जब्बर सामाजिक सञ्जाल

जब्बर सामाजिक सञ्जाल
सुन्नुहोस्

जोसुकै पनि नेपालका नियम पालना गरेरमात्रै यहाँ सञ्चालन हुनुपर्छ । तसर्थ सामाजिक सञ्जाल दर्ताको प्रक्रियालाई सरकारले सफल बनाउन सक्नुपर्छ ।

फेसबुक, एक्स, इस्टाग्राम, ह्वाट्सअपजस्ता सामाजिक सञ्जालहरू विश्वमा मात्रै होइन, नेपालमा पनि प्रचलित छन् । तर, तिनको नियमन छैन । नियमनका लागि सरकारले ती प्लेटफर्महरूलाई दर्ताको आह्वान गरेको छ । तर, ३० दिनको म्याद घर्किंदा पनि टेरेको देखिन्न । केही समयअघि नेपालको कानुन पालना गर्ने प्रतिबद्धता गरेयता टिकटकचाहिँ पुनः सञ्चालनमा छ ।

फेसबुक वा युट्युबलगायत सञ्जाल नेपालीले चलाउनेमात्रै होइन, त्यसमार्फत व्यापार व्यवसाय पनि गरिरहेका छन् । अनि ती प्लेटफर्मले पनि नेपालबाट मनग्गे विज्ञापन आम्दानी गरिरहेका छन् । तर, सरकारले कर संकलन गर्न पाएको छैन । अर्काे कुरा सामाजिक सञ्जालमार्फत थुप्रै आपराधिक गतिविधि पनि भइरहेका छन्, जसलाई नियन्त्रण गर्न कानुन अभाव पनि छ । तसर्थ तिनलाई नेपालमा दर्ता गर्न र सम्पर्क अधिकारी राख्न सरकारले गरेको पहलकदमी आवश्यक र औचित्यपूर्ण छ । 

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका नेपालमा छ । त्यसअनुसार ती प्लेटफर्मले नेपालमा सम्पर्क अधिकारी तोक्ने र दर्ता हुने प्रक्रिया पूरा गर्नु अनिवार्य छ । तर, सानो मुलुक भनेर हेपेर हो या के हो फेसबुक र ह्वाट्सअपको माउ संस्था मेटाले वास्तापास्ता गरेको छैन । ऊ अधम बन्छ भने सरकारले बन्दै गराउने पनि भनेको छ, त्यसको सम्भवतः विरोध हाम्रै देशभित्रबाट पनि हुने होला तर सरकारको मनसाय नियमन गर्ने हो देखिँदा त्यसलाई अन्यथा मान्नु हुँदैन । युरोपेली संघमा सामाजिक सञ्जालको नियमन छ । नियम उल्लंघन गरे करोडौं युरो जरिवानाको व्यवस्था छ । भारतमा पनि सामाजिक सञ्जाल नियमन गरिएकै छ । अमेरिका वा बेलायतले पनि छाडा छोडेका छैनन् । 

हो, अचेल अभिव्यक्ति स्वतन्त्रताको भरपुर उपयोग सामाजिक सञ्जालबाट भइरहेको छ, तर उपयोगसँगै दुरुपयोग पनि छ, जसलाई सरकारले नियमन गर्न खोज्नु विधिकै शासनका लागि हो । हालै नेपालमा उपद्रव मच्चाएर भारतमा लुकेका दुर्गा प्रसाईंलाई त्यहाँको प्रहरीले उनको फेसबुकको लाइभ लोकेट गरेर पत्ता लगाउन सकेको कुरा यहाँ मननीय छ । 

फेसबुकले त्यस्ता आपराधिक गतिविधि रोक्न त्यहाँको सरकारी नियमको पालना गरेको छ, तर हामीकहाँ ऊ सूचना दिइरहेको छैन र समाजमा अराजकता मच्चाउन सहयोगी बन्छ भने नियमनका लागि सरकारले प्रयास गर्नु राष्ट्र हित अनुकूल नै मान्नुपर्छ । स्वतन्त्रता निरपेक्ष हुँदैन । विचारको अभिव्यक्तिको सशक्त माध्यम सामाजिक सञ्जाल हो तर, त्यो निरपेक्ष र नियमनबाहिर हुन सक्दैन । राज्यभित्रै रहेर ससाना पेसा, व्यापार व्यवसाय गर्नेहरूलाई नियम लाग्ने र अन्तर्राष्ट्रिय ज्वाइन्ट कम्पनी हो भन्दैमा उनीहरूलाई नलाग्ने भन्ने हुँदैन ।

जोसुकै पनि नेपालका नियम पालना गरेरमात्रै यहाँ सञ्चालन हुनुपर्छ । तसर्थ सामाजिक सञ्जाल दर्ताको प्रक्रियालाई सरकारले सफल बनाउन सक्नुपर्छ ।  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.