि म्याद थप गरेर अनुसन्धान अगाडि बढाउँछौं। प्रहरी अगाडि बढेको छ। 
जे जतिलाई पक्राउ गरिएको छ, काठमाडौं उपत्यकाभित्रैबाट पक्राउ गरिएको हो। कोही कोही त उपत्यका बाहिर पुगिसकेका होलान् नि ?
उपत्यकामात्र होइन सातै प्रदेश र ७७ वटै जिल्लाका प्र्रहरी प्रमुखहरूलाई निर्देश गरिसकेको छु। प्रचलित कानुन प्रयोग गरेर अघि बढेका छौं।
प्रदर्शनका कमान्डर घोषित दुर्गा प्रसाईं त फरार छन् नि ?
व्यापक खोजतलास गरिरहेका छौं। छिट्टै पक्राउ पर्छन्।
कहिलेसम्म भाग्न दिने ?
कति दिन भाग्लान् र ? भागेर कहाँ पो जालान् र ? कानुनी दायरामा आउनै पर्ला नि !
फेसबुकमै लाइभ भिडियो पोस्ट गरिरहेका छन् त ?
त्यो मलाई पनि थाहा छ।
उसो भए कहिलेसम्म पक्राउ पर्लान् ?
चाँडोभन्दा चाँडो पक्राउ पर्छन्। हामी लागिपरेका छौं।
तुरुन्तै नियन्त्रणमा लिनु पर्थ्यो
- हेमन्त मल्ल ठकुरी, पूर्वडीआईजी, नेपाल प्रहरी
प्रसाईंले जुन ढंगले गाडी चलाए । त्यो तत्कालै गरिएको निर्णय होला कि पूर्वयोजना होला ?
दुर्गा प्रसाईंले जुन किसिमले गाडी हाँकेको देखिन्छ, त्यो फिल्मी घटनाबाट प्रेरित देखिन्छ ।
चैत १५ को प्रदर्शन हिंसात्मक हुन सक्ने आकलन गर्न सुरक्षा निकाय चुकेको हो ?
हो । यो प्रदर्शन पूर्वघोषित थियो । प्रसाईंलगायतलाई निगरानीमा राख्नुपथ्र्यो । प्रदर्शन हुनु दुई÷चार दिनअघिका वक्तव्य हेर्नुहोस्् न । प्रदर्शन हिंसात्मक हुने आकलन त गर्न सकिन्छ नि ।
गाडीबाट ओर्लेका प्रसाईंलाई प्रहरीले तुरुन्त नियन्त्रण लिन चुक्दा अहिले फरार हुन सफल भए जस्तो लाग्दैन ?
प्रहरीले तुरुन्तै नियन्त्रणमा लिनु पथ्र्यो । के कुरा मिलेन ? त्यो थाहा भएन । पक्राउ गर्दा भीड झन् अराजक हुन्छ भन्ने सोचियो वा के भयो ? त्यो यकिनसाथ अहिले भन्न सकिएन । सायद प्रसाईंलाई नियन्त्रणमा लिँदा भीड झन् अराजक बन्छ भन्ने मनोविज्ञान रह्यो कि ? पछि पक्राउ गर्न सकिहालिन्छ भन्ने सोच भएर पनि हुन सक्छ । नियन्त्रण गर्न सकिने अवस्था हुँदाहुँदै पनि केही गरिएन ।
आन्दोलनमा कस्ता खालका व्यक्ति आउँछन् भनेर गृह प्रशासन वा सुरक्षा संयन्त्रले अनुमान त गर्नु पर्ने हो नि, होइन र ?
मुख्य कुरा नै यही हो ।
प्रदर्शनमा घुसपैठ भएको भनिन्छ । तपाईंलाई के लाग्छ ?
घुसपैठ भएजस्तो लाग्छ नै ।
सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय भएजस्तो लाग्छ ?
यस खालका प्रदर्शन हुँदा विगतमा सबै सुरक्षा संयन्त्रका प्रमुखहरूको गृहमा कमान्ड हुन्थ्यो । एउटा प्रमुख कमान्ड सेन्टर हुन्थ्यो । अर्को जिल्ला तहका सुरक्षा निकायका प्रमुखको कमान्ड हुन्थ्यो । यस किसिमको कमान्ड सेन्टर अहिले राखिन्छ वा राखिँदैन त्यो थाहा भएन ।
राजावादीको प्रदर्शनकै दिन भृकुटीमण्डलमा गणतान्त्रिक मोर्चाको प्रदर्शन थियो । जिल्ला प्रशासन कार्यालयले दुवैतिर एकै दिन अनुमति दिनु उपयुक्त थियो त ?
दुवैतिरको प्रदर्शनले सुरक्षा संयन्त्र बाँडियो । ठाउँठाउँबाट जुलुसहरू निस्किए । सबैतिर ध्यान दिनुपर्ने भयो । प्रदर्शनस्थल पनि हेर्नु पर्यो ।
प्रतिक्रिया दिनुहोस !