वडाध्यक्षहरू महिनौंदेखि विदेशमा,वडावासीलाई सेवामा सास्ती

वडाध्यक्षहरू महिनौंदेखि विदेशमा,वडावासीलाई सेवामा सास्ती
सुन्नुहोस्

गोरखा : सिरानचोक गाउँपालिका–५ विगत १० महिनादेखि वडाध्यक्षविहीन छ। वडाध्यक्ष ठानेश्वर पोखरेल गत असारमा बर्खे अधिवेशन सकेर अमेरिका गएदेखि अहिलेसम्म अनुपस्थित रहेको स्थानीय विष्णु पोखरेलले जानकारी दिए।

लामो समयदेखि वडाध्यक्ष अनुपस्थित भएपछि स्थानीयले वडाध्यक्षको खोजी गरी दिन माग गर्दै गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई ज्ञापनपत्र पेस गरेका छन््। 

‘गत असारमा वडासदस्य रामचन्द्र पोखरेललाई कार्यवाहक तोकेर अमेरिका जानु भएको थियो’, उनले भने, ‘गत माघमा आएर फेरि उहाँलाई नै असारसम्मका लागि कार्यभार सुम्पिएर जानुभएको रहेछ। अरूलाई कार्यभार दिएर यत्तिका लामो समय हराउँदा वडावासी अन्यायमा परेका छौं।’ जनताको काम गर्छु भनेर भोट माग्ने, चुनाव जित्ने अनि अर्कालाई कार्यवाहक दिएर विदेशमा बस्नु न्यायोचित नहुने स्थानीयको भनाइ छ।

वडाध्यक्ष पोखरेल बिना जानकारी लामो समयदेखि सम्पर्कविहीन भएको गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए। ‘ज्येष्ठ वडासदस्य रामचन्द्र पोखरेललाई कार्यवाहक दिनुभएको रहेछ, तर गाउँपालिकालाई कुनै जानकारी छैन’, गुरुङले भने, ‘मैले नै धेरै पटक सम्पर्क गरेर सोधपुछ गर्ने प्रयास गरेँ, तर सम्पर्क हुन सकेको छैन।’ 

धार्चे गाउँपालिका–६ काशीगाउँ पनि विगत ८ महिनादेखि वडाध्यक्षविहीन छ। वडाअध्यक्ष धनकुमार घलेले अर्कालाई कार्यवाहक सुम्पिएर बेलायत गएपछि आफूहरू अभिभावकविहीन भएको वडावासीको गुनासो छ। ‘रवीन्द्र घलेलाई कार्यवाहक दिएर भदौ १२ गतेदेखि उहाँ बेलायत जानुभएको हो, अहिलेसम्म फर्कनु भएको छैन’, स्थानीय कान्ते गुरुङले भने, ‘जनताको सेवा गर्छु भनेर भोट माग्ने, चुनाव जित्ने अनि पिठ्यूँ फर्काएर हिँडेपछि हामीलाई समस्या भएको छ।’ साना, ठूला सबै समस्या समाधान गर्न वडाध्यक्षको आवश्यकता पर्ने भन्दै उनले भने, ‘कार्यवाहक त कामचलाउ मात्रै हो। वडाध्यक्ष नभएपछि हाम्रो वडा धेरै समस्यामा परेको छ।’

लामो समयदेखि वडाध्यक्ष अनुपस्थित हुनुको कारण र उपस्थित हुने नहुनेबारे स्पष्ट खुलाई पठाउन गाउँपालिका कार्यालयले वडा कार्यालयलाई पत्राचार गरेको थियो। तर, जवाफ नआएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए। ‘वडाध्यक्ष अनुपस्थित हुँदा धेरै समस्या आएको भनेर जनगुनासो धेरै आएपछि हामीले वडाध्यक्ष आउने कि नआउने, आउने हो भने कहिले आउने हो भनी सत्यतथ्य लेखिपठाउन वडा कार्यालयमा पत्र पठायौं’, गुरुङले भने, ‘एक साताभित्र जवाफ पठाउन भनेका थियौं, तर दुई महिना भइसक्यो, केही जवाफ आएको छैन।’ 

वडाध्यक्ष लामो समयदेखि अनुस्थित भएको बारे जिल्ला समन्वय समितिमा पनि जानकारी गराइसकेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.