साँच्ची, त्यो लासले के सोच्दो हो ?
छिमेकी त मर्दा–पर्दाका साथी र सहयोगी हुनुपर्ने। सँगैको घरमा मान्छे मरेको छ। घरका मान्छे शोकमा परेका छन्, दुःखमा परेका छन्। शोकाकुल छन्। म छक्क पर्दै यताउता नियाल्न थाल्छु।
केही दिनअघि एकजना साथीको आमाको निधन भयो। खबर पाएपछि म साथीको घरमा गएँ। काठमाडौंको मध्यसहरमै छ साथीको घर। तर त्यो नयाँ बस्ती हो। देशभरका मान्छे त्यहाँ घर बनाएर बसेका छन्। मेरो साथीले पनि पुरानो ठाउँ छोडेर त्यहाँ नयाँ घर बनाएका हुन्।
म पुग्दा घर–कम्पाउन्डको ढोका खुलै थियो। घरको आँगनमै थियो, साथीको आमाको पार्थिव शरीर अर्थात् लास। हो, त्यो लास नै थियो। किनभने अब त्यसमा सास थिएन। पीताम्बर ओढाइएको लासमाथि केही पुष्पगुच्छाहरू थिए। लासको दायाँ–बायाँ र अगाडि–पछाडि सुगन्धित धुप बालिएको थिए। धुपको मीठो सुगन्धले घर–आँगन मगमगाइरहेको थियो। तर त्यो मीठो सुगन्धले मनलाई आनन्द दिन सकिरहेको थिएन। किनभने त्यहाँ मृत्युको शोक थियो। मान्छेहरू शोकाकुल थिए। शोकमा आनन्दको महसुस गर्ने छुट हुँदैन। शोकमा पीडा हुन्छ। पीर हुन्छ। पीडा र पीरको बेलामा कुनै कुराको आनन्द महसुस हुँदैन।
साथी र साथीको दाइ लास अगाडि मलिन अनुहारमा उभिराखेका थिए। सम्भवतः घरका महिलाहरू घरभित्रै थिए, शोकमा डुबेका। हुर्केका केटाकेटीहरू देश–विदेशमा थिए। घर सुनसान थियो। वातावरण चकमन्न थियो। घरको चौघेराभित्र सन्नाटा थियो। तर घरको पर्खालबाहिरको अवस्था सामान्य झैं थियो। कुनै घरको भान्साबाट कुकरको सिट्ठी बजिरहेको थियो। कुनै घरमा रोमान्टिक गीत बजिरहेको थियो। कुनै घरबाट मान्छेका गुनगुन सुनिँदै थियो। सँगैको एउटा घरमा त संगीतको रियाज पनि हुँदै थियो। बाजागाजा पनि बज्दै थियो। हाम्रो गाउँघरमा त एउटा घरमा शोक पर्दा सिंगै गाउँ शोकमग्न हुन्छ अहिले पनि। थाहा छैन भोलि के हुन्छ। सहरमा त एउटा घरमा शोक पर्दा सँगैका अरू घरहरूमा उत्सव मनाउन नछाड्ने रहेछन्। सहरको संवेदनहीनता देखेर मलाई अचम्म लाग्यो।
म अचम्मित हुँदै यताउता हेर्छु। घर–कम्पाउन्डको ढोका खुल्लै थियो। बाहिरबाट आँगनको दृश्य सजिलै देख्न सकिन्थ्यो। बाटोमा मान्छेहरू ओहोरदोहोर गर्दै थिए। मान्छेहरूभित्रको दृश्य हेर्दै जान्थे। तर कोही रोकिँदैनथे। कोही भित्र पस्दैनथे। कसैले केही भन्दैनथे। कसैले केही बोल्दैनथे। सबै आआफ्ना सुरमा थिए। आआफ्नै तालमा थिए। सबै व्यस्त थिए। सबै अभ्यस्त थिए। सबै आआफ्नै सुरतालमा मस्त थिए। रोकिने फुर्सद कसैलाई नभएजस्तो। बोल्ने फुर्सद कसैलाई नभएजस्तो। सहानुभूतिका शब्दहरू नै नभएजस्तो। संवेदना नै हराएजस्तो। मानवीयता नै विलिन भएजस्तो।
म छक्क पर्दै यताउता नियाल्न थाल्छु। सँगैका घरका मान्छेहरू आआफ्नै सुरमा थिए। पर्खाल जोडिएको घरमा मान्छे मरेको खबर उनीहरूलाई नभएजस्तो। खबर भएर पनि मतलब नगरेजस्तो। छिमेकी त मर्दा–पर्दाका साथी र सहयोगी हुनुपर्ने। सँगैको घरमा मान्छे मरेको छ। घरका मान्छे शोकमा परेका छन्, दुःखमा परेका छन्। शोकाकुल छन्। यस्तो बेलामा साथी र सहयोगीको भूमिका निभाउनुपर्ने छिमेकीहरू बेखबर छन्। बेमतलब छन्। रगतको नाता नभए पनि छिमेकीको नाता छ। जातको सम्बन्ध नभए पनि मानवताको सम्बन्ध छ। यस्तो नाता–सम्बन्धलाई मान्छेले बेवास्ता गरेका छन्। दुःखमा परेकालाई साथ दिन र मरेकालाई काँध दिन तयार हुनुपर्ने छिमेकी थाहै नपाए झैं बसेको देखेर मलाई अचम्म लाग्यो।
मानिस सामाजिक प्राणी हो। मानिसको स्वभाव समाजमा मिलेर बस्नुपर्छ भन्ने हुन्छ। केही हदसम्म मिलेरै बसेका हुन्छन्। कहिलेकाहीँ साँध–सिमाना र बोली–व्यवहारका निहुँमा झगडा नै परे पनि मनको तिक्ततालाई बिर्सेर मिलेरै बसेका हुन्छन् छिमेकीहरू। छिमेकीलाई मर्दा–पर्दाका साथी÷सहयोगी पनि भनिन्छ। साँध–सिमाना नापेर पर्खाल लगाए पनि त्यो पर्खालभित्र र बाहिर बसेर गफगाफ हुन्छ छिमेकीसँग। त्यही साँध–सिमानाकै निहुँमा कहिलेकाहीँ झगडा पनि हुन्छ। बोलचाल बन्द पनि हुन्छ। तैपनि मर्दा–पर्दा हाम्फालेर आउँछन् छिमेकी। नबोलेकै भए पनि फेरि बोल्छन् र परेको सहयोग गर्छन्। सुखदुःख बाँड्छन्। त्यसैले नेपाली समाजमा छिमेकीको भूमिकालाई विशेष महŒवका साथ लिने–हेर्ने गरिन्छ। तर पनि सहरमा किन यस्तो ?
सहरका मान्छे शिक्षित छन्। सभ्य छन्। संसार देखेका छन्। संसार बुझेका छन्। संसारका समाज र संस्कृति पढेका छन् र बुझेका छन्। तैपनि व्यवहार किन यस्तो ? सोधूँ, कसलाई सोधूँ र कसरी सोधूँ ? चुप लागेर बस्न मनले मानिरहेको छैन। सहरको यो संवेदनहीनताले मनमा बारबार चिमोटिरहेको छ। मर्दा–पर्दा स्वतःस्फूर्तरूपमा सहयोगी हात बनेर आउनुपर्ने छिमेकी नआएको कुरा शोकमा परेको साथीलाई म कसरी सोधूँ ? मनमा उठेको प्रश्नलाई मनमै दबाएर म साथीसँगै उभिइरहें लासको अगाडि। लासले सोच्न सक्ने भए के सोच्दो हो सहरको यो संवेदनहीनताका बारेमा ?
लास लमतन्न परेको छ। मानौं, सुतेजस्तो र आनन्दले निदाएजस्तो। यसो त चिरनिद्रामा निदाएपछि नै मान्छे लास बन्ने हो। म त्यो चिरनिद्रामा निदाएको लासलाई हेरेर टोलाइरहन्छु। बाँचुन्जेल दाया–बायाँ हिँड्नेहरू जति भए पनि मरेपछि आफ्नै सन्तानबाहेक कोही नहुने रहेछ। त्यो क्षणमा मलाई यस्तै सत्यको बोध भयो।
छिमेकी कसैले झ्यालबाट चियाएको देखिनँ। पर्खाल नाघेर कोही निसंकोच भित्र आएको पनि देखिनँ। सँगैको घरमा मान्छे मरेको छ। तर छिमेकीका लागि केही भएकै छैन जस्तो छ। कोही मरेकै हैन जस्तो छ। वातावरणमा सन्नाटा छ। जसको आमा मरेको छ, उसको मनमा झन् बढी सन्नाटा छ। उर्लेको छ त दुःख, पीर र वेदनामात्रै। त्यो दुःख, पीर र वेदनामा सान्त्वना दिन र सहानुभूति दिन कोही छिमेकी मल्हम बनेर आएका छैनन्।
सहरचाहिँ किन यति धेरै अमानवीय, असंवेदनशील र संवेदनहीन बनेको ?
