कोशी लगानी सम्मेलन : करिब १ खर्ब ७३ अर्बभन्दा बढी रुपैयाँको लगानीबारे छलफल हुने
काठमाडौं : कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको प्रदेश लगानी सम्मेलन २०८१ को सम्पूर्ण तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणले जानकारी दिएको छ ।
वैशाख १८ र १९ गते विराटनगरमा हुने सम्मेलनमा ५४ वटा परियोजनाहरु शोकेसमा राखिएकोमा अहिले बढेर ७१ वटा परियोजनाहरू पुगेको र करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानीबारे छलफल हुने जानकारी दिइएको छ । वुधबार विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सम्मेलन प्रदेशको समृद्धिको महत्त्वपूर्ण आधार बन्ने बताए । लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले आवश्यक कानुन अध्यादेश मार्फत संशोधन गरेको र १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको उनले बताए ।
सो सम्मेलनमा पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि लगायतका विविध क्षेत्रका परियोजनाहरू समावेश गरिएका छन् । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले कार्यक्रममा २० भन्दा बढी देशका लगानीकर्ता, एनआरएनए तथा निजी क्षेत्रका प्रतिष्ठित व्यवसायीहरूको उपस्थिति हुने जानकारी दिए । कोइरालाले सम्मेलनमा प्रस्तुत परियोजनाहरूको सम्भावना, लगानीको ढाँचा तथा प्रदेश सरकारको भूमिका विषयमा विस्तृत छलफल हुने बताए ।
कोशी प्रदेशको औद्योगिक विकास, रोजगारी सिर्जना र दिगो आर्थिक समृद्धिका लागि यो सम्मेलन ऐतिहासिक कदमको रूपमा हेरिएको आयोजकले जनाएको छ । सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !