नेपालमा पश्मिना निर्यातबाट भएको आम्दानीले विदेशी मुद्रा संकलनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
मुलुकबाट बर्सेनि अर्बौं रुपैयाँबराबरको पश्मिनाका सललगायतका उत्पादनहरू निर्यात हुने गरेको छ। चालु आर्थिक वर्षको ८ महिनासम्ममा मात्रै २ अर्ब ११ करोड २४ लाख ५० हजार रुपैयाँबराबरको पश्मिनाका उत्पादनहरू निर्यातबाट मुलुकमा आम्दानी भइरहेको छ। गत आवभर ३ अर्बभन्दा बढी रुपैयाँबराबरको निर्यात भएको थियो। पछिल्लो ८ महिनासम्ममा यो उत्पादन बढी निर्यात हुने १२ औं स्थानमा परेको छ। नेपालमा पश्मिना निर्यातबाट बर्सेनि गरेको आम्दानीले केही हदसम्म विदेशी मुद्रा संकलनमा पनि टेवा पुगेको छ।
समग्र निर्यातमा राम्रै देखिए पनि नेपालको पश्मिना क्षेत्र कच्चापदार्थमा भने परनिर्भर नै छ। कुनै समय गौरवमय इतिहास बोकेको, अर्बौको लगानी, लाखौंंको रोजगारी र नेपालको पहिचान बोकेको पश्मिना व्यवसाय लोप हुन सक्ने खतरा बढ्दै गएको छ। यस वर्षको राष्ट्रिय निर्यात आँकडाअनुसार झन्डै पाँच अर्बको पश्मिना प्रत्यक्ष निर्यात भएको देखिन्छ। ठमेल, ललितपुर, भक्तपुर, पोखरा, सौराहाजस्ता पर्यटकीय स्थलबाट पर्यटकहरूले खरिद गर्ने र उपहारको पनि हिसाब गर्दा अरू थप एक डेढ अर्ब निर्यात भएको आकलन गर्न सकिन्छ। छिमेकी मुलुक खासगरी चीनसँगको परनिर्भरताको कच्ची रसीमा यो व्यवसाय अल्झिएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै २०३० (ई.सं.) सम्ममा नेपाललाई पश्मिनाको कच्चा पदार्थमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित पश्मिना उद्योग संघले एउटा भुवा कमिटी गठन गरी आफ्ना गतिविधि अघि बढाएको छ। देशमा आफ्नै कच्चापदार्थ उत्पादन गर्ने सक्ने प्रचुर सम्भावना हँुदाहँुदै पनि कसैले आँट गरेको देखिँदैन। नेपाल पश्मिना उद्योग संघको संयोजनमा नेपाल फाइबर प्रोसेसिङ कम्पनीले पश्मिनाको कच्चा पदार्थ उत्पादन तथा प्रशोधन गर्ने जमर्को गरेको छ।
नेपालको पश्मिनाको इतिहासमा यो कदम गौरवमय हुने विश्वास गरिएको छ। च्याङ्ग्राको वस्तुस्थितिको स्थलगत अध्ययन अनुसन्धान विषयमा, हिमाली क्षेत्रको भूगोलका विषयमा हामीसँग न्यून ज्ञान थियो। सुरुमा हामीले मनाङ, मुस्ताङ, डोल्पाजस्ता हिमाली जिल्लाहरूलाई राम्ररी बुझेका थिएनौं। यही काम गर्न विसं २०७७ फागुन मा नेपाल फाइबर प्रोसेसिङनामक कम्पनी भयो। कम्पनी स्थापनापछि हाम्रो समूहले राम्रो सहकार्य गर्यो। हामीलाई पश्मिना संघभित्रका र बाहिरका थुप्रै सहृदयी मित्रहरूको सद्भाव, सहयोग प्राप्त भइरह्यो। प्रारम्भिक सम्भाव्यता अध्ययनदेखि अन्तर्राष्ट्रिय बजारीकरणसम्मको काम गर्ने योजना तय भयो। एक ऐतिहासिक एवं साहसिक काम गरिछाड्ने प्रतिबद्धता नेपाल फाइबर प्रोसेसिङ प्रालिले गरेको छ। यो कम्पनी राष्ट्रिय हितमा काम गर्ने संस्था हुनाले यसले कुनै पनि व्यक्तिगत स्वार्थ बोक्दैन।
कच्चा पदार्थमा आत्मनिर्भर गराउने अभियान
हामीले ललितपुरको हरिसिद्धिमा निर्माणाधीन साझा सुविधा केन्द्र भित्र नेपाली पश्मिना उद्योगलाई चाहिने आधारभूत सबै सुविधा जडान गर्ने लक्ष्य लिएका छौं। देशलाई कच्चापदार्थमा आत्मनिर्भर गराउने सपना मात्रै देखेका थियौं। यो अभियान हाम्रो साझा अभियान हो। वास्तवमा यो सोच पनि हाम्रा लागि नयाँ आविष्कार सरह थियो। विश्व बैंकद्वारा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना कार्यक्रम, नेपाल सरकार वाणिज्य, उद्योग तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय हुँदै विश्व व्यापार केन्द्रलाई बाँड्दै गयौं। नवीनतम कामको थालनी कल्पनाबाटै सुरु हुन्छ जुन सपनाले नेपाली पश्मिना जगतमा एउटा अमिट इतिहास कोरेको छ।
यो चुनौतीपूर्ण काम एक्लैले सम्भव थिएन। हामीलाई सहयोगी मन र हातहरू जुटाउनु थियो। सबैको व्यस्तताका बाबजुद कम्पनी स्थापनार्थ कानुनविद्सँग सरसल्लाह पछि प्रस्तुति, च्याङ्ग्राको सम्भावनाका लागि अनुभवी पशुविज्ञको परामर्शपछि प्रस्तुति, लगानीको सुनिश्चितता र कार्य योजनाका लागि अर्थविद्सँगको परामर्श एवं प्रस्तुतिसहित नेपाली च्याङ्ग्राको वस्तुस्थिति सचित्र अगाडि जुटाउने कार्यमा हिँडिरह्यौं। सुरुमा ४१ जना एकबद्ध हुन सक्यौं र नेपाल फाईबर प्रोसेसिङ कम्पनी स्थापना भयो।
२०२० मार्च ११ मा विश्व स्वास्थ सगठनले कोभिड–१९ लाई महामारीको घोषणा गरेपछि सारा जगत कोभिडको चक्रव्यूहमा फस्यो। सारा व्यवसाय ठप्प भयो। व्यवसाय चल्ने त कुरै भएन। हाम्रा पश्मिनाको माग रद्द भए, कच्चापदार्थ आयात ठप्प भयो। अब हाम्रा अन्तरदृष्टिले हृदयलाई बिम्बित गर्यो। जबसम्म हामी परनिर्भर छौं, यो व्यवसायको अस्तित्व खतरामा छ। त्यसैले यो साझा संकल्प गर्न परिस्थितिले सिकायो। हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? स्पष्ट धारणा बन्यो।
पश्मिनाको परिचय स्थापित गर्नुपर्छ
पश्मिनाको परिचय नेपालले आफ्नैअनुसार स्थापित गर्नुपर्छ। पश्मिना उत्कृष्ट र आरामदायी स्वरूपको हलुका, नरम विशेषगरी उच्च हिमालय क्षेत्रमा पाइने हिमाली जातिको बाख्रा (च्यांग्रा)को पेट, छाती तथा भित्री गलामुनी जाडोमा पलाउने गर्मीमा झर्ने मसिनो (१२–१६ माइक्रोन व्यास भएको)रौं हो। स्थानीय भाषामा यस भुवालाई खुलु भनिन्छ। यसलाई पछ्यौरा, गलबन्दी, स्विटर र अन्य पोसाक वस्त्रहरू बनाउन प्रयोग गरिन्छ।
विश्व बजारको पश्चिमी मुलुकहरूमा पश्मिनाका उत्पादनहरूले उत्कृष्टता र शृंगारका लागि अत्यधिक मान्यता र मूल्य प्राप्त गरेको छ। च्याङ्ग्रा शब्दलाई हाम्रा हिमाली भेगका किसानसँगै बसेर भलाकुसारी गर्दा स्थानीय भोटे भाषामा फरक वास्तविकता पाइयो। डोल्पाका स्थानीयहरू यो चीनतिरको बाख्रा भनेर बयान गर्छन्।
आधा शताब्दीको पश्मिना संघको योगदान
झन्डै आधा शताब्दीको व्यावसायिक इतिहास बोकेको नेपाली पश्मिना पछिल्लो समयमा पूर्णत : परनिर्भर छ अथवा चीन निर्भर छ। सत्तरीदेखि नब्बेको दशकमा हिमाली जिल्लामा प्रशस्तै च्याङ्ग्रा पालिन्थ्यो। युवा बिदेसिएका थिएनन्। हरेक हिमाली जिल्लाले लाखौंं पशुचौपाया पालन गर्थें। हामीलाई चाहिनेभन्दा बढी ऊन, पश्मिना उत्पादन हुन्थ्यो। हाम्रो कच्चापदार्थ निर्यात हुन्थ्यो। त्यसबेला सिधै कोरेर वा छाला कोरेर आफ्ना प्रयोगका लागि कपडा बनाइन्थ्यो। हामी आफ्नो उत्पादनमा आत्मनिर्भर थियौं। बेलायतकी राजकुमारीले लगाएको पश्मिना विश्वप्रसिद्ध फेसन पत्रिकामा छापिए पछि नेपालमा थामिनसक्ने माग भएको हो। त्यही समयदेखि पश्मिनाको माग थामी नसक्ने भयो र चीनबाट धागो आयात हुन थालेको हो। त्यतिबेला स्पष्ट नीति, नियम, योजना केही थिएन। भगवान् भरोसा अन्धाधुन्ध चलिरहेको थियो।
पश्मिना व्यवसायीको हितमा काम गर्न स्थापित नेपाल पश्मिना उद्योग संघको स्थापनापछि मात्रै केही चेतनामूलक पहल भएको हो। २०५६ सालमा आइपुग्दा पश्मिना निकै खस्किँदै गएको महसुल भएर संस्थापक अध्यक्ष रामबहादुर गुरुङ र केही व्यवसायीहरू मिलेर यो संघ गठन भएको हो। यसको गठनसँगै तत्कालीन अध्यक्ष शंकरप्रसाद पाण्डेको नेतृत्वमा नेपालको इतिहासमै पहिलोपटक सामूहिक व्यापार चिह्न ‘च्याङ्ग्रा पश्मिना’ को ब्रान्ड दर्ता भयो। हाल विश्वका ४७ देशमा दर्ता भएको छ। यो ऐतिहासिक कामले पश्मिनाको साख बचाउन भूमिका निभाउँदै आएको छ।
चीन, भारतदेखि पेरुसम्मका मुलुकहरूले पोलिस्टरलाई खुलेआम पश्मिना भनेर विश्वबजारमा निकै सस्तो मूल्यमा बेचबिखन गरिरहेका छन्। जसको कारण पश्मिना शब्द पूरै बदनाम छ। हाल अधिकांश नेपालीहरू पश्मिनाको बदला काश्मेयरको लेवल लगाएर पश्मिना बेच्न वाध्य छन्। वास्तवमा हामीले हाम्रो ‘पश्मिना’ शब्द गुमाएका छौं।
नेपाली पश्मिनालाई विश्व बजारमा चिनाउन अन्तर्राष्ट्रिय व्यापार केन्द्रको अगुवाइमा पश्मिना इन्ह्यान्समेन्ट एन्ड ट्रेड सपोर्ट कार्यक्रममार्फत पश्मिना प्रवद्र्धनमा केही राम्रा कामहरू भए। यसबाट कति साना व्यवसायीहरूले पनि आफूलाई स्थापित गर्ने मौका पाए। पछिल्लो समयमा कोभिडले हामीलाई ठूलै पाठ सिकाएर गएको छ। पश्मिनामा हामी पूर्ण परनिर्भर छौं। २०२६ (ई.स) पछि देश विकसित राष्ट्रतर्फ स्तरोन्नति हुँदै जाँदा पश्चिमी मुलुकले दिने सेवा र छुट समाप्त हुनेछ। विदेशीको कच्चापदार्थ किनेर तिनैसँग प्रतिस्पर्धा गरेर हामीले व्यवसाय धान्ने छौं भन्ने परिकल्पना नगर्दा पनि हुन्छ।
यस विषयमा हामीमात्र नभएर राज्य पनि चिन्तित छ। कार्पेट र फेल्टलाई चाहिने ऊन, प्राकृतिक रेशा हेम्प, अल्लो, केराबाट चलेका उद्योग र पश्मिनाले आत्मनिर्भरताको यात्रा तय गर्नुको विकल्प छैन। पश्मिना उद्योग संघ दीर्घकालीन सोचसहित केही योजना लिएर अघि बढेको छ। जसमध्ये भुवा संकलन केन्द्रको स्थापना, कृषक प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम, कृषकलाई नि : शुल्क काइयो वितरण, बेलायती विशेषज्ञबाट अध्ययन, भुवा परीक्षण तथा नश्ल सुधारसम्बन्धी वैज्ञानिक अध्ययन, डि–हेरिङ प्लान्ट स्थापना, यूके–टीपी कार्यक्रम, साझा सुविधा केन्द्र, कच्चापदार्थको व्यावसायिक उत्पादन रणनीति आदि रहेका छन्।
अन्त्यमा,
पश्मिना संघले सुरु गरेको यो आत्मनिर्भरताको कदमले बहुआयामिक क्षेत्रमा सहयोग गर्नेछ। उत्पादनदेखि प्रवद्र्धनका विविध मूल्य शृंखलामा काम गर्नेछ। हिमाली भेगका किसानको बाँच्ने आधार पशुचौपाया हो। नेपाली नागरिक हुँदाहुँदै पनि सरकारले प्रत्याभूति दिन नसकेको आभास हुन्छ। भौगोलिक विकटता छ, बाटो छैन, खानालाई आँटो छैन, जिउमा लुगा फाटो छैन, धान मकै उब्जिने पाटो छैन। केवल पशुचौपाया चर्न सक्ने विशाल खर्क, पाटन र भिरालो जमिन छ। त्यहाँँको बाच्ने आधार भनेकै पशुपालन हो, भेडा–च्याङ्ग्रा, याक–चौंरी हो। तर पुरातन विधिबाट पालिँदै आएको छ। जसले राम्रो प्रतिफल दिइरहेको छैन।
सरकारी नीति व्यावसायिक पशुपालन मैत्री होस्। वनको नीति र नश्ल सुधारसम्बन्धी नीतिले वाधा नपुर्याओस्। राष्ट्रिय निकुञ्जको हस्तक्षेप नहोस्। सामुदायिक वनको उचित उपयोग हुन सकोस्। आर्थिक रूपमा, इन्स्योरेन्स र औषधि उपचारमा सरकारसँग सहकार्य हुनु जरुरी छ। हाम्रो अपेक्षा, आशा, विश्वास र भरोसा सरकारसँग छ। जबसम्म किसानको पेसा सुरक्षित हुँदैन, कृषक धनी हुँदैनन्, हाम्रो लक्ष्य पनि पुरा हुँदैन। भेडा–च्याङ्ग्रा, याक–चौंरीको वृद्धिसँगै मासुमा आत्मनिर्भर, पश्मिना र ऊनीमा आत्मनिर्भर, दूध, घिउ, चीजमा आत्मनिर्भर, कृषि उपजमा वृद्धि, रोजगारी वृद्धि, व्यावसायिक घाँस उत्पादन र चरण विकास, कृषि पर्यटनमा विकास हुनेछ, समग्र उच्च पहाडी तथा हिमाली जनजीवन समृद्ध हुनेछ।
अर्को पाटो पश्मिना, ऊन, मासु आयात प्रतिस्थापन गरी अर्बौं विदेशी मुद्रा सञ्चिति बढ्नेछ। निर्यातमा वृद्धि हुनेछ। पश्मिना, कार्पेट, फेल्ट तथा ऊनी जन्य सामग्रीको निर्यात उल्लेख्य हुनेछ। सयौं साना तथा मझौला उद्योगहरू खुल्नेछन्, लाखौंं रोजगारी सिर्जना हुनेछ। संकटमा पुगेको व्यवसाय सुरक्षित हुनेछ। वन पैदावरमा आधारित रेसाजन्य वनस्पतिबाट धागो, कपडा उत्पादनमा समेत नेपाल फाइबर प्रोसेसिङले काम गर्ने योजना बनाएको छ।
यस कार्यबाट उच्च महाभारत पर्वत शृंखलामा भएका अल्लो, सिस्नु, गाँजा, केरा, केतुकी, भुइँकटहरको पात इत्यादि समेतलाई व्यावसायिक रूपमा स्थापित गराइनेछ। कष्टकर हिमाली जनताको मुहारमा खुसी ल्याउन, युवा विदेश पलायन हुनुबाट रोक्न, देशका उद्योगधन्दा बचाउन, कृषि पर्यटनको विकास गर्न, वन पैदावरको उचित उपयोग गर्न, रोजगारी सिर्जना गर्न, पुरातन कृषिलाई व्यवसायीकरण गर्न, आयात प्रतिस्थापन गर्न, निर्यात बढाउन यो देशलाई आर्थिक समृद्धितर्फ लान हाम्रा कदम सराह्रनीय हुनेछ भन्ने विश्वास लिएका छौं।
(लामिछाने, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष हुन्।)
प्रतिक्रिया दिनुहोस !