देश बन्दैछ

मुहार फेर्दै रोल्पा–रुकुम

देश बन्दै छ

मुहार फेर्दै रोल्पा–रुकुम

दसवर्षे सशस्त्र युद्धताका एक कल फोन गर्न छिमेकी जिल्ला दाङको घोराही जाने रोल्पा र रुकुमेली नागरिक प्रायःको हातहातमा अचेल मोबाइल छ। वाइफाइ र फोरजी नेटसुविधा हुनेहरूका लागि त संसार गोजीमा जस्तै भएको छ। ‘देश-विदेश’मा रहेका आफन्तसँग भिडियो कल र मेसेन्जरबाट गफिनु सामान्य भइसकेको छ। ‘नेट सुविधाले गर्दा परदेश (गाउँदेखि टाढा) रहेका आफन्तसँग भिडियो कलमा हेराहेर गर्दै गफिन पाइएको छ।’, माडी गाउँपालिका–६ कोर्चाबाङका समाजसेवी एवं राजनीतिज्ञ ६० वर्षीय कमन बुढामगर भन्छन्, ‘अहिले त पहिलेको तुलनामा रोल्पा रुकुममा विकास भएको छ। सडक, विद्युत्, सञ्चारमा जनताको पहुँच बढ्दै छ।’

युद्धको पर्यायझैं लाग्ने रोल्पा र रुकुम शान्ति प्रक्रियाको करिब दुई दशकयता फेरिँदै गएका छन्। यहाँका भूगोलमा सडक विस्तार भएका छन्। अग्ला डाँडामा टेलिफोनका टावर ठडिएका छन्। गाउँघरमा विद्युत् लाइन तानिएका छन्। यहाँका नागरिकको जीवनशैली बदलिँदै गएको छ। शान्तिकालयता जति विकास हुनुपर्ने थियो त्यति भएको मान्न नसकिएला। तर, दुई दशकअघि र अहिलेको तुलनामा विकासले फड्को भने पक्कै मारेको छ।

सडकमा क्रान्ति

पूर्वपश्चिम राजमार्गको भालुबाङदेखि रोल्पाको सदरमुकाम लिवाङसम्मको ढुलाम्य सडक अब दन्त्य कथा भैसकेको छ। नागबेली आकारको उक्त सडक खण्ड कालेपत्रे भैसकेको छ। धुले सडक हुँदा लिवाङबाट राजमार्ग निक्लन दिनभरको जोखिमपूर्ण यात्रा गर्नु पर्दथ्यो। १ सय ३ किलोमिटरको सडक खण्ड अहिले सरर तीन घण्टाको यात्रामा पूरा हुन्छ। युद्धताका साबिकको रुकुमको खलंगासम्म मात्र सडक थियो। त्यो पनि कच्ची सडक। अहिले त्यो सडक पनि पिच भैसकेको छ। उहिले रुकुम खलंगा र रोल्पाको सुदमुकाम लिवाङसम्म मात्र सडक पुगेको भन्दा पनि हुन्छ। रोल्पाको हकमा दाङको घोराही हुँदै दक्षिणी होलेरी–तिलासम्म सडक विस्तार भएको थियो। युद्धताका सोही सडक खण्डबाट तत्कालीन विद्रोही नेकपा माओवादीले सहिद मार्गको अवधारणा अघि सारेर ठाउँठाउँमा सडक खनेको थियो। जनताको श्रमदानबाट खन्न सुरु गरिएको नुवागाउँ–घर्तीगाउँ–थबाङ सडक खण्ड शान्तिकालमा सम्पन्न भएको छ। घोराही–होलेरी–थबाङ–रुकुम सहिद मार्ग परियोजना नै बनाएरै नेपाल सरकारले अघि सारेर काम भैरहेको छ।

