विश्वभर बुद्धका विचारको महत्त्व बढ्दै गएको छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर नै बुद्धको शान्तिका विचारहरूको महत्त्व बढ्दै गएको बताएका छन् ।
लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारभरबाट युद्ध लड्न सक्ने हतियार निर्माण भएको र यसले विश्वशान्तिमा नै चुनौती देखिएको अवस्थामा बुद्धको शान्तिका विचारहरूको महत्त्व बढ्दै गएको बताएका हुन् । युद्धले शान्तिको सम्भावना नहुने उनले बताए ।
प्रधानमन्त्री ओलीले विश्वभरका सचेत नागरिकको शान्तिको चाहनाको आधार बुद्धको शान्तिका विचार नै भएको धारणा राखे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले एकै प्रस्तरबाट निर्माण भएको लिटिल बुद्धको मूर्ति समेत अनावरण गरेका थिए । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेष्टिवल लुम्बिनीमा आयोजना गरिएको हो । तीन दिनसम्म महोत्सवमा थाईल्याण्ड, कम्बोडिया, चीन लगायतका ५० मुलुकका भिक्षुहरूका साथै बौद्ध धर्मावलम्बीको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस !