लीलाधर सुवेदी : सचिव कि पार्टी कार्यकर्ता ?

लीलाधर सुवेदी : सचिव कि पार्टी कार्यकर्ता ?

‘दुई महिनामा एउटा पनि काम गरेनन् । बढीमा ७/८ दिनमात्रै मन्त्रालय आए होलान् । मन्त्रालय आए पनि कुनै काम नगर्ने, मन्त्रीजीसँगसमेत सल्लाह नगर्ने प्रवृत्ति देखियो । त्यसैले तलब सुविधाबाहेक पुँजीगत खर्च कार्यान्वयन नै हुन सकेन’, आन्तरिक मामिला मन्त्रीका स्वकीय सचिव केशव चन्दले भने ।

धनगढी : लीलाधर सुवेदी सुदूरपश्चिम प्रदेशका कानुन सचिव हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन सचिवका रूपमा उनको दरबन्दी छ । तर उनी प्रदेश सरकारका कानुन सचिव हुन् ? या माओवादी कार्यकर्ता ? आम जनतामा चासोको विषय बनेको छ । 

नेकपा माओवादी केन्द्रले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँछ । तर सरकारी रूपमा मनाउने भनिएको जनयुद्ध दिवस सर्वोच्चले खारेज गरिदिएको छ । २०८१ फागुन १ गते सचिव सुवेदीले एउटा तस्बिर पोस्ट गर्दै फेसबुकमा यस्तो स्टाटस हाले, ‘जनयुद्ध महान् थियो, महान् छ र महान् रहिरहनेछ । ३०औं जनयुद्ध दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।’ नेकपा माओवादी पार्टीले बनाएको ब्यानरको फोटो राख्दै सचिव सुवेदीले यस्तो स्टाटस हालेका हुन् ।null

गत सोमबारमात्रै उनले फेसबुकमा अब मध्यावधि चुनावमा देश जाने भन्दै भ्रम फैलाउने कार्य गरे । उनले फेसबुकमा लेखेका छन्, ‘अरूले के देख्छ थाहा छैन, तर मैले त देश मध्यावधि निर्वाचनतिर जाने पो देख्छु त ।’ अहिले गठबन्धनको सरकार छ । त्यही सरकार मातहत उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन सचिवको रूपमा कार्यरत छन् । तर पनि उनले जनताको कामभन्दा पनि राजनीति बढी गरेको आरोप लाग्न थालेको छ ।

उनका अराजक स्टाटस आउँदासमेत प्रदेशका मुख्यमन्त्रीले उनलाई न सचेत गराएका छन्, न कुनै स्पष्टीकरण सोध्ने हिम्मत नै गरेका छन् । उनले अहिलेको शिक्षक आन्दोलनलाई समर्थन गर्दै हरेक दिन फेसबुकमा स्टाटस हाल्ने गरेका छन् । ‘सरकारका सचिव कुनै पक्षको आन्दोलनमा समर्थन वा विरोध गर्नुहुन्छ, यो राष्ट्रसेवकभन्दा पनि राजनीति बढी भयो’, मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीले भने । 

उनी मुख्यमन्त्री कार्यालयका कानुन सचिवमात्रै होइनन्, उनलाई माघ २७ गते मन्त्रिपरिषद्ले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको समेत जिम्मेवारी दियो । उनले माघ २७ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हाले । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नेकपा एमालेका तर्फबाट हीरासिंह सार्की मन्त्री छन् । 

बजेटका बेला सेवानिवृत्त हुने तयारीमा रहेका सचिव सुशील वैद्य मंसिरको २२ गते सेवानिवृत्त भएपछि दुई महिनादेखि सचिवविहीन भएको मन्त्रालयमा मुख्यमन्त्री कमलबहादुर शाहले सुवेदीलाई सचिवको जिम्मेवारी दिएर खटाएका हुन् । तर उनले मन्त्रालयमा गएर काम गरेनन् । उनले मन नपरेका कर्मचारीलाई दुःख दिने, हाजिर निकालेर स्पष्टीकरण लिने, आफ्नै मन्त्रालयमा छड्के हान्ने काम गरे । तर केही कर्मचारीहरूलाई भने उनले ८ दिनको टीएडीए भरेर पैसा बुझ्न लगाएको पनि स्रोतले बताएको छ । 

