लोकको तन्त्र बनोस् लोकतन्त्र

लोकको तन्त्र बनोस् लोकतन्त्र
सुन्नुहोस्

ठीक १८ वर्षअघिको आजकै दिन हो नेपालमा लोकतन्त्र वहाल भएको । तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनको अन्त्य भएको त्यही दिनबाटै नेपालमा गणतन्त्रको शिलान्यास भएको थियो । संघीयता, धर्मनिरपेक्षता र समावेशितासहितको संविधानको आधारशीला तयार भएको दिन पनि त्यही थियो । २ दर्जन नेपाली सहादत हुने गरी भएको १९ दिन लामो जनआन्दोलनका सामु तत्कालीन राजा ज्ञानेन्द्रले घुँडा टेकेर लोकतन्त्र बहाल गर्न बाध्य भएका थिए । आजको दिन केवल लोकतन्त्र बहालीको उत्सवको अवसरमात्रै नभएर १८ वर्षसम्म नेपालले गरेका उपलब्धि र कमजोरीको समीक्षा गर्ने समय पनि हो । जुन सपनासहित नेपाली जनता लोकतन्त्रका लागि संघर्षमा होमिएका थिए, त्यो सपना भने अधुरै छ । हो, राजनीतिक व्यवस्थामा हामीले ठूलो परिवर्तन ल्याउन सक्यौं । महिला, दलित, जनजाति, मधेसी र पिछडिएको क्षेत्रको सशक्तीकरणमा ठूलो छलाङ मुलुकले मार्न सफल भएको छ । र, स्वतन्तता र समानताको नागरिक हक प्राप्तिमा पनि उपलब्धि भएको छ । 

जनताले अनुभूत गर्न नसकेको विषय भने उनीहरूको आफ्नै जीवनशैली र जीवनस्तरमा हो । कि यसबीचमा जुनमात्रात्मक फड्को नेपाली जनताको जीवनस्तरले मार्नुपर्ने थियो, त्यसमा अपेक्षाकृत उपलब्धि हुन नसकेकै कारण घोर निराशाको बादल आज लोकतन्त्र र गणतन्त्रकै आकाशमाथि मडारिएको छ । यसमा दलहरूले निम्त्याएको सत्ताको अस्थिरता अनि लथालिंग अर्थतन्त्र कारक छ । लोकतन्त्रको संघर्षमा अगुवाइ गरेका मूल पार्टीहरूभन्दा बाहिर कोहीबाट यो अवधिमा शासन भएको छैन, तर तिनले जुन आशा र सपना जनतालाई देखाएका थिए, त्यसलाई साकार पार्न किञ्चित प्रयास नगरेको भन्ने छाप जनतालाई परेको छ, जुन केही हदसम्म सत्य हो । 

अभिव्यक्ति स्वतन्त्रताको चरम उपयोग, मतदानबाट जनप्रतिनिधिको चयनमात्रै लोकतन्त्र होइन । आजको लोकतन्त्र त्यतिमा सीमित हुँदैन । यो त प्रष्ट जनताको जीवनमा झल्कनुपर्छ । जनउत्तरदायी शासक जसबाट सुशासन होस् र विधिको प्रक्रियाबाट मुलुक चलोस् भन्ने हो, तर दल र तिनका शीर्ष नेताहरूले आसेपासेतन्त्रको रूपमा लोकतन्त्रलाई रुपान्तरण गरिदिएका छन् र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्य एकातिर मिल्काएर आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिज्म)लाई बढावा दिएका छन् । देशभित्रै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्न लोकतान्त्रिक सरकारहरू सफल हुन सकेका छैनन् । 

लोकतन्त्र भनेको जनता केन्द्रित शासन हो न कि नेता र दल केन्द्रित । पछिल्लो समय लोकतन्त्र नेतातन्त्रजस्तो हुन गएको छ, जहाँ घुमिफिरी सीमित नेतामात्रै मुलुकको बागडोर सम्हाल्न आइपुगेका छन् । लोकतन्त्र भनेको विधिमात्रै नभएर संस्कार पनि हो । त्यही संस्कारको अभाव राजनीतिमा देखिँदा यो व्यवस्थामाथि प्रश्न अलिक चर्कै आवाजमा उठ्न थालेको प्रमाण पछिल्लो समय राजधानी केन्द्रित राजावादी आन्दोलन हो । कुनै पनि दृष्टिबाट राजतन्त्रकाल नेपालमा सही र औचित्यपूर्ण हुन सकेको थिएन र होइन । तसर्थ त्यो आन्दोलनको औचित्य पनि छैन । तर लोकतन्त्रलाई अझै बलियो बनाउन राजनीतिक पार्टीहरूले आत्मसमीक्षा र आत्मवोध गरी कार्यशैलीमा परिवर्तन गर्नुपर्छ । सरकारले सुशासनमार्फत मुलुकमा भ्रष्टाचार न्यूनीकरण गर्दै उद्यमशीलताको वातावरण तयार गर्नुपर्छ । संविधानले प्रत्याभूत गरेका सम्पूर्ण लोकतान्त्रिक मर्महरूलाई जनताको जीवनमा उतार्नुपर्छ । 


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.