सन्तानलाई संसार दिने आमा

सन्तानलाई संसार दिने आमा
सांकेतिक तस्बिर
सुन्नुहोस्

एउटा सामान्य कोषिकाबाट सिंगो मानवको आकृतिलाई आफ्नो कोखमा सकुशल हुर्काएर भौतिक संसारमा एक नयाँ जीवन दिन्छिन् आमा। जसलाई केही गर्ने र बन्ने मौका दिने आमाको देन अप्रतिम छ। यो यात्रामा उनले सहेका कष्ट र असुविधा, उनले गरेका सम्झौता, बदलिएको उनको जीवनशैली र आफ्नै जीवनलाई खतरामा राखेर पनि हाँसी–हाँसी रोजेको यो यात्राले मानव जीवन कति हदसम्म अरूलाई माया गर्न र समर्पित हुनसक्छ भन्ने निर्विवाद उदाहरण प्रस्तुत गर्छ।

एउटा सिनेमाले निकै प्रभावित पारेको थियो मलाई। सन्तानको मुटु फेर्नुपर्ने भएपछि आमा मद्दत जुटाउन हरसम्भव प्रयास गर्छिन्। अन्तमा, मुटु दाता फेला नपरेपछि आफ्नै मुटु सन्तानको नाम गरेर उनी अस्ताउँछिन्। वास्तविक जीवनमा पनि हामीले देख्यौ र सुन्यौं जब भुइँचालो आयो तब आमा खुला जमिनतिर होइन, सन्तान भएतिर दौडिइन्। सबैको स्वादको हेक्का राखेर उनी भान्छा कलाकारितामा रमाउँछिन् अनि जब खुर्सानीको खार आउँछ, हत्तपत्त ढोका बन्द गर्छिन् ताकि अरूलाई खार नलागोस्। यस्ता अनगिन्ति खारको उनी आफैं प्रत्येक दिन सामना गर्छिन् त्यो पनि बिना गुनासो।

भनिन्छ, जब एक बच्चाको जन्म हुन्छ, त्यो दिन आमा पनि जन्मिन्छिन्। आमा बन्ने भन्ने क्षणदेखि नै एक स्त्रीको जीवनले नयाँ यात्रा सुरु गर्छ। जसमा पुराना धेरै बानी, सपना, चाहना र साथहरू छुट्छन्। प्रार्थनाका शब्दहरू पनि बदलिन्छन्। भगवान्सित कहिले केही नमागेका स्त्री पनि आमा भएपछि सन्तानका लागि दिनरात प्रार्थना गरिरहन्छन्। परिवारको दायित्व बोक्न थालेपछि उनको स्वाद बदलिन्छ, तरकारी किन्दा होस् वा पकाउँदा, पहिलो सोचमै सन्तानलाई के मन पर्छ ? भन्नेतिर ध्यान जान्छ। सन्तानको पखेटा लागेपछि 

उनको स्वादको खाना घरमा पाक्दा आमा कति न्यास्रिन्छिन् भन्ने थाहा भइहाल्छ।

सन्तान नहुँदा आमाका आँखा रसिला हुन्छन् तर अनुहारमा धैर्यको ज्योति बलिरहन्छ। यस्तो लाग्छ, सन्तानको जन्मसँगै नयाँ व्यक्तित्वको जन्म हुन्छ। पहिलो पटक सन्तानलाई काखमा राख्दाको, उसलाई स्पर्श गर्दाको, उसका कलिला हात समाउँदाको र उसको अनुहारमा छोएर आफ्नो प्रसव पीडा सबै बिर्सिएर खुसीको आँसु झरेको पल एकदमै जादुई हुन्छ। यस्तो लाग्छ, यो संसारमा कोही मेरो भरोसामा आएको छ। ऊ डराउँदा, लड्दा, हार्दा, बिराउँदा, खुसी हँुदा मलाई नै खोज्छ। म उसको आडभरोसा हुँ। त्यसैले उ निश्चिन्त निदाउँछ, निष्फिक्री हाँस्छ। आमा आफैसँग प्रतिज्ञा गर्छिन्, उसको म माथिको यो विश्वास कहिल्यै टुट्न दिनेछैन।

