साढे ६ लाखभन्दा बढी रुपैयाँसहित भारतीय नागरिक पक्राउ
रौतहट : नेपाल–भारत सीमावर्ती क्षेत्र रौतहटको मौलापुरमा प्रहरीले साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर नगरपालिका–६ स्थित पथराबुधराम सडक खण्डमा चेकजाँच गर्दा उक्त रकमसहित एक भारतीय नागरिक पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्लाको कुंडवा चैनपुर ग्राम पंचायत निवासी २३ वर्षीय राज किशोर ठाकुर रहेका छन् । उनले चलाएको बिआर.०५ एसी ९४७७ नम्बरको मोटरसाइकलको सिट मुनि लुकाइराखिएको अवस्थामा भारतीय रुपैयाँ ५ सय दरका ६ सय थान र नेपाली रुपैयाँ १ हजार दरका ३५८ थान गरी ६ लाख ५८ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद नगद रकमको स्रोत र उद्देश्यबारे स्पष्ट विवरण नदिएको भन्दै ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट रकम अवैध रुपमा नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !