खानेपानी मूलको अवस्था नक्सांकन र अध्ययन सुरु गर्दै २ पालिका
धनकुटा : संकटासन्न मूलहरूको पहिचान गरेर मूल सुधार तथा संरक्षणका लागि जिल्लाका दुई स्थानीय तहले मूलहरूको अवस्था नक्सांकन र अध्ययन सुरु गरेका छन् ।
जलवायू परिवर्तनले खानेपानीका मूल सुक्न थालेपछि त्यसलाई पुनर्भरण तथा मूल पुर्नरुत्थान गर्न मुहान क्षेत्रको अवस्था अध्ययनका लागि धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले हरेक वडामा सामुदायिक स्रोत व्यक्ति खटाएर मूलहरूको अवस्था नक्सांकन र अध्ययन गरेका हुन् । सो कार्यका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले प्राविधिक र हुसाडेक नेपालले स्थानीय सहजीकरणका रूपमा सहयोग गरेको छ ।
धनकुटा नगरपालिकाका १० र छथरजोरपाटी गाउँपालिकाका ६ गरी कुल १६ वडामा २÷२ जनाको दरले ३२ जना सामुदायिक स्रोत व्यक्ति खटाइएको छ । उनीहरूले वडाभरि रहेका खानेपानीका मूल, आहाल तथा पोखरीहरूको वर्तमान अवस्थाको वारेमा एप्स मार्फत् अभिलेखीकरण गर्छन् । अभिलेखीकरण गरिएको तथ्यांकलाई पालिकाका प्राविधिकहरूले प्रमाणीकरण गर्छन् । मूलहरूको अवस्था नक्सांकन र अध्ययन पछि दुई पालिकाभरिका मूलहरूको वर्तमान अवस्थाबारे पत्ता लाग्नेछ । खानेपानी मूलको प्रयोग, वर्तमान अवस्था, प्रयोग विहीन, मूलमा आश्रित समुदायको अवस्था, मूलमा पानीको बहाव वढ्दो वा घट्दो अवस्थाबारेमा थाहा हुनेछ ।
मुहान वरिपरिको अवस्था, वर्तमान अवस्था, मौसमी वा बाह्रैमास, पानीको मापन, पानीको वहाव मापन र उक्त मुहानबाट आश्रित समुदायको संख्या लगायतको विवरण संकलन हुने धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए । सुकेका मुहानलाई कसरी पुनर्भरण गर्न सकिन्छ र भएका मूललाई कसरी जोगाउन सकिन्छ भनेर बजेट नै विनियोजन गरेर अध्ययन थालिएको छथजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताए । सामुदायिक स्रोत व्यक्ति करिब १० दिन स्थलगत रूपमा खटिने छन् । गत वैशाख ३ गतेदेखि उनीहरू स्थलगत रूपमा खटिएका छन् । हरेक मूलमा पुगेर मापन गरिरहेका छन् ।
स्थलगत रूपमा खटिनु पूर्व इसिमोडका अञ्जु पण्डित र श्रीजन थापाले सामुदायिक स्रोत व्यक्तिहरूलाई प्राविधिक तालिम दिएका थिए । अध्ययनको अन्तिम मस्यौदा वैशाख मसान्त भित्रमा तयार हुने बताइएको छ । मस्यौदा तयार भएपछि पालिकाका जनप्रतिनिधि सहित सरोकारवालासँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरि प्रस्तुतिकरण गरिनेछ । उक्त मस्यौदालाई आवश्यक सुझावसहित अध्ययन प्रतिवेदनले अन्तिम रूप दिने बताइएको छ ।
पानीको विकल्प पानी नै हो भन्ने मूल कथनका साथ मूल संरक्षणका लागि अरू विकल्प हुन नसक्ने हुसाडेक नेपालका अध्यक्ष सरोज भूजेलले बताए । मूलहरूको अवस्था नक्सांकन र अध्ययनका लागि यी दुई पालिकाले कार्यक्रम सञ्चालनका लागि बजेट बिनियोजन गरेका हुन् । पछिल्लो समय यी दुई पालिकाले मूल पुर्नभरणका लागि रिचार्ज पोखरी निर्माणको काम गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !