फर्क न हौ अब

फर्क न हौ अब

बिहानको झिसमिसे उज्यालोसँगै मर्निङ वाकको क्रममा निस्किएकी थिएँ।  अलि पर मेरा आँखा केही मानिसहरूको भीडमा अल्मलियो। भीडलाई छिचोल्दै नजिक पुगें।   त्यहाँ एकजना अधबैँसे पुरुष घोप्टो परेर लड्नु भएको रहेछ। भीडबाट कसैले पुलिस र कसैले एम्बुलेन्सलाई फोन गरिसकेका थिए।  उक्त लडेका व्यक्तिलाई कसैले चिनेनन्।  ऊसँग फोन छ कि भनेर नियालेँ फोन भेटियो तर अन्लक भएन।  उतैबाट कसैको फोन आउँला कि भनी हेरिरहेँ। यत्तिकैमा पुलिसको गाडी एम्बुलेन्स लिएर आयो।  बेहोस भई ढलेका व्यक्तिसँगै हामी दुई–तीनजना हस्पिटल गयौं, मानवताको नाताले।  पर्खेर बस्ने क्रममा भित्रबाट खबर आयो ‘हि इज नो मोर’।  मैले समातेको फोनमा घण्टी बज्यो हत्त न पत्त उठाएँ।  ए हजुर किन आज ढिला भयो महिला आवाज सुनें मैले। सबै बेलीविस्तार सुनाएँ।  कुरा सुन्ने क्रममा जानकारी भयो, उक्त व्यक्तिको सबै छोराछोरी विदेशमा रहेछन्।  मैले फोनमा सुनाउनै सकिनँ। उहाँ सदाका लागि कहिल्यै नउठ्ने गरेर ढलिसक्नु भएको रहेछ। 

मैले उक्त फोन पुलिसको हातमा थमाउँदै बाँकी कुरा अगाडि बढाउन अनुरोध गरें।  

कस्तो विडम्बना।  अब यो बाकसभित्रको लासले कति दिन कुर्नुपर्ने हो दागबत्तीको आसले। मेरा पनि आँखा रसाए, मान्छेले व्यक्त गर्न नसकेको कुरा आँसुले भनिदिन्छ। चाहे त्यो दुःखको होस् या खुसीको, आँसुका बलिन्द्र धारामा दिनरात डुबेका आफ्ना सन्ततिप्रतिको माया भरोसा र विश्वासको मियो ढलेको छ।  मेरो कोमल नारी मन पनि भित्रभित्रै रोइरह्यो। 

उक्त दिनको बेलुकी एउटा पारिवारिक जमघटको माहोल थियो।  अमेरिकाको बसाइलाई बिट मार्दै नेपालमै केही गर्नुपर्छ भनी सरसल्लाह गर्न निम्तालुको रूपमा म पनि सहभागी थिएँ।  उहाँहरू स–परिवार नै आफ्नो बाँकी जीवन नेपालमै व्यतित गर्ने प्रण गरी फर्कनु भएको थियो।  उक्त जमघटमा सपरिवार मात्र होइन दुई वटी छोरी र ज्वाईंलाई समेत नेपाल फर्काउने प्रयास भइसकेको थियो।  मैले उक्त परिवारको अनुहार, व्यवहार र शैलीमा धेरै खुसी देखें।  त्योभन्दा पनि ठूलो कुरा उहाँले नेपाल आमाका दुई सपूतलाई पनि नेपाल फर्काउनु भएको कुराले म धेरै खुसी थिए।  जुन परिवारको छोराछोरी उच्च शिक्षा हासिल गर्न अथवा रोजगारीको कारण बिदेसिएका छन् ती घरमा खुसीका किरणहरू फर्किएको महसुस गरें। 