गत सोमबारमात्रै उनले फेसबुकमा अब मध्यावधि चुनावमा देश जाने भन्दै भ्रम फैलाउने कार्य गरे । उनले फेसबुकमा लेखेका छन्, ‘अरूले के देख्छ थाहा छैन, तर मैले त देश मध्यावधि निर्वाचनतिर जाने पो देख्छु त ।’

माघ २७ गते यता मन्त्री, उनको सचिवालय र अरू धेरै कर्मचारीहरूको टीएडीए पनि उनले दिन मानेनन् । उनले मन्त्रीसँग कुनै समन्वय नगरेपछि उनलाई सोमबारदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारीबाट हटाइएको छ । उनको स्थानमा सहसचिव राजेन्द्र हमाललाई सचिवको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सुवेदीले अढाई महिनामा टीकापुर कृषि क्याम्पसको ५ अर्बको डीपीआर स्वीकृत गर्नुबाहेकको काम गरेनन् । 

केही मन परेका व्यक्तिलाई पुँजीगततर्फको कार्यक्रम सम्झौताबाहेक उनले मन्त्री र मन्त्रालयका कर्मचारीसँग साँधेको प्रतिशोध देख्दा पनि उनी माओवादी कार्यकर्ता भएको र कसैको उस्क्साहटमा लागेको प्रस्ट भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै कर्मचारी आरोप लगाउँछन् ।

‘दुई महिनामा एउटा पनि काम गरेनन् । बढीमा ७/८ दिनमात्रै मन्त्रालय आए होलान् । मन्त्रालय आए पनि कुनै काम नगर्ने, मन्त्रीजीसँगसमेत सल्लाह नगर्ने प्रवृत्ति देखियो । त्यसैले तलब सुविधाबाहेक पुँजीगत खर्च कार्यान्वयन नै हुन सकेन’, आन्तरिक मामिला मन्त्रीका स्वकीय सचिव केशव चन्दले भने ।

आन्तरिक मामिला मन्त्रालय सञ्चार मन्त्रालय हेर्ने मन्त्रालय पनि हो । मन्त्रालयमा नेपाल पत्रकार महासंघमार्फत पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रममा २० लाख, सञ्चार माध्यमको संस्थागत विकासमा ५० लाख, लोककल्याणकारी विज्ञापनमा २० लाख गरी ९० लाखको बजेट छ । ‘दर्जनौं पटक सचिवजीकोमा गइयो, कुनै सहयोग भएन । हुँदैन पनि भन्नुहुन्न, सम्झौता पनि गरिदिनुहुन्न’ ,नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष भरतबहादुर शाहले भने । 

सचिव सुवेदीले मन्त्रालयमा आएर राजनीति गरेको आरोप मन्त्रीको सचिवालयले लगाएको छ । ‘एमालेका मन्त्री छन्, सचिव सुवेदीले जनयुद्ध जिन्दावाद भन्दै फेसबुक वालमा लेखेका छन् । उनका स्टाटसहरू देख्दा उनी माओवादी निकट हुन् जस्तो लाग्छ । उनको फेसबुक वालमै पोखराको भावी मेयर लेखिएको छ । सचिवको लापरबाहीले पुँजीगत बजेट चलाउनै पाइएको छैन’, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक कर्मचारीले भने ।

सचिव सुवेदीले आफ्नै मन्त्रालयका कर्मचारीहरूको ई—हाजिरी निकालेर स्पष्टीकरण लिएको, आफ्नै मन्त्रालयमा छड्के अनुगमन गरेको, कर्मचारीहरूलाई थर्काएको, मन्त्रीसँग समन्वय नगरेको, सेवाग्राहीका कामहरू नगरिदिएको आरोप लागेको छ ।

काम अड्काएर राख्छन् सचिव सुवेदी
कञ्चनपुरको पुनर्वास नगरपालिकाका सिद्धराज ओझाले सशस्त्र प्रहरी बललाई बीओपी बनाउन गत वर्ष ११ कट्ठा जग्गा दान गरे । सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको दादागिरी सहन नसकेका उनले सशस्त्र प्रहरीले स्थायी बीओपी बनाउने सर्तमा उक्त जग्गा दान गरेका हुन् ।

प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले उक्त स्थानमा भवन बनाउन ४० लाख रकम पनि विनियोजन गरेको छ । त्यसको ठेक्का भएको पनि २ महिना भइसक्यो । यसअघिका सचिव सुशील वैद्यले ठेक्का लगाएर गए पनि सचिव सुवेदीले मूल्यांकन समिति गठन नगरिदिएका कारण अहिलेसम्म उक्त ठेक्काको आसयको सूचना ननिस्केपछि निर्माणको प्रक्रिया अलपत्र परेको छ ।

‘दर्जन पटक मन्त्रालयमा धाइसकेँ । मेरो व्यक्तिगत स्वार्थ त केही पनि छैन, सीमाको रक्षा होस् भनेर जग्गा दान गरेको हुँ । त्यहाँ पक्की बीओपी बन्यो भने स्थायी रूपमा सशस्त्र प्रहरी बस्ला र जनताले शान्ति सुरक्षा पाउँलान् भन्ने आशा हो, काम रोकिएको रोकियै भयो’, ओझाले गुनासो गरे ।

आन्तरिक मामिला मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस) को प्रदेश कार्यालय भवनका लागि ७० लाख बजेट विनियोजन गरेको छ । ‘त्यसको डीपीआर बनाएर सबै टिप्पणी पनि उठेर सचिवकोमा गएको छ । सचिव सुवेदीले सदर नगरेका कारण त्यसको ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन । सञ्चारमाध्यमको समेत काम नहुने ठाउँमा सर्वसाधारणको झन् के अवस्था होला ?’ राससका प्रदेश प्रमुख सिद्धराज भट्टले प्रश्न गरे ।

काम गर्न ल्याएका सचिव स्थानीय तहमा आन्तरिक मामिला मन्त्री हीरासिंह सार्कीले सचिव सुवेदीले काम नगरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई फिर्ता बोलाई दिन आग्रह गरे । सचिव सुवेदी मन्त्रिपरिषद्को निर्णयका आधारमा आन्तरिक मामिला मन्त्रालयमा आएका हुन् । मन्त्री सार्कीले सामान्य प्रशासन मन्त्रालयबाट उपसचिव धर्मानन्द जोशीलाई आर्थिक अधिकार दिने भन्दै मन्त्रालय बोलाए । तर सुवेदीले त्यो थाहा पाएपछि उनलाई काम गर्ने वातावरण दिएनन् । सोमबारदेखि जोशी गौरीगंगा नगरपालिका सरुवा मागेर गइसकेका छन् । 

‘काम पनि नगर्ने, काम गर्ने मान्छे सरुवा गराएर ल्याए पनि उसलाई पनि काम गर्न नदिने परिपाटी बन्यो । अनी कसरी पुँजीगत बजेट कार्यान्वयन हुन्छ ? कर्मचारीले साथ दिएन भने काम गर्न गाह्रो हुने रहेछ’, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरासिंह सार्कीले भने ।

उनले फेसबुकमा लेखेका स्टाटसका बारेमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि उनलाई मौखिक स्पष्टीकरण मागेका थिए । उनले भने, मैले मौखिक स्पष्टीकरण माग्दा उहाँले यो मेरो संवैधानिक अधिकार हो भन्नुभयो । लोकतन्त्रमा किन लेख्न नपाउने भन्नुभयो । त्यसपछि के भन्नु ।’ 

यो मेरो संवैधानिक अधिकार हो : सुवेदी
उनले फेसबुकमा लेखेका स्टाटसका बारेमा जिज्ञासा राख्दा सचिव सुवेदीले ‘मेरो लेखनमा मेरो अधिकार छ । त्यसमा कसैको चित्त दुखाइ हुनु हुँदैन’ भन्ने जवाफ दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.