मान्छे दुःखमा पर्दा पनि दुःख नलाग्ने। पीर र पीडामा पर्दा पनि सहानुभूति नजाग्ने। मृत्युको शोकमा पर्दा पनि संवेदना नजाग्ने। मान्छे किन यति धेरै संवेदनहीन बनेका ? मान्छे किन यति धेरै अमानवीय बनेका ? हो, संसार व्यक्तिवादी र भौतिकवादी बनेको छ। प्रतिस्पर्धी समयले नै यस्तो हुन सिकाएको छ। तैपनि यो व्यक्तिवाद र भौतिकवादले मान्छेलाई यति धेरै असंवेदनशील र अमानवीय बनाएको देख्दा अचम्म लाग्छ। अपसोच लाग्छ।
सडकमा दुर्घटना हुन्छ। घाइतेलाई तत्काल उद्धार गरी समयमा अस्पताल पुर्याउन छाडेर मान्छेहरू कोही तमासे बन्छन्। कोही भिडियो र सेल्फी खिच्न थाल्छन्। यस्तो अकर्मण्यता र असंवेदनशीलताले मान्छेको सामाजिक आचरणमाथि प्रश्नचिह्न लाग्दै आएको छ। कहिलेकाहीँ सडकमै मान्छे लडेका हुन्छन्। मान्छेहरू जँड्याहा भनेर बेवास्ता गरेर हिँड्छन्। जाँड खानेहरू सबै सडकमा लडेका हुँदैनन्। सडकमा लडेकाहरू सबै जँड्याहा पनि हुँदैनन्। भोकले लडेका हुन सक्छन्। रोगले लडेका हुन सक्छन्। यति पनि नसोची मान्छे सडकमा लडेको मान्छेलाई बेवास्ता गरेर हिँड्छन्। हिँड्न सक्छन्। कस्तो संवेदनहीनता ! कस्तो निर्दयी मन !
गाउँमा त अझै पनि एउटा घरमा मान्छे मर्दा घरको आँगनमा गाउँभरिका मान्छे भेला हुन्छन्। शोकमा परेकालाई सान्त्वना दिन्छन्। सहानुभूति दिन्छन्। संवेदना व्यक्त गर्छन्। सहयोगी हात बढाउँछन्। शोकमा परेकालाई साथ दिन्छन्। मरेकालाई काँध दिन्छन्। सहरचाहिँ किन यति धेरै अमानवीय, असंवेदनशील र संवेदनहीनबनेको ? सहरबाट संवेदना हराउँदै गएको देखेर यस्तो लाग्छ कुनै दिन मानवता पनि हराउनेछ। संवेदना र मानवता हराएको सहर कस्तो होला ? सायद सहर र जंगलमा भिन्नता नै बाँकी नरहला। यस्तो कल्पनामात्रैले पनि कहाली लागेर आउँछ।
समयका पलहरू बित्दै गए। साथीका आफन्तहरू क्रमशः आउने थाले। आफ्नो कल्पना र सोचलाई थाँती राखेर म साथीसँगै उभिएर आगन्तुकहरूतर्फ हेर्न थालेँ। आगन्तुक सबै अनुहारमा दुःखको भाव देखिन्थ्यो। मृत्युको शोकप्रति गहिरो संवेदना देखिन्थ्यो। कोही भन्दै थिए, ‘के गर्नु, संसार यस्तै छ।’ मलाई पनि त्यस्तै लाग्यो। हो, संसार यस्तै छ। मृत्यु जीवनको अन्तिम सत्य हो।
अनि यो संवेदनहीनता पनि अहिलेको यथार्थ हो। सहरको एउटा घरमा मान्छे मरेको छ। तर सिंगै सहरमा मानवता मरेको छ। कसले बनायो र केले बनायो मान्छेलाई यति धेरै असंवेदनशील, अमानवीय र संवेदनहीन ? छिमेकी आफ्नो भूमिका निर्वाहबाट किन भाग्दैछ, लुक्दैछ र चुक्दैछ ? शोकमग्न परिवारसामु उभिइरहँदा मेरो मनमा यावत् प्रश्नहरू उब्जिरहे।
अन्त्यमा, हिँड्ने बेलामा मैले साथीलाई भनें, ‘पीर नलिनू। सबैले यस्तो मृत्युको शोक भोग्नुपर्छ। सबैले एकदिन मर्नुपर्छ। सबैले यस्तो नियति भोग्नैपर्छ।’अघिसम्म चुपचाप बसेको साथी भक्कानिएर रुन थाल्यो। आँखाबाट बर्बर्ती आँसु झार्न थाल्यो। मैले पनि मन थाम्न सकिनँ। मुटुमा भक्कानो फुटेर आयो। अनि म पनि रुन थालेँ। आँखाबाट बर्बर्ती आँसु झरे। रोएपछि मन हलुका भएको महसुस भयो। सायद आँसुले पीर बगाई लग्यो। मैले मनमनै सोचें, साथीलाई पनि यस्तै महसुस भयो होला।
प्रतिक्रिया दिनुहोस !