धेरैजसो रोगले ग्रसित अस्पतालको बेडमा आफ्नो मनको अन्तरद्वन्द्वसँग लडिरहेका आमाबुवा र घरपरिवारको आँसु पुछ्ने कोही पनि नभएको मैले देखेको छु। बाध्यता र बिछोडको भुँमरीका बीचमा ब्यँुझिँदा भिजेका सिरानीले र चिराचिरा परेका मुटुहरूको पर्खाइमा ओछ्याएका आँखाहरूले निराशाको प्रमाण पेस गरेको धेरै देखिरहेको थिएँ।  किन बोल्न सकेका छैनन् मेरा पनि ओठहरू र किन चल्न सकेका छैनन् मेरा कलमहरू।  यही सिलसिलामा ती छटपटिरहेका मुटुहरूमा मल्हम लगाउने कोसिस गर्दैछु कलमको माध्यमले।  केही यथार्थ र सत्यताको दियो बाल्ने र बाँच्ने आशाहरूलाई लम्ब्याउने कोसिस पनि गर्दैछु।  

विगत लामो समयदेखि वैदेशिक भूमि अमेरिकामा बस्दै आउनु भएका हेम सरिता पाठक त्यहाँ संघर्षका पसिनाबाट सिञ्चित गर्दै सफल व्यवसायी र समाजसेवी, प्रतिष्ठित नेपालीमध्येकै सूचीमा हुनुहुन्थ्यो। उहाँले नेपालमा शिक्षा र स्वास्थ्यका लागि, भ्रष्टाचार उन्मूलनसम्बन्धी धेरै सेवामूलक कार्यहरू गर्नुहुन्थ्यो। नेपालमा मौलाएका राजनीतिक विसंगतिप्रति कलम पनि चलाउनुहुन्थ्यो।  अब हामी विदेशको भूमिमा धेरै बस्यौं पढ्यौ जीवन जिउने कला सिक्यांै, समयको चक्र बुझ्यांै। साथै आफ्नो मातृभूमिप्रतिको प्रेम कर्तव्य र दायित्व पनि बुझ्यांै। अब हामी नेपाल नै फर्कनुपर्छ भन्ने प्रण गर्दै आफ्नो पुनरागमनसँगै दुई होनहार नेपाल आमाका छोरा मातृभूमिमै जिम्मा लगाउनु भएको छ।  मातृभूमिप्रतिको प्रेमले अभिप्रेरित जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भन्ने उहाँको सोचप्रति हार्दिक नमन। 

के साँच्चै नै आमाबुबाको मृत्युपछि अन्तिम क्रियाकर्मको लागि छोराछोरीकै हातबाट लासमाथिको दागबत्तीकै आस मात्र हो ? अब कर्तव्य र भूमिकाको जिम्मेवारी सम्हाल्न सपनाको संसारलाई बिट मार्दै पुनः स्वर्गीय संसारमा फर्किनु सबैको दायित्व होइन र ?       

हो आज नेपाल रित्तिन लागिसकेको छ। सुन्दर भविष्यको सपना बुन्दै दैनिक हजारौ संख्यामा बिदेसिनेहरूको ताँतीले सबैको मन रुवाएको छ।  सधैंझैं चाडपर्वमा अधुरा हाँसो र कुडिएको अमिला मनकोे सम्झनाले धेरैको मन आत्तिएका छन्। 

हो साँच्ची नै आमाको दूधको भारा, बुवाप्रतिको कर्तव्य र परिवारको जिम्मेवारी त तिमीले तिरौला किस्ताबन्दीमा।  तर तिमी जुन धर्तीमा जन्मियौ त्यो धर्तीमाताको भारा कसरी तिर्छौ ?

फर्क न हो अब, तिम्रो देश त रित्तिन लागिसक्यो ?        तिमीलाई आफ्नो मातृभूमिले पर्खिरहेको छ खोजिरहेको छ।  अब त ढिला नगर। हुन त तिमीहरू पनि विदेशी भूमिमा सुनौलो भविष्यको कल्पनामा धेरै चुनौतीहरूको सामना गर्दै बसिरहेका होलाऊ। तिम्रा पाइला, मनमस्तिष्कहरू ती चिल्ला बाटामा ब्रेक नलागी गुडे सरह नै गुडिरहेका होलान्।  अनेकौ सम्झौतासँग साटेको होला जीवनको चक्र।  दैनिक बट्टामा प्याक गरेको खाना लिएर गगनचुम्बी महलमा रोजीरोटीको लागि घडीको सुईले जस्तै घण्टे जीवनमा तिमी पनि कहाँ खुसी हौला र ? तर पनि तिम्रा सपना साकार पार्न बुनेको मनको महल खडा गर्ने क्रममा बलिन्द्र पसिनाका धारासँगै आँसुको घुट्को पनि पाइलापाइलामा पिएर हिँडेका होलाऊ।  

युवा हो तिमीले उच्च शिक्षा र वैदेशिक रोजगारीमै तिम्रो भविष्य देख्छौं भने तिम्रो भविष्यले सपनाको महलको जगको संरचनाका जालोहरू यति फिजिएको छ कि सजिलो त पक्कै हुँदैन तोड्नलाई।  त्यो मनभित्र अथाह आँधी र हुरीबतास चली नै रहेको छ।  सपना सजाएर सुत्ने बेलामा अनेकौ कोसिस गर्दागर्दै आँखाका परेली लुकामारी गर्दै सुस्ताउनु यथार्थ हो। 

हे युवा हो सपनाको संसारको भुँमरीमा रुमलिएको जीवन अनि अनेकौं पीडाको भारी बोकेको भरिया हौ तिमी।  थाहा छैन दुःख बिसाउने चौतारी पहिला आउँछ कि जिन्दगी बिसाउने ! जिन्दगीले कहिलेकाहीँ यस्तो ठाउँमा पुर्‍याइदिँदो रहेछ जहाँ मन खोलेर हाँस्न भाग्यले दिएन र डाँको छोडेर रुन तिम्रो स्वाभिमानले दिएन।  

तिम्रा सपनालाई सजाउने क्रममा कयौं पटक हामी पनि साक्षात्कार भयौं होला। खुसीको किरणसँगै उज्यालो थप्ने क्रममा रोशनीको दियो बाली तिमी हिँड्ने बाटो चहकिलो पारेको पनि नभुल। लासमाथि दिने दागबत्तीका लागि मात्र हैनौं तिमी। तिमीसँग जोडिएको सिंगो संसार छ।  निराशा र अभावको खाडल पुर्न फर्क, आऊ सँगै मिलेर दियो बालौं।  हिम्मतका पाइलाका डोबहरू खन्न नेपाल फर्क।  ऐ युवा तिम्रो गाउँ शून्य भएका छन् मर्दा मलामी र बाँच्दा जन्ती पनि भेटिन छोडिसकेका छन्।  कयौं बस्तीहरू सुनसान भएका छन्।  भुमी बन्जर र खेत बाँझै भइसकेका छन्।  हाम्रो मन बाँझो नबनाऊ।  माया र विश्वासको खेतीपाती गर्न बिउ रोपौं फेरि।  उजाड हुन दिन हुन्न, हाम्रै धर्तीमा बगाउँ पसिना र फलाउ अनाजरूपी मोती। 

हरेक पटक हावाको मात्र दोष हुँदैन कहिलेकाहीँ त दियो तेलको कमीले पनि निभेको हुन्छ।  तसर्थ निभ्न लागेको दियोमा तेल थप्न आऊ।  फर्क युवा तिम्रो देशलाई स्वर्ग बनाऊँ, पसिनाले सिँचेर नसके घरलाई मन्दिरै भए पनि बनाऊ।  गगनचुम्बी हिमाल यही छन्।  तराईका फाँट र चारकोसे झाडी यही छन्।  पहेँला धानका बाला झुलाऊ हरिया वन जंगल र प्रकृतिको काखमा रमाऔं फर्क युवा अब त देश नै रित्तो हुन लागिसक्यो।  दागबत्तीका लागि मात्र होइनौं तिमी ...।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.