सहिद मार्गमा दैनिक हजारौं यात्रु आउजाउ गर्छन्। सहिद मार्गको कालोपत्रेसमेत हुँदैछ। घोराही–होलेरी खण्ड कालोपत्रे गरिए पनि चुनढुंगा बोकेका टिप्परले भत्काएको छ। होलेरी–कोर्चाबाङ सडक खण्डको अधिकांश भाग कालोपत्रे भइसकेको छ। अन्यत्र पनि कालोपत्रे गर्न टेन्डर भै काम अघि बढेको छ। सदरमुकाम लिवाङदेखि सहिद मार्ग दारबोट खण्डसम्म कालोपत्रे गरिएको छ। पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौरदेखि गाम सडक खण्डको २२ किलोमिटर सडक पिच गरिएको छ। वडाचौर र नम्जा क्षेत्रसम्म पनि कालोपत्रे सडक बनिसकेको छ। संघीयतामा मुलुक गएपछि १० स्थानीय तह छन् रोल्पामा। यहाँका ७२ वडा कार्यालयसम्म सडक विस्तार भएका छन्। गाउँ टोलमा कच्ची सडक बेनका छन्। मदन भण्डारी लोकमार्ग बन्दैछ। माडीचौर–घर्तीगाउँ हुँदै पश्चिमी सल्यान खण्डका थुप्रै स्थानमा धमाधम काम भइरहेका छन्। दुई दशकअघि दुई सय किलोमिटर सडक रहेको रोल्पामा पछिल्लो समय १ हजार बढी किलोमिटर सडक खनिएको छ। संघीयतामा मुलुक जाँदा रुकुम दुईवटा जिल्ला बन्यो, पश्चिमरुकम र पूर्वीरुकुम। पोखराहुँदै पश्चिमतर्फ विस्तारित पहाडी लोकमार्गले दुवै रुकुम छिचोलेको छ। दुवै जिल्लाबाट पक्की लोकमार्ग हुँदै यातायातका साधन हुइँकिन्छन् अचेल। दुवै रुकुममा पनि सडकको निकै विस्तार भएको छ। सडक क्रान्ति नै भएको छ भन्दा अन्यथा हुँदैन। अझै स्थानीय, प्रदेश र संघीय बजेटबाट सडक खन्ने क्रम जारी छ। सडक विस्तारले अन्य विकासका कयौं अवसर र चुनौती ल्याएको छ।

सञ्चार र विद्युत्मा पहुँच

विगतमा टुकी र झर्कोको सहारामा यहाँका गाउँलेले अँध्यारो चिर्दै जीवन बिताउँथे। जब शान्ति बहाली भयो, बिजुली बत्ती र फोनको सुविधाले पनि गाउँ छिर्ने मौका पायो। गाउँगाउँमा लघुजलविद्युत्बाट उज्यालो अभियान नै चल्यो। पछिल्लो समय त केन्द्रीय विद्युत् ग्रिडमै रोल्पा जोडिएको छ। यसले सदरमुकाम लिवाङ र साविकका आधा दर्जन गाविसको थोरै बस्तीमा सीमित विद्युत् अहिले जिल्लाको प्रायः बस्तीमा पुगेको छ। विद्युतीकरणको काम तीव्र रूपमा भइरहेको छ। विद्युत् प्राधिकरणको रोल्पा शाखाका अनुसार केन्द्रीय विद्युत् प्रसारण लाइनमा जिल्ला जोडिएपछि बस्तीस्तरमा लाइन विस्तारको काम तीव्र पारिएको छ।

टेन्डर भएर गाउँगाउँमा विद्युत्को पोल गाडिएका छन्। र, तार तानिएका छन्। ९० प्रतिशत जनताको घरमा विद्युतीकरण गर्न थालिएको छ। अधिकांश बस्तीमा बत्ती बलिसकेको छ। रातको समयमा गाउँ झिलिमिली देखिन्छन्। विद्युत् प्रसारणका लागि सबस्टेसन बनेका छन्। ठेकेदारको ढिलासुस्ती नभएको भए जिल्ला पूरै विद्युत्को पहँुचमा पुगिसक्ने थियो। रुकुम पनि विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ। लघुजलविद्युत् र केन्द्रिय लाइनले गाउँमा विद्युत् पुगेपछि साना उद्योगसमेत खुलेका छन्।

