अब गठबन्धनमा जाने र समर्थन गर्ने त कुरै हुँदैन : प्रचण्ड
विराटनगर : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका सवालमा दलहरूबीचमा कहिल्यै पनि विमति नरहेको बताएका छन् ।
‘गणतन्त्रमा त हामी त्यसै पनि एक छौं, यसै पनि एक छौं । गणतन्त्रकै निम्ति लडेर यहाँसम्म आएका हौं,’ उनले भने । उनले गणतन्त्र गम्भीर खतरामा पर्यो भनेर सोच्न आवश्यक नरहेको बताए । विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले जनमत र जनाधारका दृष्टिकोणले गणतन्त्रमाथि कुनै खतरा आएको भनेर सोच्न आवश्यक नभएको बताएका हुन् ।
‘पहिलो कुरा अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न जरुरी छैन । जनाधार र जनमतको दृष्टिकोणले पनि अहिले दलहरू चाँहि गणतन्त्रको रक्षाको निम्ति एक हुनैपर्ने, नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक छैन,’ प्रचण्डले भने ।
अहिलेको गठबन्धनलाई माओवादीको समर्थन नरहने प्रचण्डले स्पष्ट पारेका छन् । शनिबार ३ दलका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको प्रचण्डले बताए । छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उनको भनाइ छ ।
छलफललाई लिएर वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको भन्दै उनले खण्डन गरे । ‘अहिलेको गठबन्धनलाई समर्थन होइन । त्यो विल्कुल होइन । त्यो भ्रम नपरोस् । हिजो भेटेपछि लौ समर्थन भयो रे । फेरि गठबन्धनमा जाने भयो कि क्या हो ? जस्तो चर्चा भएको छ । त्यो विल्कुल गलत हो । त्यो गठबन्धनमा जाने र समर्थन गर्ने कुरा हुन सक्दैन,’ उनले भने ।
प्रचण्डले गणतन्त्र नामले नभइ कामले बच्ने बताए । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनको भनाइ छ । राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने प्रचण्डको दाबी छ ।
‘राजनीतिमा आउने इच्छा भयो भने केहीले रोक्दैन । हाम्रै उपराष्ट्रपतिले पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहनु भयो । तर, गणतन्त्र सृदृढ हुँदै जानुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने हैन । नामले नभइ कामले बच्नुपर्छ,’ उनले भने । जनमत गणतन्त्रकै पक्षमा रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको प्रचण्डको दाबी छ ।
सरकार परिवर्तनको विषयलाई लिएर राजनीतिक विश्लेषणका आधारमा आफूले बोलिरहेको उनले बताए । ‘आन्तरिक सूचनाहरु छन् । कांग्रेसभित्र जसरी असन्तुष्टि बढ्दै गएको छ । एमालेभित्र पनि । त्यो कारणले परिस्थिति अलिअलि गम्भीर बन्दै गएको छ भनेको हुँ । यो सरकार कहिले हट्छ भन्ने चैं हेर्दै जाउँ,’ प्रचण्डले भने ।
उनले राजनीतिक विश्लेषणका आधारमा ठूलो दलको नेता प्रधानमन्त्री बन्नुपर्छ भनेर कांग्रेसलाई समर्थन गर्छौं भनेको उल्लेख गरे । तर, भ्रष्टाचारका विषयमा कतै कहीँ, कसैको समर्थन गर्न नसकिने प्रचण्डको भनाइ छ ।
प्रचण्ड २ वटा कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन् । विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव र माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनमा उनी सहभागी हुनेछन् । यसबीचमा प्रचण्डले उद्योगी व्यवसायी र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । माओवादीका अनुसार अध्यक्ष दाहाल आइतबार साँझ काठमाडौं फर्किने छन् ।
प्रतिक्रिया दिनुहोस !