एनएसएल : सकियो तेस्रो सिजन, उकासिएन स्तर
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जित्यो। पहिलो पटक फाइनल खेलेको पोखरालाई २-१ ले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि जित्यो।
फाइनल खेलसम्म आइपुग्दा मैदानभित्र र मैदानबाहिर एनएसएलले नेपाली खेलकुदमा चर्चा कमायो। त्यो चर्चा रेफ्रीको निर्णय, खेलाडीको गर्मागर्मी र व्यवस्थापनका विषयमा रह्यो। पहिलो पटक नेपाली फुटबलमा दिइएको रातो कार्ड फिर्ता भयो। रातो कार्ड दिएका रेफ्री उमेर विडारीलाई प्रतियोगिताबाट निकालियो। त्यही भएर होला उनी फाइनल खेलमा देखिएनन्। धनगढी र ललितपुरबीचको भनाभनले पनि मैदान ततायो। यतिसम्म भयो कि, फाइनल जितिसकेपछि ललितपुरका खेलाडीले धनगढीको ‘एन्थम’ दुस्मन हेरेको हेर्यैमा नाचे सेलिब्रेसन गरे।
उकासिएन लिगको स्तर
सिजन सुरु हुनुअगावै नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले लिगको स्तर वृद्धि हुन नसकेको आरोप लगाएका थिए। यो कुरालाई पुरस्कार रकमले पनि हावा भर्यो। पुरस्कार रकम र खेलाडीको सम्झौता रकममा पनि पहिलो सिजनभन्दा खासै परिवर्तन भएन। ‘मलाई विभिन्न टिमले प्रस्ताव राख्नुभएको हो। तर, मैले मागेको रकम उहाँहरूले दिन नसक्ने बताउनुभयो। मलाई यो लिग सोचेअनुरुप स्तर बढ्न नसकेको अनुभूति दिलायो,’ किरणले सञ्चारकर्मीसँग भनेका थिए।
तेस्रो सिजनको फाइनलबाहेक कुनै पनि खेलमा दर्शक अपेक्षाभन्दा कम थिए। यो अर्को कमजोर पक्ष रह्यो। नेपाली फुटबलको क्रेज कम हुँदै गएको हो कि भन्ने शंकामा खेलाडीहरू छन्। धनगढीका कप्तान देवेन्द्र तामाङले दोस्रो क्वालिफायरपश्चात पत्रकारसँगको कुराकानीमा भने, ‘केपी ओली कपमा दर्शक आए तर यो प्रतियोगितामा स्टार खेलाडी ल्याए पनि दर्शक आएनन्। यसमा आयोजक र एन्फा नै चुकेको हो। खेलहरू भइरहे पो दर्शक पनि समर्थनका लागि टिम छानेर आउँछन्।’ उनले यसो भन्दै गर्दा दर्शकलाई खेलाडी हेर्ने र टिम छान्न पनि प्रतियोगिताहरू हुनुपर्नेमा जोड दिए। सम्बन्धित पक्षले वार्षिक क्यालेन्डर निकालेर खेल गराएमात्र खेलाडी र दर्शकको नियमित भेट हुने तामाङले बताएका थिए।
यसमा आयोजक टिमबाट प्रबन्ध निर्देशक श्रेयांश कार्की भने दर्शकको उपस्थितिमा आफू सन्तुष्ट रहेको बताए। ‘घरेलु प्रतियोगितामा काठमाडौं दर्शक यति आउनुलाई म ठीकै मान्छु। काठमाडौं बाहिर भएको भए अलि बढी हुन्थे होलान्,’ उनले भने।
राजनीतिक कारणहरूले गर्दा उद्घाटन खेलमा सोचेजति दर्शक नआएको बताए। ‘उद्घाटन खेलमा पनि केही राजनीतिक घटनाक्रमहरूले बाधा पुर्याए। त्यसपछि रोबर्टो कार्लोसको पनि स्वास्थ्य समस्याले गर्दा ३ दिन समय सार्नुभयो,' उनले भने।
नियमितताको कुरा गर्ने हो भने एनएसएलको पनि निश्चित समय छैन। वर्षमा १ पटक एनएसएल हुन्छ भन्नेमा खेलाडी पनि विश्वस्त हुने वातावरण छैन। यसमा धनगढीका कप्तान देवेन्द्रले भने, ‘वर्षमा ए पटक एनएसएल हुन्छ भन्ने आश हुन्छ, त्यो पनि हुन्छ कि हुँदैन थाहा हुँदैन।’ उनले वार्षिक क्यालेन्डरको कमी औंल्याएका थिए।
२०८० को दोस्रो संस्करण पुसमा भएको थियो। यो पाली वैशाखमा भयो। अघिल्लो सिजन कहिले हुन्छ भन्ने प्रश्न अझै बाँकी नै छ। यस विषयमा आयोजक टिमका प्रवन्ध निर्देशक श्रेयांश कार्की भन्छन्, ‘अहिलेसम्म ए डिभिजन, बी डिभिजनका पनि कुनै निश्चित समय छैन। यसलाई म अनौठो विषयको रुपमा लिइँदिन। अर्को सिजन पनि मार्च, अप्रिलमा नै हुन्छ। अर्को सिजन पनि वैशाखमा नै गर्ने हाम्रो तयारी हो,’ उनले भने।
विदेशी खेलाडीको दबदबा
यो सिजनको सुरुवात हुनु अगावै विदेशी खेलाडीको वर्चस्व हुने पक्का थियो। अक्सनका बेला सबैभन्दा बढी मारमा परेका नेपाली गोलकिपरहरू हुन्। प्रायः टिमले विदेशी गोलकिपरलाई नै पहिलो रोजाइमा खेलाए। टिमहरूले ठूलो प्रोफाइलका विदेशी खेलाडी भित्र्याउन तछाँडमछाड नै गरे। सोहीअनुरुप कुनै खेलाडी चले त कोही नाममा नै सीमित भए। लिगको खेलदेखि फाइनलसम्म विदेशी खेलाडीको दबदबा कायम रह्यो। प्रायः लिग चरणबाट बाहिरिएका टिमहरूले हाइप्रोफाइलका विदेशी खेलाडी चल्न नसकेको बताए।
बुटबल लुम्बिनी एफसीका प्रशिक्षक पुष्पलाल शर्मा र कप्तान एरिक विष्टले विदेशी खेलाडीले प्रोफाइल अनुसारको खेल देखाउन नसक्दा टिमले हार व्यहोरेको बताए। ‘हाम्रो टिममा आएका विदेशी खेलाडीले सोचे अनुरुपको खेल्न सकेनन्। जसका कारण हामीले नतिजा निकाल्न सकेनौं,' उनले भने।
यसको ठीक विपरीत पोखराका विदेशी खेलाडीले भने उत्कृष्ट प्रदर्शन गरे। उनीहरूको प्रदर्शनबाट प्रशिक्षक सुमन श्रेष्ठ खुसी देखिए। ‘हाम्रो विदेशी खेलाडीले दिनानुदिन सुधार गर्दै जानुभयो। हामीले आश गरेबमोजिम उहाँहरूले खेलिरहनु भएको छ,' उनले भनेका थिए।
स्टेफेन समिर विनोङले फाइनलसम्म पनि आफ्नो दबदबा बनाइरहे। पोखराका गोलकिपर प्रिसो प्रतियोगिताको उत्कृष्ट गोलकिपरको रूपमा छानिए। अर्का विदेशी खेलाडी धनगढी एफसीका फर्वाड अहमद हिजाजी उच्च गोलकर्ता भए। उनले प्रतियोगिताको एकमात्र ह्याट्रिकसहित ५ गोल गरे। उनले काठमाडौं रेजर्ससँग लिग चरणमा ह्याट्रिक गोल गरेका थिए।
आयोजक भन्छ- होम एण्ड अवे हाललाई सम्भव छैन
नेपाली फुटबलको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाले एनएसएल टार्दै आएको छ। यो मैदानको विकल्प पनि छैन। काठमाडौं बाहिर यस प्रतियोगितालाई होम एण्ड अवेको अवधारणमा लैजानसक्ने सम्भवना अहिले नरहेको प्रवन्ध निर्देशक कार्कीले बताए। 'हामी अर्को सिजनदेखि काठमाडौं बाहिरका २/३ वटा सिटीमा लैजाने कि भन्ने प्रयास गरिरहेका छौं। अहिले पनि पोखरा लैाने तयारी गरेका थियौं। तर प्राविधिक कारणले सफल भएन,' उनले ने। ब्रोडकास्टिङ टिमदेखि हरेक प्राविधिक जटिलता र आर्थिक कारणले एनएसएल काठमाडौं बाहिर लैजान नसकिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !