सरकारको परराष्ट्र नीति- ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’
काठमाडौं : नेपाल सरकारले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को मान्यता अनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गर्ने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरी, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिने उल्लेख गरे।
त्यस्तै राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको आधारमा स्वतन्त्र परराष्ट्र नीतिलाई अवलम्बन गरिने सरकारको नीति छ।
'संयुक्त राष्ट्रसंघ तथा बहुपक्षीय मञ्चहरूमा नेपालको भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउँदै नेपालको हित प्रवर्द्धन गरिनेछ। नेपाल आबद्ध क्षेत्रीय सहयोग संठनमार्फत क्षेत्रीय सहयोगलाई नेपालको हित अनुकूल, अर्थपूर्ण र प्रभावकारी बनाइनेछ,' उनले भने।
सरकारले आर्थिक कूटनीतिलाई सहायता, लगानी, श्रम बजार, पर्यटन र व्यापार प्रवर्द्धनको महत्वपूर्ण औजारको रूपमा स्थापित गर्दै मुलुकभित्र र बाहिर आर्थिक कूटनीतिका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।
त्यस्तै गैर आवासीय नेपालीहरूको क्षमता र सञ्जाललाई उपयोग गरी, सार्वजनिक र सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तरराष्ट्रियस्तरमा मुलुकको पहिचान र सम्मानलाई अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !