एनएसएलमा ललितपुरको पहिलो जित
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित दर्ता गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले पराजित गरेको हो।
खेलको ११औँ मिनेटमा ललितपुरले पहिलो गोल गरेको थियो। ललितपुरका लागि जोनाथन कान्टिलानाले हानेको कर्नर बक्सभित्र पोखराका गोलकिपर प्रिसोलाई लाग्दै गोल भएको थियो। पहिलो हाफको ४२औँ मिनेटमा पोखरा थन्डर्सले गोल फर्कायो। पोखराका लागि मार्की प्लेयर रहेका समीर तामाङले गोल गरे। आयुषको लानको क्रसलाई नवयुग श्रेष्ठले प्रहार गरेको बल ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले पूर्ण रूपमा क्लियर नगर्दा रिबाउन्डमा आएको बललाई समेतले गोलमा परिणत गरेका हुन्।
पहिलो हाफको थप गरिएको समयमा ललितपुरले पुनः एक गोल थप्यो। ललितपुरका लागि इमोह इजेकेलले गोल गर्दै पहिलो हाफमा ललितपुरलाई २-१ को अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफ निकै नै रोमाञ्चक बन्यो।
खेलको ७५औं मिनेटमा ललितपुरका लागि जोनाथन कान्टीलानाले गोल गर्दै ललितपुरको अग्रता ३-१ बनाएका हुन्। खेलको ७९औँ मिनेटमा ललितपुरका जोनाथनले कर्नरबाट हानेको बल कप्तान अनन्त तामाङले हेडर हानेका थिए जसलाई पोखराका जोई आइडुले गोललाइन नजिकैबाट क्लियर गरिदिए।
खेलको ८१औँ मिनेटमा पोखराको समिर तामाङको क्रसमा नवयुग श्रेष्ठले हानेको प्रहार ललितपुरका गोलकिपरले बचाए। यो गोल दिनुपर्ने पोखराका खेलाडी तथा बेन्चको माग थियो। गोल लाइनको निकै नजिकबाट ललितपुरका गोलकिपर बाल्टुसले बल क्याच गरेका थिए।
खेलको दोस्रो हाफमा १० मिनेटको समय थप गरिएको थियो। जसको अन्तिम मिनेटमा पोखराले दोस्रो गोल गर्यो। पोखराका लागि समिर तामाङले बक्सको दायाँतर्फबाट निकालेको क्रसमा जोए आइडुले उत्कृष्ट गोल गरे। पोखराका लागि आज नियमित कप्तान नवयुग श्रेष्ठ बेन्चमा थिए। उनले खेलको ३९औँ मिनेटमा विशाल तामाङलाई रिप्लेस गर्दै मैदान प्रवेश गरे।
आज पोखराको कप्तानी आयुष घलानले कप्तानको रूपमा सुरुवात गरेका थिए। यो पोखराको दोस्रो हार हो। पोखराले पहिलो खेलमा एफसी चितवनसँग २-० को हार व्यहोरेको थियो। ललितपुरले उद्घान खेलमा काठमाडौं रेजर्ससँग २-२ बराबरीको खेल खेल्दै अङ्क बाँडेको थियो।
प्रतिक्रिया दिनुहोस !