घाइतेलाई उपचारको लागि काठमाडौं लैजाने प्रयास भइरहेको छ : मुख्यमन्त्री
विराटनगर : ताप्लेजुङमा जिपमा आगलागी भएर ४ जनाको मृत्यु भएको घटनाप्रति कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुःख व्यक्त गरेका छन्। घटनामा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्कीले परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूलाई थप उपचारको लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको जानकारी दिए। घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई कार्कीले निर्देशन दिएको प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।
प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा करेन्ट लागेर आज बिहान आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। २ जना घाइते भएका छन्। फुङलिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको जिपमा बिहान ४:५० बजेतिर आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी रवि रावलले जानकारी दिए। उनका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ।
रावलले ४ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनालाई उद्धार गरेर उपचारका लागि पठाइएको बताए। फुङ्लिङ नगरपालिका–१० तेर्सेको सेवारो चोकमा घटना भएको हो। आगलागीमा ललितपुर घर भएकी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल,६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएको र उनका ९ वर्षीय छोरा अभियव सामान्य घाइते भएको प्रहरीले उल्लेख गरे। मृतकमध्ये आध्या सविनाकी छोरी हुन्। विनोद र सरिता बुवा–आमा रहेको प्रहरीले जनाएको छ। ‘तीर्थयात्रीहरु ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको पाइएको छ,’ डीएसपी रावलले भने।
गम्भीर अवस्थाकी सविनालाई थप उपचारका लागि काठमाडौं लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ। उनको शरीरको धेरै भाग जलेको छ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
