प्रत्येक वर्ष ६ देखि ८ अर्बबराबरको नेपाली हस्तकलाका सामग्री निर्यात हुँदै आएको छ।
नेपाल विश्वमा कलाले परिचित छ । इतिहासको पाना पल्टाउँदा सम्राट् अशोकका बाजे चन्द्रगुप्त मौर्यका मार्गदर्शक आचार्य चाणक्यको इतिहासमा पनि नेपाली राडीपाखी कम्बलको नेपालबाट झिकाएको उल्लेख छ ।
सातौं शताब्दी सामन्ती राजा अंशुवर्मादेखि नै स्रोङ चोङ गम्पोले छोरी भृकुटीलाई विवाह गरी पठाएर नेपालको इतिहासलाई चीनसँग दरिलो सम्बन्ध बनाएको थियो । सोही समयमा भृकुटीसँगै नेपाली कलाकारहरू लागि त्यहाँ फाग्पा गुम्बा निर्माण गरी नेपाली हस्तकलाको धातुपत्रबाट निर्मित मूर्तिहरू बनाइएको थियो । त्यसमा चाहे तिब्बतको फाग्पा गुम्बा होस् या केरुङको फाग्पा गुम्बा, हामीले देख्न सक्छौं । त्यस्तै इतिहासमा रहेको हाम्रो राष्ट्र विभूति अरनिको तेह्रौं शताब्दीमा कुब्लाई खाँले चिनमा गई स्वर्ण चैत्य निर्माण गरी राजाको अति विशेष पात्रको रूपमा रही कला मन्त्रीको पदले समेत सम्मान लिएको र उसको लागि सहर बस्ती नै बसालेको अनुसन्धान प्रतिवेदनमा पाउन सकिन्छ ।
काठमाडौं, ललितपुर र भक्तपुरको दरबार क्षेत्रमा काष्ठकला अतुलनीय नमुना देख्न सकिन्छ।
कलाकार अरनिको चित्रकला, मूर्तिकला साथै वास्तुकलामा समेत पोख्त थिए । र त्यस समयमा अरनिकोले ८० जना कलाकार पनि सँगै लगेको इतिहासमा देख्न सकिन्छ । त्यसैले चीनमा हालसम्म पनि नेपाली हस्तकलालाई विशेष दृष्टिले हेर्ने गरिन्छ ।त्यस्तै इन्डोनेसियाको बोरुवुवोरमा रहेको विशाल चैत्य र त्यसमा रहेको बुद्ध प्रतिमाले पनि नेपाली कला प्रस्ट रूपमा देख्न सकिन्छ । त्यसमा पनि कलाकार गुणधर्मको नाम उल्लेख गरेको छ ।
यस्तै मंगोलियामा झन् बजार भनेर त्यहाँको छुट्टै इतिहास बोकेको छ । जस्मा नेपालीकलालाई समेटेर प्रशिक्षण केन्द्र सञ्चालन गरेको छ । एलिजावेथको संग्रहालय लन्डन, जर्मनी, लस एन्जलस, फ्रान्समा आवि संग्रहालयमा पनि नेपाली हस्तकला विशेष संग्रहमा रहेको छ ।
नेपालको काठमाडौं उपत्यकाको तिनै सहरमा पनि दरबार क्षेत्र पनि यिनै हस्तकलाले सुशोभित छन् । नेपाली हस्तकलालाई विशेष स्थान दिएर राजा महेन्द्रले भारतका जवाहरलाल नेहरूको प्रमुख अतिथिमा २००६ सालमा ललितपुरको मंगलबजारमा विशेष किसिमले हस्तकला प्रदर्शनी गरिएको थियो ।
