देश बन्दैछ
‘देश बन्दैछ’ भन्ने सन्देश आशावादको संकेत मात्र होइन, समृद्धितर्फको यात्रा हो : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘देश बन्दैछ' भन्ने सन्देश केवल आशावादको संकेत मात्र नभएको बताएका छन्। अन्नपूर्ण पोस्ट्को वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै उनले देश बन्दैछ भन्ने सन्देश समावेशिता र समृद्धितर्फको यात्रालाई आत्मसात् गर्ने भाव भएको बताएका हुन्।
‘अन्नपूर्ण पोष्ट दैनिकले २४औं वार्षिकोत्सवका अवसरमा देश बन्दैछ विशेषांक प्रकाशन गर्न लागेको थाहा पाउँदा खुसी लागेको छ। सकारात्मक आशा सञ्चार गर्ने यस्तो विशेषांक केवल एक प्रकाशन मात्र नभई राष्ट्र निर्माणको यात्रामा निरन्तर क्रियाशील नागरिक चेतनाको प्रतिविम्ब हो।’ उनले भने,‘यस विशेष अवसरमा म अन्नपूर्ण पोष्ट परिवारलाई हार्दिक बधाइ तथा उत्तरोत्तर सफलताको शुभकामना व्यक्त गर्दछु।’
समाज परिवर्तनका संवाहकका रूपमा पत्रकारिता सशक्त आधारस्तम्भ भएको उनको भनाई छ। ‘सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीका लागि प्रेसको भूमिका अहम् हुन्छ। लोकतन्त्रको आधारभूत मूल्यहरू जोगाउन पत्रकारिताले निर्वाह गर्ने उत्तरदायित्व गहिरो र दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ।
उनले पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गर्दै लोकतन्त्र सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरे। ‘देश बन्दैछ भन्ने सन्देश केवल आशावादको संकेत मात्र होइन; यो मुलुकको संक्रमणकालीन परिस्थितिबाट स्थायित्व, समावेशिता र समृद्धितर्फको यात्रालाई आत्मसात् गर्ने भाव हो। यस्तो सन्दर्भमा अन्नपूर्ण पोष्ट जस्ता जिम्मेवार सञ्चारमाध्यमहरूको भूमिका अझ महत्वपूर्ण, प्रेरणादायी र मार्गदर्शक हुन्छ।’ उनले भने, ‘अन्नपूर्ण पोष्ट आगामी दिनमा अझ निष्पक्ष, विवेकसम्मत र जनउत्तरदायी पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गर्दै लोकतन्त्र सुदृढ तुल्याउन योगदान दिने पूर्ण विश्वास व्यक्त गर्दछु।’ 
प्रतिक्रिया दिनुहोस !