अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिँदै सकियो ग्लोबल मिडिया डायलग
काठमाडौं : 'ग्लोबल मिडिया डायलग (वेभ्स २०२५)'ले सिर्जनात्मकतालाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। भारतको मुम्बईमा आयोजित उक्त डायलगमा सहभागी ७७ देशका प्रतिनिधिहरूले उक्त निष्कर्ष निकालेका हुन्।
उनीहरूले परम्परा र सांस्कृतिक सम्पदाको आवाज उठाउन अन्तर्राष्ट्रिय स्तरको सहकार्य गर्न सहमत भएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको उक्त डायलगमा विदेशमन्त्री डा. एस जयशंकर र सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णव सहभागी थिए।
सहभागी देशका प्रतिनिधिहरूले गलत सूचना र मिथ्या सूचनाको फैलावट रोक्न र तथ्यमा आधारित पत्रकारिता र जिम्मेवार विज्ञापनलाई प्रवर्द्धन गर्न सहमत भएका थिए।
उनीहरूले साझा समझदारीलाई गम्भीरताका साथ लिन र सीमापार सहकार्यलाई बढावा दिँदै मानव अधिकार र सांस्कृतिक संवेदनशीलताको सम्मान गर्ने विषयमा पनि समर्थन गर्ने सहमति जनाएका थिए।
कार्यक्रमपछि जारी गरिएको घोषणा पत्रमा विकास र सद्भाव प्रवर्द्धनमा मिडिया र मनोरञ्जनको महत्त्वपूर्ण भूमिका रहेको स्वीकार गरिएको छ। एआईले बजार दक्षता, रचनात्मकता र दर्शक संलग्नता बढाउन सक्ने र नोक्सानी पनि कम गर्नेसक्ने आकलन सदस्य राष्ट्रहरूले गरेका थिए।
त्यस्तै भारतीय विदेशमन्त्री एस जयशंकरले वेभ्स सम्मेलन विश्व समुदायको ठूलो थलोको रूपमा रहेको बताए। 'आजको विश्व सांस्कृतिक दृष्टिले परिवर्तनको चरणमा छ। त्यसैले हाम्रो परम्परा, धरोहर, विचार र सिर्जनशीलतालाई मुखरित गर्नु आवश्यक छ,' उनले भने। उनले प्रविधि र परम्परा एक-अर्काको पूरक रहेको बताउँदै युवा पुस्तालाई प्रविधिमैत्री बन्न आग्रह गरेका थिए।
त्यस्तै भारतका सूचना तथा प्रसारण मन्त्री आश्विनी वैष्णवले संस्कृति सिर्जनात्मकताको प्रेरणास्रोत रहेको बताए। यसले सीमापारका मानिसहरूलाई पनि जोड्ने उनको भनाइ छ। उनले प्रविधिको विकासले सामग्री निर्माण र प्रस्तुतीको शैलीमा क्रान्ति ल्याएको बताए।
सम्मेलनमा भातल क्रियट इन इन्डिया अभियानको सफलताबारे जानकारी गराएको थियो। जसमा ७०० बढी अन्तर्राष्ट्रिय सर्जकहरूको पहिचान गरिएको थियो। आगामी वर्षदेखि यो अभियान २५ विभिन्न भाषामा सञ्चालन गरिने जानकारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस !