उकालो चढ्दै संगीत

देश बन्दैछ

उकालो चढ्दै संगीत

खारिएका कलाकार, शास्त्रीय संगीत बुझेका र सिकेका संगीतकार, संगीतमै जीवन सुम्पिएका अग्रज गीतकार तथा सर्जक, लगनशील सर्जकहरूको उपस्थितिले गीतसंगीतको सागर फराकिलो बनेको छ।

केही दिनअघि मात्रै नेपाली गायक सुशान्त केसीको गीत बार्दली हिन्दी च्यानल टी–सिरिजबाट सार्वजनिक भयो। सुशान्त केसीकै आवाजमा रहेको उक्त गीत हिन्दी भाषामै स्वर दिइएको छ। उफ नामक नामबाट टी–सिरिजमा अपलोड गरिएको उक्त गीत २४ घण्टामा २० लाख बढीले हेरिसकेका छन्। गीतमा सर्जक केसीले निकै मेहनत गरेको देख्न सकिन्छ। यो त एउटा उदाहरण हो पछिल्लो समय नेपाली गीतसंगीतले विदेशी प्लेटफर्ममा समेत कब्जा जनाउन थालेका छन्। अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली सिर्जना बिक्न थालेका छन्।

नेपाली संगीत आकाश छुने प्रक्रियामा छ। खारिएका कलाकार, शास्त्रीय संगीत बुझेका र सिकेका संगीतकार, संगीतमै जीवन सुम्पिएका अग्रज गीतकार तथा सर्जक, लगनशील सर्जकहरूको उपस्थितिले गीतसंगीतको सागर फराकिलो बनेको छ। उम्दा र लोकप्रिय कलाकारहरूले ‘वाह’ भन्न लायकको काम गरेका छन्। यो क्षेत्रमा प्रशस्त मात्रामा व्यावसायिक सम्भावनाका ढोकाहरू खुलेका छन्। गीत गाएरै, संगीत भरेरै, गीत लेखेरै, मेला महोत्सव धाएरै शानदार जिन्दगी बाँच्न सक्ने वातावरण पनि बनिरहेको छ। हुन त सुगम संगीतमा समस्या नभएको हैन तर तमाम समस्याका बाबजुद पनि प्रशस्तै सम्भावनाहरू देख्न सकिन्छ। सन् १९६० मा पहिलोपटक नेपाली गीत रेकर्ड भएको इतिहास छ। युवाकवि मोतीराम भट्टले रचना गरेको मेरो रामपियारा बोलको गीत पहिलोपटक नेपाली भाषामा रेकर्ड भएको थियो। संगीतको यो १ सय २१ वर्षको सांगीतिक इतिहासमा नेपाली सुगम संगीतमा धेरै परिवर्तन र विकास देख्न सकिन्छ। नेपाली संगीत क्षेत्र अहिले आएर धेरै नै व्यावसायिक भएको छ। संगीतको विधामा मात्र नभई ठूलो रोजगारीको माध्यम पनि बनेको छ। केही गर्न खोज्नेहरूलाई यो क्षेत्र निकै आशालाग्दो क्षेत्रका रूपमा विकास भइरहेको छ।

रेडियो नेपाल स्थापना (२००७) साल हुनु अगाडि कोलकातामा गएर रेकर्डिङ गर्नुपर्ने अवस्था थियो। अहिलेको यो अवस्थामा देशभर ८०० बढी रेकर्डिङ स्टुडियो खुलेका छन्। जसमा १ सय ८० बढी त राजधानी काठमाडौंमै छन्। देशभर सयौंको संख्यामा रेकडिङ स्टुडियो हुन्, त्यहाँ काम गर्ने हजारौं व्यक्तिहरूले रोजगारी पाउनु तथा उत्तिकै संख्यामा सर्जक स्रष्टाहरू आबद्ध हुनुले पनि यो क्षेत्रको फाँट ऊर्जाशील भएको मान्न सकिन्छ। हजारौं व्यक्तिहरू सिर्जनाको फूल फुलाउन तल्लीन भएका छन्।

जसरी विश्वका विभिन्न ठाउँ तथा सहरहरूमा नेपालीहरू जाने र रहने संख्या बढ्दो छ, त्यसरी नै नेपाली गीतसंगीतको प्रचार र फैलावट पनि निकै झांगिँदै छ। व्यापारिक हिसाबले पनि यो क्षेत्र अब्बल बनिरहेको देख्न सकिन्छ। रोजगारीका लागि होस् या अन्य विभिन्न बहानामा नेपालीहरू जुनसुकै देशमा गए पनि उनीहरूसँग भाषा संस्कृति, चाडपर्व गीत, संगीत साहित्य, पनि सँगै जाने हुँदा गीत संगीत र संस्कृतिले फैलने मौका पाँउछ। अझै विश्व बजारमा फैलँदै जानेमा ढुक्क हुन सकिन्छ। नेपालीहरूको विदेश मोह र पलायन बढ्दो क्रममा छ। देशभित्र तथा विदेशमा हुने सांस्कृतिक महोत्सव, कार्यक्रम तथा अन्य सांगीतिक गतिविधिहरूमा नेपाली कलाकारको माग बढ्दो छ। संगीतका अग्रज सष्ट्रा तथा अन्य कलाकार र सर्जकहरूलाई भ्याइनभ्याई कार्यक्रमहरूमा सहभागी भएको देख्दा नेपाली संगीतको क्रेज बढ्दो देखिन्छ। नेपाली संगीतले देशको अर्थतन्त्रलाई ठूलो टेवा दिएको अनुमान गर्न सकिन्छ। पुरानो ब्यान्ड नेपथ्यले संसारभर आफ्नो क्रेज बढाउँदै लगेको छ।