जहाँ अग्ला डाँडा त्यहीँ टेलिफोन टावरजस्तै भएको छ। पहाडी भूभाग रहेका यी जिल्लामा एउटा डाँडामा रहेको टावरबाट सबै बस्तीमा नेटवर्कले टिप्दैन। खोचयुक्त बस्तीमा टेलिफोन नेटवर्क पुर्‍याउन टावर विस्तार भएका छन्। व्यापारिक केन्द्र मानिने प्रायः ठाउँमा फोरजी नेट चल्न थालेका छन्। २ लाख ३४ हजार ७ सय ९३ जनसंख्या रहेको यहाँका एक लाखको हातमा मोबाइल फोन छ। नेट सुविधा भएकाहरू सामाजिक सञ्जालमा रमाउन थालेका छन्। फेसबुक, मेसेन्जर, भाइबर, इन्स्टाग्राम, इमो, ह्वाटसअप, टिकटकजस्ता सामाजिक सञ्जालमा जोडिनेको संख्या पनि बढ्दो छ। सामाजिक सञ्जालबाटै व्यापार हुन थालेको छ।

शिक्षा, स्वास्थ्य र खानेपानीमा सुधार

उहिलेको एसएलसी उत्तीर्णपश्चात् दस जोड दुई (प्लस टु) अध्ययनका लागि गाउँमा सम्भावना नै थिएन। सदरमुकाममा मुस्किलले कमै विद्यार्थी पुग्थे। उच्च शिक्षाका लागि त सुगम सहरतिर नै छिर्नु पर्दथ्यो। अहिले एसईई गरेकाका लागि गाउँमै प्लस टु खुलेका छन्। रोल्पामा मात्र डेढ दर्जन प्लस टु सञ्चालनमा छन्। केही प्राविधिक धारका पनि छन्। जिल्लामा ६ वटा क्याम्पस स्थापना भएका छन्। एमएसम्मको पढाइ हुने अवस्था बनेको छ। दुवै रुकुममा दर्जनौं क्याम्पस सञ्चालनमा छन्। क्याम्पस र विद्यालय पूर्वाधार पनि सुधार हुँदै गएका छन्। विद्यालयका भवन पक्की बन्दै छन्। शिक्षामा पहुँच बढ्दै गएको छ। साक्षरता दरमा सुधार हुँदैछ। छोरीहरूको उच्च शिक्षामा लोभलाग्दो उपस्थिति छ।

जिल्लामै ५१ शय्याको रोल्पा अस्पताल बनेको छ। अस्पताल भवन आधुनिक डिजाइनको छ। पालिकामा १५ शय्याका अस्पताल भवन बन्दैछन्। कयौं स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा (वर्थिङ सेन्टर) सञ्चालनमा छन्। घरमै सुत्केरी हुने प्रचलन हट्दै गएको छ। संस्थागत सुत्केरी हुने दर बढेको छ। कतिपय वडा त संस्थागत सुत्केरी वडा घोषणा भइसकेका छन्। मातृ र शिशुमृत्यु दर घट्दो छ। जिल्लाका विभिन्न ठाउँमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने गरेका छन्। पिउने पानीका लागि कति ठाउँमा विगतमा कुवा र पँधेरा धाउनुपर्ने अवस्था थियो। अहिले भने अधिकांश नागरिक पिउने पानीको पहुँचमा छन्। पानीको स्रोत नभएका बस्तीमा पनि बिजुलीबाट पानी तानेर पुर्‍याउन थालिएको छ। एक घर एक धाराको अवधारणामा काम भइरहेको छ।

गाउँमै बैंक र वित्तीय संस्था

स्थानीय तहको बनेयता बैंक र वित्तिय संस्था गाउँगाउँ पुगेका छन्। दस स्थानीय तहका मुकाममा बैंक खुलेका छन्। लघुवित्तीय संस्थाहरू गाउँगाउँमा फैलिएका छन्। वैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स पठाउन निकै सहज भएको छ। हजारौं रोल्पाली र रुकमेलीले बैंक खाता खोलिसकेका छन्। बैंकिङ कारोबार गर्ने बढेका छन्। करोडौं रेमिट्यान्स बैंकमार्फत कारोबार गर्दा सुरक्षित मानिएको छ।