नेपाली हस्तकलामा पहिले परम्परागत हस्तकला जस्तै धातुमूर्ति, पौभा (थांका), काष्ठकला, प्रस्तरकला, गलैंचा, राडीपाखी (फेल्ट), हातेकागज, ऊनीजन्य वस्तु, धार्मिक मुखौटा, हिमाली भेगमा प्रयोग गरिने तामाका भाँडाकँुडा, तिब्बती सुनचाँदीका वस्तु आदिलाई मानियो । हाल आधुनिक रूपमा पोते, क्रिस्टल, हाडसिंगका पस्तु, पस्मिना, सिंगिङ वल, सिसाका वस्तु, सेरामिकका सामान, प्राकृतिक रेसाका लुगा तथा अन्य वस्तु नेपाली धूप आदि छन् ।
विगत ४० वर्षदेखि नेपाली आधुनिक हस्तकला पस्मिना निकै उत्कृष्ट वस्तुको रूपमा निर्यात भएको व्यापार निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेखित छ । भनिन्छ, नेपाली पस्मिना बेलायतका महारानी एलिजावेथले कार्यक्रममा जाँदा लगाएर जानु हुन्थ्यो । हाल यसलाई च्याङ्ग्रा पस्मिनाको रूपमा ब्रान्डिङ गरिएको छ । हाल पनि वार्षिक ४ देखि ६ अर्बको निर्यात भइरहेको छ ।
हाल आएर नेपाली हस्तकलामा सबैभन्दा बढी फेल्टका सरसामानहरू निर्यात भएको अवस्था छ । प्रविधिको रूपमा राडीपाखी भने पनि यसलाई आधुनिक बजारलाई मध्यनजर गरी क्रिसमसका सामग्री, घरायसी सजावटका सामग्री, घरमा प्रयोग गरिने जुत्तादेखि लिएर वासिङ मेसिनमा हालिने बलसम्म पनि यसैबाट निर्माण भएको छ । हाल दुई लाख महिला दिदीबहिनीहरू यस कार्यमा आबद्ध छन् । प्रत्येक वर्ष ६ देखि ८ अर्बबराबरको निर्यात रहेको नेपाल सरकारको तथ्यांकमा छ ।
वार्षिक ३ अर्बको धातु मूर्तिकला निर्यात
ठूलो बजार नेपाली धातु मूर्तिकलाले ओगेटेको छ । मुख्यतयाः चीन, भारत, भुटान, ताइवानमा धातु मूर्तिकला उल्लेखनीय रूपमा गएको देख्न सकिन्छ । लगभग वार्षिक तीन अर्बबराबरको धातु मूर्तिकला प्रत्येक वर्ष निर्यात हुने गरेको छ । जसले ३ देखि ५ लाखसम्मले रोजगारी पाइरहेको अनुमान गर्न सकिन्छ ।
हस्तकलाको बेजोड उदाहरण धातुपत्र कला
हस्तकलाको अर्को बेजोड उदाहरण धातुपत्र कला हो । यो धेरै गाह्रो प्रविधिको कला हो । अहिले नेपाली हस्तकलामा कम मात्र कलाकार कालिगढ यसमा संलग्न छन् ।
नेपाली कलाको विश्व बजारमा काष्ठकलाको विशेष स्थान छ । काठमाडौं, ललितपुर र भक्तपुरको दरबार क्षेत्रमा काष्ठकला अतुलनीय नमुना देख्न सकिन्छ । काठका झ्याल, ढोका, मूर्ति, फर्निचरहरू समेतमा नेपाली कलाहरू देख्न सकिन्छ ।
उत्कृष्ट हस्तकलामा सिसाजन्य वस्तु
अहिले उत्कृष्ट हस्तकलामा सिसाजन्य वस्तु पनि रहेको छ । प्रायः अमेरिका, युरोप तथा विकसित मुलुकमा यसको माग उच्च छ । विश्वको बजारको मागअनुसार सजावटका सामग्रीमा नयाँ नयाँ वस्तुको सिर्जना गर्न सके अझ यसको माग बढ्न सक्ने देखिन्छ ।
(शाक्य, नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष हुन् ।)
प्रतिक्रिया दिनुहोस !