हवाई यातायातले जोडेको संसार

देश बन्दैछ

हवाई यातायातले जोडेको संसार
फाइल तस्बिर।

करिब ७७ वर्षको अवधिमा नेपालको हवाई यातायात क्षेत्रमा व्यापक संस्थागत र संरचनागत विकास भएका छन् ।

नेपालजस्तो हिमाली भूगोल भएको देशमा यातायात विकासको सन्दर्भमा हवाई सेवा अत्यन्त महत्त्वपूर्ण विकल्पका रूपमा स्थापित हुँदै आएको छ । यहाँको भौगोलिक विविधता, विकटता र सडक सञ्जालको सीमितताले गर्दा, नेपालमा हवाई यातायात एक विकल्प नभई अपरिहार्य माध्यम हो । 

ऐतिहासिक प्रारम्भ र महत्त्वपूर्ण मितिहरू
नेपालमा हवाई यातायातको सुरुवात दुई महत्त्वपूर्ण मितिसँग जोडिएको छ । पहिलो, २३ अप्रिल १९४७ मा तत्कालीन भारतीय राजदूत सरजित सिंह महाथिया चार सिट क्षमताबीच बोनान्जा विमानमा चढेर भारतको पटनाबाट काठमाडौंको गौचर विमानस्थलमा अवतरण गरे । यस दिनलाई नेपालमा हवाई जहाजको पांग्रा गुड्ने र पखेटा उड्ने पहिलो ऐतिहासिक क्षणको रूपमा लिइन्छ । दोस्रो महत्त्वपूर्ण मिति भनेको ३१ डिसेम्बर २०२३ हो, जुन दिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले स्थापना भएको २५ वर्ष पूरा गरी रजत जयन्ती मनायो ।

यी दुई मितिबीचको करिब ७७ वर्षको अवधिमा नेपालको हवाई यातायात क्षेत्रमा व्यापक संस्थागत र संरचनागत विकास भएका छन् । प्रारम्भिक चरणमा प्रयोगात्मक रूपमा सुरु भएको हवाई सेवा आज देशको पर्यटन, व्यापार, स्वास्थ्य र आपत्कालीन उद्धार सेवाको मेरुदण्ड बनिसकेको छ । 

संस्थागत विकासका चरणहरू
नेपालको हवाई क्षेत्रमा भएका प्रमुख संस्थागत विकासहरूलाई हेर्दा, यस क्षेत्रको विस्तार र सुदृढीकरण क्रमिक रूपमा भएको देखिन्छ ।
–    सन् १९५७ – निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको स्थापना
–    सन् १९५८ – शाही नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को स्थापना
–    सन् १९६० – नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सदस्यता ग्रहण
–    सन् १९७२ – बोइङ–७२७ को आगमनसँगै नेपालले जेट युगमा प्रवेश
–    सन् १९७५ – त्रिभुवन विमानस्थलमा १०,००० फिट लामो धावनमार्ग निर्माण
–    सन् १९९२ – निजी क्षेत्रका एयरलाइन्स सञ्चालनमा आएको, वायुसेवा क्षेत्रमा उदारीकरण
–    सन् १९९७ – पहिलोपटक एअर ट्राफिक नियन्त्रण प्रणालीमा राडार प्रणाली स्थापना
यी सबै विकासहरूले नेपाललाई आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा समेट्ने आधार तयार गरेका छन् ।

क्यानको स्थापना र पछिल्लो २५ वर्ष
सन् १९९८ मा हवाई विभागको सट्टामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को स्थापना गरियो । यसको उद्देश्य नेपालको हवाई क्षेत्रमा समन्वय, नियमन र पूर्वाधार विकासलाई एकीकृत र पारदर्शी बनाउनु रहेको छ । क्यानको स्थापनापश्चात्का २५ वर्षमा निम्न उल्लेखनीय क्रियाकलापहरू भएका छन् ।
–    सन् २००५ – निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात
–    सन् २००७ – दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (वर्तमान पोखरा र भैरहवा) को स्थान छनोट
–    सन् २०१३ – युरोपेली संघले नेपाली एअरलाइन्सलाई आफ्नो आकाश प्रयोग गर्न निषेध
–    सन् २०२२ – भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
–    सन् २०२३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
यी सबै परियोजनाहरूले देशको आन्तरिक तथा बाह्य उडान क्षमतामा अभूतपूर्व वृद्धि ल्याएका छन् ।

हालको अवस्था र एयरलाइन्सहरूको संख्या
हाल नेपालमा दर्जनभन्दा बढी आन्तरिक विमान सेवा प्रदायक कम्पनीहरू सञ्चालनमा छन्, जसमध्ये प्रमुखहरूमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, तारा एयर आदि पर्छन् । अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्ससँगै अन्य २८ कम्पनीहरूले हवाई सेवा दिँदै आएका छन् ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल गरी तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलले सेवा दिइरहेका छन् । साथै, देशभर ५० भन्दा बढी आन्तरिक विमानस्थलहरू रहेका छन्, जसमध्ये करिब २० नियमित सेवा सञ्चालन हुने अवस्थामा छन् ।

हवाई सेवा र अर्थतन्त्रमा भूमिका
नेपालको भौगोलिक अवस्था र पर्यटकीय महत्त्वका कारण हवाई सेवा केवल यात्रु ओसारपसारको माध्यम मात्र नभई अर्थतन्त्रको एक महत्त्वपूर्ण खम्बा हो । विशेषगरी पर्यटन, व्यापार, आपत्कालीन उद्धार, स्वास्थ्य सेवा, र ग्रामीण क्षेत्रको पहुँच विस्तारमा यसको 
प्रभाव देखिन्छ ।

पर्यटन क्षेत्र  :  नेपालमा आउने विदेशी पर्यटकको ठूलो हिस्सा हवाई मार्गद्वारा प्रवेश गर्छन् । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी त्रिभुवन विमानस्थलमार्फत नेपाल आएका थिए ।

विदेशी मुद्रा आम्दानी :  अन्तर्राष्ट्रिय उडान, कार्गो सेवा र विदेशी एयरलाइन्समार्फत नेपालले ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्दै आएको छ ।
रोजगारी :  यो क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हजारौं मानिसहरू रोजगारीमा आबद्ध छन्, जसले आन्तरिक खपत र उपभोगमा पनि प्रभाव पार्छ ।

भावी सम्भावनाहरू
नेपालको हवाई यातायात क्षेत्रमा विशाल सम्भावनाहरू विद्यमान छन्, जसको उपयोग गर्न सकिएमा देशको समग्र आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय पहिचानमा गुणात्मक सुधार ल्याउन सकिन्छ ।

सबैभन्दा पहिले नेपाललाई क्षेत्रीय हबको रूपमा विकास गर्ने सम्भावना अत्यन्त आकर्षक छ । नेपालको भौगोलिक अवस्थिति दक्षिण एशिया, चीन र मध्य एसियाबीचको मिलनबिन्दुमा परेको छ, जसले गर्दा यसलाई पूर्व–पश्चिम र उत्तर–दक्षिण ट्रान्जिट मार्गको केन्द्र बनाउने अपार सम्भावना छ । यदि पूर्वाधार र हवाई नीति स्पष्ट र प्रतिस्पर्धी बनाइयो भने नेपालले बंगलादेश, भारत र चीनजस्ता देशहरूबीचको ‘कनेक्टिङ हब’ को रूपमा स्थान लिन सक्छ ।

दोस्रो, हवाई मालवाहन (कार्गो) सेवा नेपालको अर्थतन्त्रका लागि अर्को महत्त्वपूर्ण सम्भावना हो । विशेषगरी नेपाली जडीबुटी, फलफूल, तरकारी, ऊनी कपडा, हस्तकला सामग्री आदि उच्च मूल्य र संवेदनशील वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँच सुनिश्चित गर्न हवाई कार्गो सेवा अनिवार्य बन्न गएको छ । उपयुक्त नीति, भन्सार प्रक्रियामा सुधार र ढुवानी संरचना सुदृढीकरणका माध्यमबाट नेपालले ठूलो मात्रामा निर्यात वृद्धि गर्न सक्छ ।

तेस्रो, घरेलु विमान मर्मत केन्द्रको स्थापना पनि महत्त्वपूर्ण सम्भावना हो । हाल नेपाली विमानहरूलाई मर्मतका लागि इजरायल, सिंगापुर, स्पेन आदि देशमा पठाइन्छ, जसबाट ठूलो मात्रामा समय र खर्च जाने गर्दछ । यदि नेपालमै अन्तर्राष्ट्रियस्तरको एमआरओ सेवा केन्द्र स्थापना गर्न सकियो भने देशभित्रै रोजगारी सिर्जना हुने मात्र होइन, दक्षिण एसियाभित्रकै सेवा केन्द्रको रूपमा नेपालले आफूलाई स्थापित गर्न सक्छ । यसका लागि दक्ष जनशक्ति विकास, पूर्वाधार निर्माण र नीति स्पष्टता अनिवार्य छ ।

निष्कर्ष
नेपालको हवाई यातायात क्षेत्र विगतको इतिहास, वर्तमानको प्रयास र भविष्यका सम्भावनाहरूको संगम हो । भौगोलिक चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै, नेपालले हवाई यातायातलाई विकासको मेरुदण्ड बनाउने दिशामा उल्लेखनीय कदम चाल्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, पोखरा र भैरहवामा नयाँ विमानस्थलहरूको निर्माण, निजी क्षेत्रको सहभागिता र अन्तर्राष्ट्रिय गन्तव्य विस्तारका प्रयासले देशको समग्र प्रगति र पहुँचलाई नयाँ उचाइमा पुर्‍याएको छ ।  विशेषगरी, नियमनकारी संस्था र सेवा प्रदायकबीचको स्पष्ट विभाजन, हवाई सुरक्षा मापदण्डको पालना, प्राविधिक क्षमता सुदृढीकरण र राष्ट्रिय ध्वजावाहकको सुदृढीकरणजस्ता विषयमा गहिरो ध्यान दिनुपर्छ । 

(गुरुङ, पूर्ववरिष्ठ पाइलट र हवाई विज्ञ हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.