पहिले सामान्य बजारको दैनिकीमा रहेका यी सहरहरू प्रदेश राजधानी भएपछि अति व्यस्त सहर बनेका छन् । राजधानीमा हुनुपर्ने प्रायः सेवासुविधा उपलब्ध छन् ।
हेटौंडा बजारका रूपमा परिचित हेटौंडा बागमती प्रदेशको राजधानी बनेपछि हेटौंडा सहरका रूपमा विकास भएको छ । सात वर्षअघिसम्म सामान्य बजारको दैनिकीमा रहेको हेटौंडाका सडकहरूले व्यस्तता मात्र पाएको छैन, प्रदेशकै गन्तव्य सहर बनेको छ ।
संघीय संरचनामा जानुअघि मध्यमाञ्चल क्षेत्रको सदरमुकाम भए पनि केही क्षेत्रीय कार्यालय रहनु बाहेक थप चहलपहल थिएन । प्रदेश राजधानी बनेपछि हेटौंडामा पाँच दर्जनभन्दा बढी सरकारी कार्यालय थपिएका छन् । सामान्य सवारी देखिने हेटौंडाका मुख्य सडकहरूमा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न भ्याइनभ्याई हुने गरेको छ ।
प्रदेश राजधानी बनेपछि हेटौंडाका होटलहरूको व्यस्तता बढेको छ । दर्जनौं नयाँ होटल खुलेका छन् । विस्तारै हेटौंडा धेरैका लागि राम्रो गन्तव्य बन्दै गएको छ । प्रदेश राजधानी बनेपछि हेटौंडा बसाइँ सरेर आउनेको संख्या बढ्दो क्रममा रहेको छ । केही वर्षयता हेटौंडामा शैक्षिक गन्तव्य पनि बनेको छ । हेटौंडाका प्रायः विद्यालय तरार्ईका विद्यार्थीले भरिएका छन् ।
हेटौंडाको स्वास्थ्य क्षेत्रमा पनि सुधार भएको छ । रेफर सेन्टरका रूपमा परिचित हेटौंडा अस्पतालको भव्य भौतिक संरचना मात्र बनेको छैन, सेवामा पनि सुधार भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडाबाटै स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गरिरहेको छ । खेल क्षेत्रमा पनि पर्याप्त सम्भावना बढेको छ । गौरीटार रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सम्पन्न गर्न मिल्नेगरी रंगशाला निर्माण गरिएको छ ।
प्रदेश हेटौंडा हुँदै राजधानी काठमाडौं जोड्ने आधा दर्जन सडक बनेका छन् । मदन भण्डारी लोकमार्ग निर्माणसँगै पूर्वी हेटौंडा र मकवानपुरको मुहार बदलिएको छ । जानकी मन्दिरको सहर जनकपुर मधेस प्रदेशको राजधानी बनेपछि यसको सौन्दर्यकरण हेर्न लायक बनेको छ । प्रमुख सडकहरू विस्तार भएको छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान यो प्रदेशको गौरवको योजना हो । यहाँबाट स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनको काम भइरहेको छ । जनकपुर चुरोट कारखानको खण्डहर संरचना उपयोगमा आएको छ । यो संरचना मधेस भवन बनेको छ । जानकी मन्दिरको सौन्दर्यीकरणमा प्रदेश सरकारले काम गरेको छ । प्रदेश सरकारका स्थायी संरचनाहरू पनि बनेका छन् । यसले गर्दा जनकपुर धार्मिक गन्तव्यमात्र होइन, शैक्षिक र विकासो गन्तव्य पनि बनेको छ ।
कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक नगरीका रूपमा मात्र परिचित थियो । प्रदेश राजधानी बनेपछि विराटनगर व्यस्त बजार बनेको छ । प्रदेश कार्यालयहरूका कारण तुलनात्मक रूपमा जनघनत्व बढेको छ । यद्यपि स्थायी प्रदेशको संरचना भने बन्न सकेको छैन । सडक संरचनामा सुधार, स्वास्थ्य र शैक्षिक क्षेत्रमा पनि सुधारका काम भएका छन् । कोशी अस्पतालको स्तरोन्नति भएको छ । उद्योग तथा व्यापारिक केन्द्रहरू विस्तारसँग चहलपहल बढेको छ ।
