देश बन्दैछ

बेजोड–बेजोड विमानस्थल

विमानस्थलले पर्यटन प्रवर्द्धन, आर्थिक वृद्धि र क्षेत्रीय समावेशिता बढाउन अवसरको सिर्जना गरेको छ।

बेजोड–बेजोड विमानस्थल
तस्बिर : सलमान खान

विमानस्थलले आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। हाम्रो भौगोलिक बनावटले गर्दा जहाँ तहीँ बाटोको सुविधा नभएको समयमा विमानस्थलले त्यो सुविधा प्रदान गरेका छन्। अझै पनि दुर्गममा केही ठाउँमा सहज बाटो पहुँच पुगेको छैन। त्यस्ता स्थानमा यातायातको पहुँच भनेको विमानबाट नै हुन्छ। त्यसका लागि विमानस्थल चाहिन्छ। यसले हाम्रो राजस्व पनि वृद्धि गरेको छ भने आर्थिक रूपमा देशलाई फाइदा भएको छ।

पूर्वमा लुक्लामा विमानस्थल नभएको भए सिजनमा भइरहेको पर्यटकको ओइरो हुँदैनथ्यो भने विमानहरू पनि त्यति धेरै चलायमान हुँदैनथे। पर्यटकहरू पैदल नै त्यस्तो विकट ठाउँमा जान सक्दैनथे। समग्रमा विमानस्थलले पर्यटन प्रवर्द्धन, आर्थिक वृद्धि र क्षेत्रीय समावेशिता बढाउन अवसरको सिर्जना गरेको छ। जनताको जनजीवनलाई सहज बनाउने काम पनि विमानस्थलले गरेको छ। 

विकट, दूरदराजका स्थानलाई सहरसँग, आर्थिक कारोबारसँग, जीविकोपार्जनसँग जोड्ने काम विमानस्थलले गरेको छ। दैनिक जीवनयापनमा अत्यावश्यक सामग्रीदेखि अन्य वस्तुको ढुवानीको भरपर्दो माध्यम विमानस्थल बनेको छ, चाहे त्यो आन्तरिक रूपमा होस् या बाह्य रूपमा होस्। विमानस्थलले हवाई पहुँच वृद्धि गर्दा त्यहाँ स्थानीयको जनजीवनमा सकारात्मक परिवर्तन देख्न सकिन्छ। हाम्रा दुर्गम स्थानहरू, त्यहाँ रहेका हिमालहरू र अन्य प्राकृतिक सौन्दर्य अवलोकनका लागि पर्यटक भित्र्याउने सञ्जाल विमानस्थल बनेको छ। आज विकट ठाउँ लुक्ला पर्यटकको प्रमुख रोजाइमा परेको छ। संसारमै लूक्ला एयरपोर्ट भौगोलिक बनावटका लागि पनि प्रसिद्ध भएको छ।

अहिले नेपालमा जोमसोम, जुम्ला, रामेछाप, सिमीकोट, फाप्लु, चौरजहारी, बाजुरा, डोल्पा, सल्ले, तुम्लिङटार, ताप्लेजुङ, रारा, भोजपुर, राजविराज, साँफेबगर, रुम्जाटार, दाङ, थामखर्क, लामिडाँडा, खानीडाँडा, डोटी, बैतडी, बझाङ, बागलुङ, इलाम, नेपालगन्ज, विराटनगर, चन्द्रगढी, लुक्ला, भरतपुर, मनाङ, सुर्खेत, जनकपुर, सिमरा, धादिङ, दार्चुला, ढोरपाटन, जिरी, कंगलेडाँडा, लाङटाङ, मेघौली, महेन्द्रनगर, पालुङटार, रोल्पा, स्याङ्बोच्छे, टीकापुर, गुल्मी, खिजी चण्डेश्वरी, कालीकोट र कमलबजार गरी ५१ वटा आन्तरिक विमानस्थल छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गरी ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। बारा जिल्लामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्रस्तावित विमानस्थल हो।

५१ वटा आन्तरिक विमानस्थलमा करिब १९ वटा पूर्ण रूपमा बन्द भएका छन्। सडक पूर्वाधार पुगेपछि ती जिल्लाहरूमा विमानस्थल बन्द भएका हुन्। तर, हिजोका दिनमा ती विमानस्थलले त्यहाँका जनतालाई सेवा भने दिएकै हुन्। दुई वर्षअघिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र सञ्चालनमा रहेकोमा अहिले अन्य दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन्। यद्यपि ती विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआए पनि अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा पूर्वाधार खडा भएको पक्षलाई नकार्न सकिन्न। 

भोलिका दिनमा यी विमानस्थल सञ्चालनका लागि नेपाल सरकारले अध्यागमन, भिसा उपलब्धतालगायत आवश्यक पूर्वाधारलाई पूर्ण रूपमा पुर्‍याउन सके ती अन्तर्राष्ट्रिय विमानस्थल पनि चल्छन्। सानाठूला घरेलु विमानस्थलहरूको वार्षिक आम्दानी लाखौंदेखि करोडौं रुपैयाँसम्म हुने गरेको छ। यस्ता विमानस्थलहरूले मुख्यतः विमान अवतरण शुल्क, पार्किङ शुल्क, यात्रु सेवा शुल्क र भाडामा दिइने व्यावसायिक स्थानबाट आम्दानी गर्छन्। 

समग्रमा हेर्दा, नेपालका सबै विमानस्थलबाट वार्षिक रूपमा झन्डै ७–८ अर्ब रुपैयाँ बराबरको आम्दानी हुने गरेको छ भन्ने अनुमान गर्न सकिन्छ।
नेपालको भूगोल जटिल छ तर त्यसको आफ्नै विशेषता छ। त्यो जटिल भूगोलभित्र प्राकृतिक सुन्दरता छ। यही सुन्दरता र भौगोलिक बनावटले नै नेपाल पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ। पर्यटक तान्न पहिलो आवश्यकता भनेको हवाई सञ्जालको विकास हो। 

हवाई सञ्जालकै कारण बर्सेनि करिब ११ लाख पर्यटक नेपाल भित्रिन थालेको छ। तेस्रो मुलुकबाट पर्यटकलाई नेपाल जोड्ने प्रमुख पूर्वाधार विमानस्थल हो। योसँगै नेपाल आएका पर्यटकहरू देशका विभिन्न स्थानमा जान पनि विमानस्थलले सहज बनाएका छन्। एउटा पर्यटक लुक्ला जान चाहन्छन् भने सडक यातायातबाट खर्चिलो र समयका हिसाबले पनि पर्यटकमैत्री हुन सक्दैन। तर, विमानस्थलका कारण पर्यटकको गन्तव्यको समय छोटाउन मद्दत गरेको छ। अर्कोतर्फ विदेशी मुद्रा आर्जनमा पनि मद्दत पुगेको छ। नेपालमा पर्यटक बढ्नुमा विमानस्थलले मुख्य भूमिका निर्वाह गरेको छ।

नेपालमा आवश्यकताअनुसार विमानस्थलका संख्या वृद्धि भएका छन्। बनेका विमानस्थललाई राम्रोसँग सञ्चालन गर्न सक्यौं भने तत्काल अन्यत्र थप्न जरुरी देखिँदैन। पछिल्ला केही वर्षमा नेपालका विमानस्थलहरूको तीव्र विकासले देशको पूर्वाधार, पर्यटन, व्यापार र क्षेत्रीय समावेशितामा उल्लेखनीय सुधार ल्याएको छ। विमानस्थल, नेपाललाई आधुनिक र व्यवस्थित हवाई सञ्जालतर्फ अघि बढाउने महत्त्वपूर्ण प्रयासका रूपमा देखिन्छ। 

विमानस्थलहरूको विकासले देशको समग्र आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पारेको छ। सरकारले हाल कायम रहेका चुनौतीहरू समाधान गर्दै विमानस्थलहरूको प्रभावकारी सञ्चालन र पारदर्शी व्यवस्थापनमा अझ बढी ध्यान दिनु जरुरी छ। यस्तो पहलले नेपाललाई अन्तर्राष्ट्रिय हवाई यातायातको क्षेत्रमा थप मजबुत र प्रतिस्पर्धी राष्ट्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ।
(क्षेत्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.