नबोलेको कुरा बुझिदिने, नमागेरै जरुरत पूरा गरिदिने आमा नै हुन्। निशब्द आवाज सुन्ने आमासित ठूलो भएर सन्तानले चर्को स्वरमा कराउनु निकै पीडादायी कुरा हो। तर, अर्को सत्य यो पनि हो कि सबैले साथ छोड्दा पनि आमाको साथ कायमै रहन्छ। त्यसैले सन्तान पीडा र दुःखको भारी आमासित रोएर पनि बिसाउँछ। यो सम्बन्ध निकै अनौठो छ। आमाको कोखमा लात्ती र मुक्का गर्दै जन्मेको सन्तान आमाको सबैभन्दा प्रिय पात्र हो। ठूलो हुँदासम्म पनि आमासित ऊ गनगन गरिरहन्छ। कति भने बुढो हुँदासम्म प्रेरणाको स्रोत र ऊर्जाको आधार आमालाई नै मानिरहन्छ।

समयसितै बच्चा हुर्किन्छ, हिँड्न र दौडन थाल्छ। आत्मनिर्भर भएर, जिम्मेवारी लिन पनि थाल्छ। तर हामीले बिर्सिन हुँदैन, प्रत्येक मानिस चाहे जति उमेरको भए पनि उसभित्रको बालापन कहिल्यै सकिँदैन। ठूलो मान्छे पनि डराउँछ, बिराउँछ। संसारसित जुझ्दै गर्दा जीवनका चुनौतीलाई सामना गर्दैजाँदा, कठिनाइ चिर्दै गर्दा, प्रत्येक सक्षम मानिस पनि कहिले थाक्न सक्छ। कहिले बाटो बिराउन सक्छ। त्यो बेला उसलाई सबैभन्दा बढी जरुरत आमाले दिने हौसलाको हुन्छ। जिन्दगी दिने आमाले एउटा मौका र हिम्मत दिएमात्र पनि त्यो आशिर्वादले चमत्कारको काम गर्न सक्छ। हामीले विद्यालयमा पनि अनुभव गरेका छौं जो बच्चाले आमाको धेरै समय र साथ पाएर हुर्केको हुन्छ, ऊ कुशल, आत्मनिर्भर, अनुशाशित र प्रगतिशिल हुन्छ।

बच्चाबेलामा जस्तो पलपलमा आमाछेऊ लुटपुटिँदैन होला तर प्रत्येक मानिसका लागि आमा उसको बाँच्ने आधार हो। सानैदेखि सन्तानको सुरक्षाको आधार आमा सधैं सकुशल रहिरहुन् भन्ने कामना सबै सन्तानको हुन्छ। आमालाई संसारको खुसी, सुखसुविधा दिएर म संसार जित्न चाहन्छु, बस् आमा सधैं मुस्कुराइरहून्, सबैको यही अपेक्षा हुन्छ। आजको समाजमा समय, परिवेश र विभिन्न बाध्यताका कारण सन्तानले विगतमा जस्तो आमाको समय पाउन सकेका छैनन्।

अहिलेको आर्थिक–सामाजिक परिवेशमा यस्ता समय सन्तानलाई दिन चाहेर पनि मुस्किल हुनजान्छ। तर, कुनै विकृतिका कारण सन्तान जन्माएर पनि उनलाई आमाको माया नदिनु भने अक्षम्य अपराध हो। एउटा जीवन तिम्रो भरोसामा यो संसारमा टेकेको हुन्छ। आमा जस्तो गरिमामय, सर्वमान्य देवीको छविलाई धुलित बनाउने काम कसैबाट पनि नहोस्। कसैको आमा बनेर यति धेरै माया र जतन गर्न पाउने अवसर एक स्त्रीलाई प्रकृतिले दिएको वरदान हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.