पोखरा सधैं पर्यटकको रोजाइमा पर्ने सहर हो । गण्डकी प्रदेशको राजधानी बनेपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । आन्तरिक पर्यटनमा वृद्धि भएको छ । प्रदेश सरकारका स्थायी संरचनाहरू बन्ने क्रममा रहेका छन् ।
सहरी विकास र र पर्यटकमैत्री पूर्वाधारहरू बनेका छन् । प्रदेश राजधानी बनेपछि सहरी सौन्दर्य र सरसफाइमा सुधार भएको छ । स्मार्ट सीटीको अवधारणामा अघि बढेको पोखरामा होटल, रेस्टुरेन्ट र पर्यटन व्यवसायमा वृद्धि भएको छ । पर्यटन क्षेत्रमा लगानी बढेको छ । फेवाताल संरक्षणमा प्रदेश सरकारले काम गरेको छ । साथै पोखरालाई प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणा गरेको छ ।
साथै पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । गण्डकी विश्वविद्यालय खुलेको छ । यहाँ ५३ जिल्लाका विद्यार्थी पढ्न आउन थालेका छन् । लुम्बिनी प्रदेशको राजधानी बनेपछि दाङको देउखुरी नयाँ सहर बनेको छ । यो नयाँ स्थायी संरचना हो । देउखुरी स्थायी राजधानी बनेपछि भौतिक संरचनाको योजनाबद्ध निर्माणको थालनी भएको छ । यहाँ प्रदेश सरकारको स्थायी संरचनाहरू बनिसकेको छ ।
प्रदेश पूर्वाधार प्राधिकरणले योजनाबद्ध गुरुयोजनाअनुसार सहरी विकासको काम गरिरहेको छ । कृषि प्रधान देउखुरीमा सहरीकरणको सुरुवात भएको छ । हरित राजधानीको अवधारणासँगै वातावरणमैत्री पूर्वाधारको योजनामा काम भइरहेको छ । नयाँ राजधानी र नयाँ ठाउँ भएकाले सरकारले व्यवस्थित सहर बनाउन सक्ने राजधनी देउखुरी हो । यहाँ राजधानी बनेपछि शैक्षिक र स्वास्थ्य क्षेत्रमा पनि सुधारको संकेत देखिएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आफैंमा धेरै जिल्लाको गन्तव्य हो । वीरेन्द्रनगरमा सडक सञ्जालहरू विकासको क्रममा रहेको छ । दसौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर प्रदेश रंगशाला निर्माणको काम भइरहेको छ । राजधानीमा बस्ती विकासको काम तीव्र बनेको छ । राजधानी बनेसँगै धेरैले शैक्षिक र बसाइँको गन्तव्य बनाएकाले जनसंख्याको चाप बढेको छ । यहाँ सहरीकरणको गति तीव्र बनेसँगै घर भाडा र घरजग्गा मूल्यमा वृद्धि भएको छ । उच्च शिक्षाका संस्थानहरू खुल्ने क्रम बढेको छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी प्रदेश राजधानी बनेपछि व्यस्त सहर बनेको छ । मुख्य सडकहरू सुधार गरिएको छ । नेपाल भारत सीमा गेट व्यवस्थापन गरिएको छ । प्रशासनिक संरचनाहरू निर्माणको क्रममा रहेको छ । सुदूरपश्चिम विश्वविद्यालयका कारण धनगढी शैक्षिक गन्तव्यका रूपमा विकास हुने क्रममा रहेको छ । राजधानी बनेसँग धनगढीको भारतसँगको व्यापारमा वृद्धि भएको छ । आवासीय र व्यावसायिक भवनको निर्माणले तीव्रता पाएको छ । प्रदेश सरकारले महिला सशक्तीकरण र युवा पुस्ताका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरेको छ । प्रदेश सरकारले स्थायी राजधानी कैलालीको गोदावरीलाई घोषणा गरेको छ । तर, यहाँ राजधानी लैजाने प्रक्रिया सुरुवात भएको छैन ।
प्रतिक्रिया दिनुहोस !