नागरिक अभियानले पाकिस्तानी दूतावास अगाडि धर्ना दिने
काठमाडौं : नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि धर्ना दिने भएको छ। नागरिक अभियानले शनिबार पहलगाममा घटनामा ज्यान गुमाएका सुदीप न्यौपानेको न्यायका लागि धर्ना दिन लागेको हो।
अभियानका सहसचिव प्रेमलाल न्यौपानेले काठमाडौंको चुनदेवीस्थित पाकिस्तानी दूतावास अगाडी धर्ना दिने बताए। धर्नाका क्रममा पाकिस्तानी दूतावासमा ज्ञापन पत्र पनि बुझाउने उनले बताए।
'एक नेपालीको ज्यान जानेगरी भारतको पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा पाकिस्तानी दूतावास अगाडि धर्ना दिन लागेका हौं। सो क्रममा मिलेसम्म दूतावासका कर्मचारीलाई ज्ञापन पत्र पनि बुझाउँछौं,' अन्नपूर्णसँग उनले भने।
नागरिक अभियानले सो घटनाको भर्त्सना गर्दै आतंकवादविरुद्ध एक्यबद्धता जनाउँदै दोषीउपर कडा कारबाहीको माग गरेको छ। त्यस्तै मृतक न्यौपानेको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि सो अभियानले माग गरेको छ।
भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २५ जनाको ज्यान गएको थियो। घटनामा पाकिस्तानी आतंकवादी संगठन लश्कर–ए–तैयबाको संलग्ता रहेको भारतीय एजेन्सीहरूले पुष्टि गरेको थियो। भारतले अहिले घटनामा संलग्नहरूको तीव्र खोजी गर्दैछ।
प्रतिक्रिया दिनुहोस !