गीत गाउनु, संगीत बजाउनु र साहित्य लेख्नुलाई बेकारको काममा लागेको भन्ने समाजबाट आएका हौ हामी। अहिलेको पुस्ता सांगीतिक क्षेत्रलाई नै पेसा बनाउने अभियानमा छन्। गीत गाउनेहरू, संगीत भर्नेहरू समाजका उत्कृष्ट व्यक्तिहरूको दर्जामा गनिन थालेका छन्। जोसँग सिर्जना गर्ने क्षमता छ, जोसँग लेख्ने, गाउने र रचना गर्ने क्षमता छ, उनीहरूको वेग्लै इज्जत र सम्मान मिल्ने अवस्था आइपुगेको छ। गीतसंगीतप्रति समाजको नकारात्मक नजर बदलिने लाइनमा छ।

स्कुल कलेजमा समेत छुट्टै संगीत शिक्षक राखेर स्कुलकै पाठ्यक्रममा संगीत पढाउने प्रचलन बढ्दो छ। स्कुल होस् या कलेज संगीतसाधक तथा गुहरूले र उचित पारि श्रमिक लिएर रोजगारी पाउने अवस्था बनेको छ। निजी तथा सरकारी विद्यालयहरूमा गायक, संगीतकार र वाद्यवादक उत्पादन भइरहेका छन्। यसले गर्दा शास्त्रीय संगीत, सुगम, रकपप, लोक, हिपप विधाका आआफ्नै श्रोता, दर्शक तयार हुन लागेको महसुस हुन्छ। त्यो दिन त्यति धेरै टाढा छैन। संगीत सुन्नलाई पनि पढ्नु, जान्न आवश्यक छ भन्ने कुरा अहिलेको पुस्तामा पुगेको छ। नेपाली संगीत विशेषगरी रकपप संगीतले संसारको ठूलो मासलाई समेट्दै गएको छ।

नेपाली संगीतलाई अहिलेका श्रोता, दर्शक र वौद्धिक सम्पत्तिका रूपमा छुट्ट्याउनुपर्छ। चलेका सबै गीतहरू सधैंभरि बाँचिरहँदैनन्। अथवा भाइरल गीतको आयु छोटो हुन्छ, जुन गीत अजर अमर र जीवन्त छ, उक्त गीत सदैव बाँचिरहन्छ। मनोरञ्जनका लागि मात्र बनाइएका गीतहरूलाई लिएर नेपाली संगीत ओरालो लागेको भन्ने हल्लाहरू पनि चल्छन् बेलाबेला। जुन अति सतही कुरा हो। गीतसंगीतमा देखिएका कमी, कमजोरी हटाउन र विकृति नियन्त्रण गर्न संगीतमा सेन्सर वोर्ड आवश्यक परेको महसुस गरेको छु।

अहिले विश्व विख्यात गायकगायिकाको प्रस्तुतिले विश्वको अर्थतन्त्रलाई फरक पारिरहेको छ। नेपालजस्तो सानो देशमा संगीत विधाका अपार मौलिकला विविधमा र हरेक संगीत त्यसमा पनि लोकसंगीत र त्यसलाई आधार मानिएर बनाएको गीतहरूले संसारलाई एक प्रकारको नौलो आयाम दिन सक्छन्। जुन हाम्रा अग्रजदेखि अहिलेका भावी पुस्ताले पनि निरन्तरता दिएका छन्। जुनबखत, नेपालमा गीत संगीतको रेकर्डिङ नहुँदा, अंग्रेजी, हिन्दी फिल्मी गीत, गजलमा नाच्नु र सुन्नुपर्नेमा अवस्थाबाट अहिलेको अवस्थामा आइपुग्नु पक्कै पनि सुखद पक्ष हो।

अहिले हरेक विधाको गीत तयार हुनु, नेपालमा मात्र नभएर संसारभरिका नेपाली र विदेशीमाझ पनि नेपाली संगीतप्रति रुचि चाख र चाह बन्दै जानु नेपाली संगीतका लागि मौका हो। जिम्मेवारी र चुनौती पनि हो। जुन नेपाली संगीतले पूरा गर्न सक्छ। नेपाली संगीतको अबको लक्ष्य भनेको ग्रामी अवार्डमा नेपाली संगीतलाई पुर्‍याउनु हो। जो मौलिक र विशुद्ध ठेट संगीतले मात्र सम्भव हुन सक्छ। त्यसका लागि अहिलेको पुस्ताले मेहनत गरिरहेका छन्। यही क्षेत्रमा भविष्य र सपना खोजिरहेका छन्। नेपाली फिल्म जसरी ओस्कार अवार्डको नोमिनेसनमा पुर्‍याउन सकियो त्यसरी नै संगीतलाई पनि अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन जरुरी छ।

अहिले आर्टिफिसियल इन्टेलिजेन्सले नै सिर्जना गरिरहेको बेलामा हामी नेपाली संगीतलाई मात्र नभएर विश्वसंगीतलाई चुनौती दिई रहेको बेलामा अझ संगीतको कमीलाई मात्र नभएर श्रोतादर्शक सञ्चार जगत्को जागरणले पनि थप ऊर्जा मिलेको छ। नेपाली संगीतको भविष्य एकदम उज्व्वल छ। हरेक विधाका गायक÷गायिका÷रचनाकार, संगीतकार संगीत संयोजक, वाद्यवादक आफ्नो मौलिकता बोकेर आइरहेका छन्। राज्यको सही नीति नियम र संरक्षणको खाँचो छ। सर्जक तथा स्रष्टाहरूमा अझ बढी व्यावसायिकता देखियो भने यो क्षेत्रको भविष्य सुन्दर छ।
(सिंह, संगीतकार हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.