कोशी लगानी सम्मेलन: ४६ वटा परियोजनामा १ खर्ब ५२ अर्बको प्रतिबद्धता

कोशी लगानी सम्मेलन: ४६ वटा परियोजनामा १ खर्ब ५२ अर्बको प्रतिबद्धता
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित पहिलो ‘कोशी लगानी सम्मेलन’ शुक्रबार सम्पन्न भएको छ। 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा लगानीकर्ताले ४६ वटा परियोजना छनोट गर्दै लगानीका लागि सम्झौतामा हस्ताक्षर गरेपछि औपचारिक रूपमा सम्मेलन सकिएको हो। विराटनगरमा २ दिनसम्म चलेको सम्मेलनको अन्तिम दिन शुक्रबार समापन कार्यक्रममा लगानीकर्तासँग ४६ वटा परियोजनामा सम्झौतामा भएको छ। ४६ परियोजनामार्फत १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रतिबद्धता जुटेको छ। 

सम्मेलन समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीईओ) डाक्टर सरोज कोइराला र लगानीकर्ताबीच एमओयू भएको हो। कोइरालाका अनुसार कृषिका ८ परियोजनामा ३ अर्ब, ऊर्जाका ३ परियोजनामा ८ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका ९ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका २ परियोजनामा ४७ करोड, पर्यटनको १० परियोजनामा ३४ अर्ब १९ करोड र फोहोर मैला व्यवस्थापनमा ६० करोडको परियोजना एमओयू सम्पन्न भएको छ। 

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएका छन्। प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना ‘सोकेसिङ’ गरेको थियो। ‘सोकेसिङ’मा परेका परियोजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड थियो। 

सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलन ऐतिहासिक र भव्य रुपमा सम्पन्न भएको बताए। कार्यक्रममा आन्तरिक मामला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले गरेका कानुनी र नीतिगत कुराका बारेमा प्रकाश पारेका थिए। उनले प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकार अगाडि बढेको जानकारी दिए। 

पूर्वमुख्यमन्त्री केदार कार्कीले लगानीमैत्री वातावरण बनाउन कानुन संशोधन गर्ने कुरा गाह्रो नभएको बताउँदै सरकार एवं मुख्यमन्त्रीले चाहेमा तत्काल संशोधन हुने र यसले लगानीको वातावरण तयार हुने बताए। कोशी प्रदेशसभाका सभामुख अमरबहादुर विष्टले सम्मेलन ऐतिहासिक रूपमा सफल भएको बताए। 

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले कोशी प्रदेशले लगानीमैत्री वातावरण तयार गरेको जानकारी दिए। कार्यक्रममा चिनियाँ लगानीकर्ता लियाङ झुङ, गैरआवासीय नेपाली लगानीकर्ता रेजिना राई प्रधानलगायतले कोशीमा लगानीको सम्भावना राम्रो रहेको बताएका छन्। 

कोदोको रक्सी उत्पादन गर्ने उद्योगदेखि कृषि र पर्यटनका क्षेत्रमा बढी लगानीकर्ताको बढी आकर्षण देखिएको छ। त्यसबाहेक ऊर्जा र प्रविधिका क्षेत्रमा समेत लगानी गर्ने गरी सम्झौता भएको छ। सम्मेलनको उद्घाटन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। लगानी सम्मेलनमा विभिन्न देशबाट लगानीकर्ताहरू आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.