पर्यटकीय फुङफुङ झरनाको उद्घाटन
नुवाकोट : नुवाकोटको सादीखोलामा रहेको झरना पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ। पर्यटन प्रवर्द्धन गर्न उद्देश्यका साथ ककनी गाउँपालिका-४ सादीखोलामा रहेको फुङफुङ झरनाको उद्घाटन गरिएको छ। सो झरनामा बिदाको दिन तथा अनय दिनमा समेत पर्यटकहरू आउने क्रम बढिरहेको वडाध्यक्ष सोनाम लामाले बताए।
उनका अनुसार फुङफुङ झरनामा जानका लागि पासाङल्हामु मार्गको रानीपौवा बजार र पैतिसकिलो बजारबाट जान सकिन्छ। काठमाडौंबाट यातायातमा दुई घण्टा र नुवाकोटको विदुरबाट डेढ घण्टाको दूरीमा रहेको सो झरनामा जान मुल सडकमार्गबाट जाने पक्की र व्यवस्थित संरचनाहरू निर्माण भइरहेका छन्।
यसलाई स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले मुख्य पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउनु पर्ने झरनाको उद्घाटन गर्दै बागमती प्रदेशका पूर्व कृषिमन्त्री तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए।
उनले पर्यटन विभागमा सूचीकृत ककनी सादीखोलास्थित फुङफुङ झरनाले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। सो झरनामा जानका लागि आकर्षक चारसय ५० वटा सिँढी निर्माण भइरहेको छ।
तीनसय ६७ वटा सिढी बनिसकेको र अन्य सिढीहरु बनिरहेको ककनी ४ का वडाध्यक्ष सोनाम लामाको भनाइ छ। सो झरनाको प्रवर्द्धन, भौतिक संरचना निर्माणका लागि हालसम्म ५५ लाख रुपैयाँ खर्च भइसकेको वडाध्यक्ष सोनाम लामाको भनाइ छ।
त्यसका लागि एमाले नुवाकोटका अध्यक्ष तथा पूर्वमन्त्री बद्री मैनालीमार्फत गत २०७६ सालमा २५ लाख र २०७७ सालमा १५ लाख रुपैयाँ निकासा भएको थियो।
प्रतिक्रिया दिनुहोस !