अर्थतन्त्रमा देखियो सुधारको संकेत, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने

अर्थतन्त्रमा देखियो सुधारको संकेत, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने
सुन्नुहोस्

काठमाडौं : गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको अर्थतन्त्रमा उल्लेखनीय सुधार हुने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। 

गत आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण सार्वजनिक गरिएको छ। 

यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का अनुमान आधारभूत मूल्य र उपभोक्ताको मूल्यमा प्रस्तुत गरिएको हो। अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यको जीडीपी प्रयोग गरिएको छ। 

कार्यालयका प्रमुख तथ्यांक अधिकृत मधुसुदन बुर्लाकोटी विभिन्न सूचकांकहरूलाई विश्लेषण गर्दा अर्थतन्त्रको आकार सुधार भएको दाबी गरे। उनी भन्छन्, ‘विगतमा घट्दै गएको आर्थिक वृद्धिदर विस्तारै सुधार हुँदै गएको छ। गत वर्ष अर्थतन्त्रका केही क्षेत्रहरूमा नकारात्मक वृद्धिदर देखिएको थियो भने यस वर्ष ती सबै क्षेत्र सकारात्मक देखिँदै गएको छ। तर यसबीच कृषि क्षेत्र घटेको छ तर गैरकृषि क्षेत्र बढेको छ।’ 

चालू आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्य मा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्य मा ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ। आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०/८१ मा ३.३६ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९/८० मा २.२९ प्रतिशत कायम भएको विवरण सार्वजनिक गरिएको छ। 

त्यसैगरी उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०/८१ मा ३.६७ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९/८० मा १.९८ प्रतिशत कायम भएको छ। राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आर्थिक वर्ष २०६७/६८ को मूल्यमा आधारित भएको बताइएको छ। आर्थिक वृद्धिदर मापन गर्नका लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ उत्पादन प्रयोग गरिएको हो। 

गैरकृषि क्षेत्रको योगदान बढ्यो

बृहत् औद्योगिक समूह अनुसारको वृद्धिदर तथा कुल गार्हस्थ उत्पादनमा पुर्‍याएको योगदानमा कृषिको भन्दा गैरकृषिको वृद्धि अधिक छ। चालू आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत कायम भएको छ।

जीडीपीमा विद्युतको कुल मूल्य अभिवृद्धि अधिक

सम्पूर्ण आर्थिक क्रियाकलापको अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण चौथो संस्करण अनुसार वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई २१ वटा मुख्य क्रियाकलापमा वर्गीकरण गरिएको छ। यसअनुरूप जीडीपीमा सबैभन्दा बढि योगदान गर्ने क्षेत्र थोक तथा खुद्रा व्यापारको रहने भएको छ। 

जसको योगदान १४.५५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। यस्तै विगतको तुलनामा चालू आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्याँस १३.८२ प्रतिशत क्षेत्रको हुने प्रारम्भिक अनुमान रहेको छ। यस क्षेत्रलाई यातायात तथा भण्डार ९.४५ प्रतिशत क्षेत्रले पछ्याएर दोस्रो धेरै वृद्धि गर्ने क्षेत्रका रूपमा रहेको छ। 

विद्युत तथा ग्याँस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.७३ प्रतिशत योगदान रहने अनुमान गरिएको छ। यस क्षेत्रमा पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादनको क्षमता वृद्धिका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको कार्यालयको भनाइ छ।

अर्कोतर्फ, शिक्षा १.९८ प्रतिशत र खानी तथा उत्खनन १.९९ क्षेत्रको वृद्धि तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान गरिएको छ। 

कुल गार्हस्थ उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्‍य क्षेत्र २५.१६ प्रतिशत र व्यापार क्षेत्र १४.५५ प्रतिशतले तुलनात्मक रूपमा धेरै योगदान गर्ने अनुमान गरिएको छ। अर्कोतर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन शून्य दशमलव ४२ प्रतिशत र खानी तथा उत्खनन शून्य दशमलव ४६ प्रतिशत तुलनात्मक रूपमा सबैभन्दा थोरै योगदान गर्ने क्रियाकलाप रहेका छन्।

कुल उत्पादन रु. ९२ खर्ब ४६ अर्ब ५५ करोड हुने

चालू आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यको कुल उत्पादन ९२ खर्ब ४६ अर्ब ५५ करोड रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ। जबकी गत आर्थिक वर्ष २०८०/८१ मा कुल उत्पादन ८७ खर्ब ८० अर्ब ७७ करोड रहने संशोधित अनुमान गरिएको छ। 

जीडीपीको ३६.२४ प्रतिशत कुल राष्ट्रिय बचत हुने

चालू आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको ३६.२४ प्रतिशत कुल राष्ट्रिय बचत हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा जीडीपीको ३५.३९ प्रतिशत कुल राष्ट्रिय बचत हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा जीडीपीको ३३.९१ प्रतिशत कुल राष्ट्रिय बचत भएको छ। 

जीडीपीको २५.३२ प्रतिशत विप्रेषण प्राप्त हुने

वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण चालू आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको २५.८९ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा जीडीपीको २५.३२ प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा जीडीपी को २३.१२ प्रतिशत विप्रेषण प्राप्त भएको छ। 

प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय १७ अमेरिकी डलर 

चालू आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय १७ अमेरिकी डलर (अमेरिकी) डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४६७ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४१० अमेरिकी डलर कायम भएको छ। 
 
यता चालू आवमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १,४९६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १,४४३ अमेरिकी डलर हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १,३९३ अमेरिकी डलर कायम भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.