वित्तीय संस्थामार्फत कारोबार गर्ने कयौं समूह गाउँगाउँमा गठन भएका छन्। ती संस्थामा महिलाको बढी पहुँच छ। व्यापारिक केन्द्र रहेका बजार क्षेत्रमा सहकारी संस्था गठन भएका छन्। तिनको करोडौंमा कारोबार हुने गरेको छ।

बदलिँदै जीवनशैली र आम्दानी

आधारभूत विकासको विस्तारसँगै रोल्पाली र रुकुमेलीको जीवनशैली पनि बदलिँदै गएको छ। व्यावसायिक कृषि र पशुपालनमा आकर्षण बढेको छ। रुन्टीगढी गाउँपालिका किसानले गत वर्ष करिब १० करोडको तरकारी बिक्री गरे। बर्सेनि करोडौंको उत्पादन जिल्लाबाहिर जान थालेको छ।

त्रिवेणी गाउँपालिकाको नुवागाउँ, बुढागाउँ, गैरीगाउँमा व्यावसायिक तरकारी खेती गर्ने किसान बढेका छन्। जिनाबाङमा व्यावसायिक स्याउ र आलुखेती हुँदैछ। थबाङ, कुरेलीको आलु किन्न व्यापारी बारीमै पुग्न थालेका छन्। सदरमुकाम लिवाङ नजिकैको माडीचौर व्यावसायिक तरकारी खेतीमा अब्बल बन्दै गएको छ। बाख्रापालनका लागि स्मार्ट गाउँ बनेका छन्। सरकारले कोर्चाबाङसहितका केही गाउँलाई स्मार्ट बाख्रापालन गाउँ घोषणा गरेको छ। जिल्लाबाट करोडौंको खसी बोका जिल्ला बाहिर बिक्री हुन्छ। बर्सेनि २०-२२ करोडको खसी बोका बिक्री हुने गरेको छ।

युद्धताका मुर्झाएका यहाँका कला, संस्कृति र चालचलन पुनः मौलाउन थालेका छन्। ५० वर्ष अघिदेखि लोप भएको थबाङ र रुकुममा प्रचलित नचाउरु नाच यहीँ दशकमा ब्युँत्याएको छ। सरङे, पैस्यारु, मयुर नाच गाउँगाउँमा सिक्ने सिकाउने गरिएको छ। यहाँका केही पालिकाले बर्सेनि मौलिक कला संरक्षणका लागि पालिकास्तरीय सांस्कृतिक महोत्सव नै आयोजना गर्न थालेका छन्। परिवर्तन र माडी गाउँपालिकाले केही हप्ताअघि स्थानीय कला, संस्कृतिको प्रदर्शनी र प्रतियोगिता आयोजना गरे।

आन्तरिक र छिटफुट बाह्य पर्यटक पर्यटकीय गन्तव्य पुग्ने ट्रेड पनि बढ्दै गएको छ। नेपाल सरकारले पर्यटकीय सय गन्तव्यमा सूचीकृत गरेको जलजलामा दैनिकजसो आन्तरिक पर्यटक पुग्न थालेका छन्। पूर्वी रुकुमको ढोरपाटन सिकार आरक्षमा त बाह्य पर्यटक नै आउने गरेका छन्। रुकमकै कमल दह, सिस्ने हिमाल र रोल्पामा निर्मित रक गार्डेन र भ्युटावरलगायतका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ।

विगतको सशस्त्र युद्ध भोगेका पुस्तालाई बदलिएको परिवेशले युद्ध विस्मृत हुँदै गएको छ। शान्ति सम्झौतायता जन्मिएका नयाँ पुस्ता (रोल्पा रुकुममा जो २ लाख बढी छन्) का लागि त अहिलेका विकासे अवसर नै मातृ जीवनशैली बन्दै गएको छ। उनीहरूका लागि विगतको युद्ध र अविकास कथा झैं लाग्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.